
दल बहादुर गुरुङ
पाल्पा जिल्ला साविकको दोभान गाविस वडा नं. ९ (हाल तिनाउ गाउँपालिका वडा नं.२) मा रहेको छ सुकेताल गाउँ । त्यहि नै रहेको छ, तीन रोपनी जग्गामा फैलिएको सुकेताल पनि । तालको नाम सुकेताल रहेपनि पानी टनाटन छ । त्यही तालबाट निस्किएको पानीले तीन किलो वाट्को विजुली उत्पादन भएको छ । विजुलीले गाउँ झिलीमिली बनेको छ । गाउँका ६३ घरधूरीले यहाँकै विजुली बाल्दछन् ।
सुकेताल गाउँ लोसेडि·मुक्त गाउँ हो । स्थानीय नागरिकहरुले सस्तो दरमा विजुली बाल्दै आएका छन् । गाउँमा विजुलीकै कारण गाउँलेहरु टुकीबाट मुक्त भएका छन् । जसका कारण टुकीको धूँवा र ध्वाँसो खानु परेको छैन । अचेल कोही श्वासप्रश्वासका रोगी बन्नु परेको छैन । स्वस्थ र सुन्दर छ सुकेताल गाउँ ।
सुकेताल गाउँमा रहेको यो तालभित्र शिवजीको मन्दिर बनाइएको छ । सो मन्दिरले तालको शोभा बढाई दिएको छ । सुकेतालको वरिपरि दालचिनीका बिरुवा र अन्य रुखहरुले थप आकर्षण थपेको छ । वेगमकलीका वेर्ना लगाउन सके सुकेताल दुलही झैं सिंगारिने छ ।
सुकेताल गाउँमा सबै मगर जातिका गाउँलेहरु बस्दछन् । यस गाउँमा सुपारीथरि र शिवगुफा सामुदायिक वन उपभोक्ता समूहहरु छन् । यिनै सावउसहरुको सहयोगमा सुकेताल संरक्षण तथा सम्वद्र्धन समितिको आयोजनामा सम्वत् २०६५, २०६७ र २०७३ सालमा ग्रामीण पर्यटनको विकास गर्ने हेतूले सुकेताल महोत्सवहरु सम्पन्न भएका थिए ।
२०६७ सालमा सुकेताल महोत्सवकै अवसर पारेर यस गाउँमा होमस्टेको सुरुआती भएको थियो । अहिले यस गाउँमा मनकला बगाले,पूर्णकला गाहा,बसन्ती उचै र लिला रानाले होमस्टे सञ्चालन गर्दै आएका छन् ।
गत वर्षको माघ महिनाको १ र २ गते तेस्रो सुकेताल महोत्सव समेत सम्पन्न भई सकेको छ । गएको वर्ष सात लाख बढीको आर्थिक कारोवार भयो । स्थानीय बासिन्दाहरुले व्यापार व्यवसाय समेत गरे । यस वर्षको चौथो महोत्सवमा करिव १० हजार पर्यटकहरु आउने र २० लाखको आर्थिक कारोबार हुन सक्ने अनुमान रहेको छ । गाउँलेहरुले गतवर्षको महोत्सवमा आफ्नो पाक् कला प्रदर्शन गरे भने स्थानीय क्लवका कलाकारहरुले आफ्नो नृत्यकला प्रस्तुत समेत गरेका थिए ।
महोत्सव आयोजक समितिका अध्यक्ष पदम बहादुर गाहाले भने–तेस्रो सुकेताल महोत्सव आयोजकले सोचेभन्दा पनि सफल भयो । यसले ग्रामीण पर्यटनको विकासमा पक्कै पनि टेवा पुराएको र आर्थिक लाभ समेत दिएको छ ।
सुकेतालको वरिपरि ससाना कटेजहरु छन् । यसले पर्यटकको मन तानि रहेको छ । तालको छेवैमा एउटा साझा घर बनाइएको छ । त्यस घरमा पाहुनाहरुलाई स्वागत गर्ने,सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने उद्देश्यले निर्माण गरिएको थियो । गाउँमा शिवगुफा सांस्कृतिक युवा क्लव छ । गाउँमा आउने पर्यटकहरुलाई स्थानीय लोकनृत्यको सहायताले भरपूर मनोरञ्जन दिने काम तिनै क्लवका कलाकारले गर्दै आएका छन् । यसका कारण कलाकारहरुको कला तिखार्ने काम भएको छ भने आर्थिक उपार्जन समेत भएको छ ।
सुकेतालको महत्वलाई बुझेर बुटवलमा रहेको सौरभ राईज टूर एण्ड ट्राभल्स्की प्रवन्ध निर्देशक रचना भट्टराईले सुकेतालको वृत्तचित्र निर्माण गरी देशब्यापी प्रचार गर्ने र सुकेतालका लागि छुट्टै प्याकेज बनाउने सोच रहेको बताईन् ।
गाउँमा होमस्टे सुरु गर्नका लागि दोभान एकीकृत पर्यटन विकास समिति, दोभान जनजाति समन्वय समिति, साविकको दोभान गाविसको कार्यालय र सामुदायिक वन समन्वय समिति,दोभानले सक्दो आर्थिक एवम् भौतिक सहयोग दिएका थिए ।
गाउँमा होमस्टे सञ्चालन भएपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको घुँइचो लागेको छ । गाउँमा दिदीहरुले पर्यटकहरुलाई भ्याई नभ्याइ स्वागत र सत्कार गरेका छन् । आफ्नै बारीमा फलाएका जैविक तरकारी खुवाएका छन् । फापरको रोटी र ढिंडोले पाहुनालाई अघाउन हालेका छन् । लोकल कुखुरा र गुन्द्रुकसंगै आँटो र भात खुवाएका छन् । गाउँकै उत्पादन गाउँमै खपत भएका छन् । बजार गाउँ नै भएको छ । स्थानीय एक नम्बर घर होमस्टेकी सञ्चालक मनकला बगालेका अनुसार गाउँमा होमस्टे सुरु भएपछि आम्दानी बढेको छ । गाउँलेहरुको आर्थिक विकास भएको छ । हरिया नोटको बास भएको छ गाउँमा । त्यतिमात्र होइन गाउँलेहरुमा बोल्ने,हाँस्ने र पाहुनालाई सत्कार गर्ने संस्कारको विकास भएको छ । सामाजिक परिवर्तनका लागि होमस्टे पनि साधन भएको छ । सुकेताल पहिलो पटक पुगेका होटल व्यवसायी माधव नेपालले सुकेताललाई स्वर्गको एउटा टुक्रा भएको र यसलाई सबैले एकपटक हेर्न आइ पुग्नु पर्ने सुझाए ।
गाउँमा आउने पर्यटकहरुले विभिन्न खालका ज्ञान,सीप र व्यवहारिक क्षमता बढाउने खालका ज्ञानवद्र्धन कुराहरु सिकाउँदै आएका छन् । गाउँको सकारात्मक विकास र परिर्वतनका लागि सुकेताल र होमस्टे रामवाण सावित हुँदै आएको छ ।
होमस्टेले सुकेतालको नयाँ चिनारी दिएको छ । पहिचान बढाएको छ । गाउँलेहरुमा नयाँ जोश,जाँगर बढाएको छ । गरे हुँदो रहेछ भन्ने सन्देश प्रवाह गरेको छ । गाउँमा होमस्टे सञ्चालन गर्न अगि उनीहरुले स्या·जाको सिरुवारी,लमजु·को घले गाउँ,बर्दियाको डल्ला र नवलपरासीको अमलटारीमा रहेका होमस्टेहरुको स्थलगत अध्ययन गर्न लगिएको थियो ।
त्यसका लागि सामुदायिक वन समन्वय समिति,दोभानले तराई भू–परिधि कार्यक्रम कोहलपुरको आर्थिक सहयोग लिएको थियो । सुकेतालको ग्रामीण पर्यटन विकास हुन सकेमा स्थानीयहरुले आर्थिक लाभ लिन सक्ने कुरा दोभानमा रहेको मिलीजुली वचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक दुर्गा थापाले बताए ।
हिउँद याममा यातायातका साधनहरु सजिलै पुग्ने सुकेतालमा वर्षामास् पैदल हिंडेर दोभान चौकीबाट डेढ घण्टामा पुग्न सकिन्छ । बाह्ैमहिना यातायातका साधन चलाउन सके सुकेतालमा रहेको होमस्टेले अझ्ै फड्को मार्ने थियो र आर्थिक,सामाजिक विकासले धूरी चढ्ने थियो कि !

गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया