
– दल बहादुर गुरुङ
हतारको यात्रा तय भयो । पौष महिनाको १५ गते तमू ल्होसार सरकारी बिदा र १६ गते शनिवार उसै बिदा । क्यालेण्डरमा सोही लेखेको रहेछ । विदा मनाउन दैलेखतिर दौडियौं साथीभाइ मिलेर ।
नयाँगाउँ होमस्टेमा गास र बास
बुटवलबाट हिंड्ने बेला साँझको ८ बजि सकेको थियो । सानो गाडीले बढीमा एक सय २० प्रतिघण्टाको दरले रफ्तार समायो । बाँकेको सम्शेरगंज अगि सात किलोमीटरमा रहेको नयाँगाउँमा खुलेको नयाँ होमस्टेमा गास र बास मिल्यो । त्यहाँ पुग्दा रातको सवा १२ वज्दै थियो ।
मंगल चौधरीले एकै घरमा खाना खुवाए अनि दुई दुई जनाको दरले हामी सुत्न बाँडियौं । विहान हिसाव गर्दा मासु भात खाएको दुई सय ५० र सुतेको एक सय ५० को दरले रकम भुक्तानी गरेका थियौं ।
ढिला पुगेको कारण स्वागत र सांस्कृतिक कार्यक्रम हुन सकेन । उनीहरुको हार्दिकता उल्लेखनीय नै थियो । २०७२ सालको जेठमा खुलेको सो होमस्टे थारु जातिलेमात्र चलाएका रहेछन् । हामीलाई सो होमस्टेमा पुग्नका लागि सहयोग पुराउने भाष्कर देव चौधरी नै थिए । निमुखा किसानहरुले सो होमस्टेबाट आम्दानीका बाटा खोजेको भेटियो ।
गाभर भ्याली होम स्टेमा चिया र मकै

कोहलपुरबाट उत्तर ८ किमी दूरीमा गाभर भ्याली होमस्टे खुलेको भेटियो । पाँचवटा घरमा होमस्टे चलेको रहेछ । २०७० सालदेखि सुरु भएको सो होमस्टे व्यवसाय उन्मुख देखियो । कृष्ण चौधरीले वातावरणमैत्री होमस्टे सञ्चालन गरेका रहेछन् । उनले बढो मिहिनेत गरेर होमस्टे प्रवद्र्धनमा ध्यान दिइरहेका छन् । पेसाले पत्रकारिता गर्दै आएका कृष्णले होमस्टेलाई हेर्न लायकका बनाएका छन् । सानो कटेरोमा तालिम हल,बस्नका लागि कोठाहरु,वातावरणमैत्री बसाइ र थारु संस्कृति झल्काउने खालका घरायसी चित्रहरुले आकर्षण बढाएका छन् । उनका अनुसार गाभर भ्यालीमा थारु खाना र सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिन्छ । सांस्कृतिक कार्यक्रमका लागि पाँच हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
बालबालिकाहरुका लागि बालबगैंचा,बालमैत्री खेल सामग्रीहरुको समेत व्यवस्था गरिएको गाभर भ्यालीमा कृष्णले भ्यालीलाई हेर्नका लागि भ्यूटावर समेत निर्माण गरेका रहेछन् । सो टावरबाट गाभर भ्याली अतिनै सुन्दर देखिदो रहेछ ।
गुराँसेमा ध्यूसंगै भात सर्लक्कै
गाभर भ्यालीबाट ८० किलोमीटर उत्तरदिशामा रहेको सुर्खेत पुग्दा विहानको १० बजि सकेको थियो । त्यहाँ पुग्न हामीले बबई नदी र भेरीको पुल त¥र्यौ । छिन्चुलाई छिचल्यौं । छिन्चुबाट पूर्वदिशा लागेमा जाजरकोटमा पुगिदो रहेछ । छिन्चु पुरानो र प्रसिद्ध बजार रहेछ । यो बजारको चहलपहल राम्रै लाग्यो ।
सुर्खेतबाट उत्तरदिशा निरन्तर लाग्दै गयौं । त्यहाँबाट ६८ किमी दूरीमा दैलेखको सदरमुकाम पुगिदो रहेछ । अग्लो ठाउँ,चिटिक्क परेको स्थान र वरिपरि रहेको सानो बजारको नाम रहेछ,गुराँसे । गुराँसेमा पुग्दा मध्यान्हको १२ वजेको थियो । साथीहरुले गुराँसेमा गुराँससंग फोटो खिचे । खाना खाइयो । ध्यूसंग भात सर्लक्क छि¥यो ।

ज्वालामन्दिरमा दर्शन
दैलेखको रावतकोट गाविसमा पर्दो रहेछ ज्वालामन्दिर । अनौठो मन्दिर जहाँ प्राकृतिक ग्याँसबाट निरन्तर बत्ती बलि रहँदो रहेछ । अनि सोही बत्तीलाई तावाले ढाकिदो रहेछ । कालो ध्वाँसो लागेको तावामा बूढी औंलो दलेर निधारमा टीका लगाइँदो रहेछ । त्यो मन्दिरको विशेषता नै कालो टीका रहेछ ।
मन्दिर छेवैमा श्रीस्थान खोला बग्दो रहेछ । सोही खोलाको किनारामा पनि ग्याँस भएकै कारण आगो बाल्न सकिदो रहेछ । पानी,ग्याँसकै कारण भुल्किदो रहेछ । पानीमा ग्याँस निस्किएको पत्ता लगाउनका् लागि पातमा आगो लगाउने चलन रहेछ । स्थानीय पत्रकार गोविन्द भारतीका अनुसार यस नदीको मुहान चाइना पर्ने खोज अनुसन्धानकर्ताहरुले बताएको सुनाए । यही ग्याँसलाई प्रयोग गर्न सकिएमा धेरै जाती हुने थियो ।
ज्वालामन्दिरका महन्त गोकर्णनाथ योगीले मन्दिरका सन्दर्भमा धेरै कुराहरु बताए । सो मन्दिरको २०६६ सालमा पुरातत्व विभागले पुनर्निर्माण कार्य सम्पन्न गरेको रहेछ । खासगरी शिवरात्रीमा बढी भक्तजनहरु आउने गरेतापनि अन्य समयमा समेत नियमित श्रद्धालु भक्तजनहरु आउने गरेको उनले सुनाए ।
केहीबेरको बसाईपछि हामी नाभीकास्थान पुग्यौं । हाम्रो पथप्रदर्शक पत्रकार गाविन्द भारती नै थिए । उनले हामीलाई नाभीकास्थानका बारेमा जानकारी गराए । त्यहाँ एउटा ठूलो समीको रुख देखाउँदै भने–यो बोट तीन सय वर्ष बूढो हो । पार्वतीको मृत्युपछि शिवजीले उनलाई बोक्दै लैजादा त्यहाँ उनको नाभी अर्थात् नाइटो खसेको भन्ने किंवदन्ती रहेको उनले सुनाए । त्यसैगरी पादुकामा पाऊ(खुट्टा) खसेको थियो रे !
बिनाडब्बाका रेल
नाभीकास्थानदेखि हामी दुल्लुतिर हुइँकिदै थियौं । बाटो उकालो तर कच्ची थियो । दुल्लु नगरपालिका रहेछ । हुन त हामीलाई बाटाभरि पत्रकार गोविन्दले दैलेखका बारेमा धेरै बताए थिए । उनका अनुसार दैलेखमा दुईवटा नगरपालिका र ४९ वटा गाउँ विकास समिति रहेछन् । ३२ जातिको पुख्र्यौली थलो रहेछ दैलेख । यस जिल्लामा ती जातिहरुले कूलपूजा गर्न आउने रहेछन् ।
हामी उक्लिदै गर्दा मानिसहरु दिउँसै रेल परेका देखिन्थे । अर्थात् उनीहरु रक्सीले मातेका थिए । पत्रकार गाविन्दले भने– यहाँ त बिनाडब्बाका रेल भेटिन्छन् । हामीलाई केहीबेर कुरा बुझ्नै गारो भो । बुझेपछि हाँसोको फोहोरा छुट्यो ।
पुसेपन्ध्रमा हामी दुल्लुको रातीमाटा बजारमा थियौं । त्यो दिनलाई गुरुङ जातिले विशेष पर्व(ल्होसार)को रुपमा मनाउने चलन रहेको छ । यसलाई तमू ल्होसार पनि भनिन्छ । दुल्लुमा पनि ल्होसार भब्य रुपमा मनाउने चलन रहेछ । त्यहाँ महिला र पुरुषहरु देउडा नाँचमा मस्त देखिन्थे । बिनाडब्बाका रेल त्यहाँपनि भेटिए । नाँच र ताल आफ्नै खालका थिए । रमाइलो मानेर हेरियो केहीबेर ।
निःशुल्क सुन्तला चाखियो
दल्लु बजार नजिकै बाटाका छेवैमा सुन्तलाका बोटमा सुन्तला लटरम्म फलेका । हेर्दै रहर लाग्दो । फोटो खिच्नै लागेको गोसाएँले भनिन्–सुन्तलाको बोटसंग फोटो खिचेको पैसा लाग्छ । हामीले हुन्छ भन्यौं र फोटो खिच्यौं । सुन्तलासंग फोटो खिचेर स्वाद नपाइने भएकोले सुन्तला किनेर खाने कुरा ग¥यौं । सुन्तलताकी गोसाएँ त शिक्षक रहेछिन् । उनीसंग केहीबेर बात मारियो । कुरैकुरामा त किला तीनेक सुन्तला तुरिए छ । उनको श्रृङ्गारिक गजल पनि सुनियो । उनको नाम हीरा शाही रहेछ । हीराले पैसा लिन मानिनन् । हामीले पाल्पा आउनका लागि शाब्दिक सुपारीमात्र दियौं । सुन्तलाको बोटमा फोटो खिच्दा पैसा माग्ने हीराले निःशुल्क सुन्तला चखाइन् ।
छामघाट खोलाको माछा
रावतकोट गाविसको भीरखेतमा ओर्लियौं । त्यहाँ रिभरसाइड नास्ता घर रहेछ । दुल्लु बजार नजिकै रहेको चगत्रा बजारमा डिजेल हालेपछि एक्कासी भीरखेतमा रोकिएका थियौं । छामघाट खोलाको माछा खाइयो तर सदरमुकाम आउन नपाउँदै साथीहरुलाई माछाको पखेटाले पेटमा हानेर चर्पीमा क्षणभरलाई बास गरायो । माछापनि महंगो रहेछ ।
भीरखेत सानो उपत्यका जस्तै मानें मैले । हेर्दै रहर लाग्दो फाँट तर काकाकूल फाँट । छेवमैमा छामघाट खोला बगेतापनि फाँटमा पानी आउने छाँट पनि देखिएन । विजुली थिएन । सानो नास्ता पसल एकलकाटे जस्तो देखिन्थ्यो ।
बेलास्पुर मन्दिरमा उक्लिदा
नारायणस्थान नगरपालिकामा पर्ने बेलास्पुर मन्दिरमा सडकबाट करिव पन्ध्र मिनेट उकालो हिंडेपछि पुगिन्छ । सिमेन्टका सिंढीहरु उक्लिदै गर्दा त्यहाँ लगाइएका रेलिङ्हरु कहिंकतै भाँचिएका थिए । मन्दिर पुनर्निर्माणको क्रममा रहेछ । त्यहाँबाट उत्तरतिर खुर्सानीबारी,तलपट्टि नयाँगाउँ र सुदरमुकाम देखिन्छ । पूर्वतिर नौंमूले गाउँ देख्न सकिन्छ । सो मन्दिर परिसरमा भ्यूटावर राख्न सकिएमा सुन्दर भूदृश्यहरु देख्न सम्भव र आर्थिक विकासमा समेत टेवा पुग्ने थियो ।
हार्दिकतापूर्ण विदाई
पत्रकार दाजू गोविन्द भारती र भाउजु विनु भारतीले सदरमुकाममै होटल चलाएका रहेछन् । भाउजूले मीठो गरी हामीलाई खाना खुवाए । हामीले मीठो मानी मानी खायौं । खानासंगै भाउजूले ध्यू थपी थपी दिए । साथीहरुले ध्यू खाएर जिउ बनाउने सपना बुने । भाउजूको हात मीठो हो कि भात थाहै लागेन ।
भाउजूले हामीलाई हार्दिकतापूर्ण खाना खुवाएपछि हामीले खानाको पैसा तिर्न सकेनौं । सोध्न पनि सकेनौं । हिंड्ने बेला हामीले बजारमा किनेको मायाको चिनो गाविन्द दाजूलाई दिएर हिंड्यौं । छुट्टिनुको पीडा कम रहेन,तैपनि हार्दिकपूर्ण विदाईले मन थामेर पाल्पातिर हिडियो ।

गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया