
( अनुभव र अनुभूति)
–दल बहादुर गुरुङ
मैले पनि करिव २३ वर्ष स्कूलमा पढाएँ । आफ्नै विद्यालयको वार्षिकोत्सव एवम् अभिभावकहरु दिवस मनाएँ । आज फर्केर हेर्छु अनि गम्छु मज्जाले किन मनाइए ती उत्सव र दिवस ?
प्रायः गरेर सो दिनमा हाम्रा विद्यालयहरुमा सरस्वती पूजा गरिन्छ,नाँचगान गरिन्छ । छात्रवृत्ति बाँडिन्छ,पुरस्कार र प्रशंसा पत्र दिइन्छ । प्रअले वार्षिक हिसाव किताव सुनाउँछन् । उद्घाटन,दीप प्रज्ज्वलन,रीवन कटान,ब्यानर उघार्ने काम समेत हुन्छन् । नेताहरु आइ हाले भने आफ्नो पार्टी र सरकारका बारेमा आफै बयान गर्छन् । स्कूलका बारेमा बित्ताका कुरा गरे भने आफू र आफ्ना बारे विघाका गफ हाँक्छन् ।
व्यवस्थापन समितिका पदाधिकारीहरु स्टेजमा बसेर खादा वा व्याच लगाउँछन् । मख्ख पर्छन् । उनीहरु सो दिन दुल्हा दुलही जस्ता बन्छन् । अभिभावकहरु बाहिरतिर बेञ्चामा बस्नु पर्ने हुन्छ,विद्यार्थीहरु ओहोर दोहोर गर्छन् र शिक्षकहरुले लौरा लिएर उनीहरु नभागून् भनेर गेटमा पाले बस्छन् । कसैले खाजा बाँड्न थाल्छन् ।
नाँचगान आउने बेला अभिभावकहरुको ध्यान स्टेजतिर हुन्छ अरुबेला आफ्नै सुरमा गफिन्छन् । उनीहरु आफू किन आएको भनेर खासै हेक्का हुन्न । उनीहरुको प्रतिनिधित्व गर्ने शिक्षक अभिभावक संघ त नाममात्रका हुन्छन् । सके आफ्ना छोराछोरी नभएका अभिभावक संघका पदाधिकारी होलान् ? अनि उसले के बोल्ने अभिभावकका समस्या,पीडा र अवस्थाका बारेमा ? शैक्षिक अन्तक्र्रिया गर्ने दिनको रुपमा विकास कहिले होला त्यो दिन ? त्यस्तो गर्न सकिएला कि नाइँ ?
किन मनाइन्छ वार्षिकोत्सव र अभिभावक दिवस ? के अर्थ र महत्व छ सो दिनको ? केके कुरा गरिन्छ सो दिन ? किन बोलाइएका हुन् अभिभावकहरु ? प्रअको प्रतिवेदनमा विद्यार्थीका कुरा धेरै,आफ्ना पीडा र मर्का प्रशस्तै आउँछन् । दरबन्दी नपुगेको,भवन बन्न नसकेको,खेल मैदान नभएको,ल्याव,पुस्तकालय नभएको वा भएपनि नपुग वा प्रयोग कम भएको यावत कुराहरु वार्षिक प्रतिवेदनमा आउँछन् । समाधानका स पनि उल्लेख हुन्नन् । सुनाउनका लागि सुनाइन्छन् लामा लामा स्कूलका कथा ब्यथाहरु । सुन्दा पनि वाक्क लाग्ने ईतिहासका कुराहरु,भविष्य केही छैनन् ।
विद्यार्थीका शैक्षिक नतीजा कम उल्लेख गरिन्छन् । उनीहरुका दैनिकी र ब्यवहारका कुरा आउँदैनन् । नतीजा ल्याउन के हुँदैछ र कसले के भूमिका निर्वाह गर्नुपर्ने हो,प्रतिवदेनमा समाविष्ट हुँदैनन् वा भइ हालेमा पनि छिस्स कतै लेखिन्छ ।
अभिभावकका दायित्व केके हुन् ? अभिभावकले कति कर्तब्य पालना गर्न सके त्यसको हिसाव किताव हुँदैनन् । बरु उनीहरुलाई भुलाउनका लागि बजारमा आएका नयाँ नयाँ गीतमा छात्राहरुलाई बेस्सरी मेक अप गरेर नचाइँन्छ र आफ्नै छोरीहरु अभिभावकहरुले नचिनूनन् ! विचरा ! अभिभावकहरु आफ्नै सन्तानको कला देखेर मख्ख । पढाइमा पास भइ हाल्छन् । यही सोंच उनीहरुमा पाइन्छ ।
शिक्षकहरु वर्षदिनको चाडपर्व मान्छन्,रमाईलो दिनको रुपमा लिन्छन् । व्यवस्थापन समिति पनि मख्ख हुन्छ । छातीमा ब्याच टाँसेकै हुन्छन् । दुईचार शब्द राख्छन् र आफ्नै वार्षिकोत्सव एवम् अभिभावक दिवसमा आफैले सफलताको शुभकामना दिन्छन् । आफ्नै विहेमा आफै जन्ती जस्तै लाग्छन् उनीहरु !
उनीहरुलाई यत्ति थाहा हुनु पर्ने हो,सो दिन शिक्षक,अभिभावकका बारेमा बोल्नु पर्छ,कार्यक्रम तय गर्नुपर्छ ,उनीहरुका समस्यालाई बुझ्ने र समाधानका लागि प्रतिवद्ध हुने दिन पनि हो भनेर तर आफै अतिथि,आफै वक्ता र आफै असल स्रोता बनेर तमासे बन्छन् ।
विद्यार्थीहरुले के गरुन् विचरा ! नाँच्न पाइन्न कि भन्ने चिन्ता,पुरस्कार पाउनेहरुले कति बेला पुरस्कार थाप्ने होला भन्ने चिन्ता ,पाएपछि घरै दौडिन् पर्ने देखाउन पुरस्कार ? नास्तातिर नजर दौडाउँछन् ।
किन वार्षिकोत्सव र अभिभावक दिवस मनाइँदैछ ? सो दिनमा उठान गर्नुपर्ने विषयहरु केके हुन् ? शिक्षक,विद्यार्थी,अभिभावक,व्यवस्थापन समिति भेला हुने दिन सोही गतिलो अवसर हो तर उक्त अवसरको कति प्रयोग हुन सक्यो ? विद्यालयका बारेमा के योजना पेश गरियो ? योजना कार्यान्वयन गर्ने पक्षहरुको वर्तमान अवस्था र प्राप्त गर्न सकिने सहयोग एवम् आआफ्ना भूमिकाका सन्दर्भमा केकस्ता प्रक्रिया र पद्धति अपनाउन सकिने छ ? यी विषयमा कहिले कुनै सरकारी विद्यालयहरुले गतिलो गरी उठान गरेका छन् ? छन् यस्ता विद्यालयहरु पनि पक्कै जसले चर्चा पनि कमाएका छन् र नतीजा पनि दिएका छन् ।
नतीजा बिग्रिएका कतिपय विद्यालयहरुले वार्षिकोत्सव र अभिभावक दिवस मनाउन नपारोस् भन्नेहरु पनि छन् । हुन त वार्षिकोत्सव र अभिभावक दिवस फरक फरक दिनमा मनाउनु पर्ने हो तर हाम्रातिर झ्यामझुम एकैदिन मनाउने हालेहुले एउटै खर्चमा टार्ने चलन छ ।
मनाउनका लागि मनाइएका यी वार्षिकोत्सव र अभिभावक दिवसको प्राप्ति र नतीजाका सन्दर्भमा छलफल अनि अन्तक्र्रिया गर्नुपर्ने जरुरी छ । जसले आगामी दिनमा गहन भूमिका खेल्न सकोस् ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया