
दल बहादुर गुरुङ
सधैंभन्दा यसपाली पाल्पा दोभानको सुकेताल भ्रमण उल्लेखनीय रह्यो । कालिका उमावि र अक्सफोर्ड कलेजमा कक्षा १२को पत्रकारिता पढ्दै गरेका भाइबहिनीसंग सुकेताल पुग्नुको मज्जा नै बेग्लै भयो । भाइवहिनीका सुकेताल हेर्ने उत्कट इच्छा पूरा गर्ने चाँजोपाँजो मीनाक्षी मेडमले गर्नु भएको थियो । अलिकति सहयोग मैले पनि गर्ने अवसर पाएँ ।
डोजरमा नि कुर्सी !
हामी दोभानको पैठेडाँडा,लामाचौपारी,नयाँ वजार,घोंडेबास,डोल हुँदै पासकुण्डा पुग्दै थियौं । बाटो कच्ची नै भएपनि फराकिलो थियो । हामी पैदल ११ नम्बरको यात्रा गर्दै थियौं । नेपालका धेरै गाउँ गाउँमा बाटो पुगेका कुरा हामीसंगैका भाइबहिनीले बताउँदै थिए । तिनै मध्येकी म्याग्दी घर भएकी सुनिता मल्लले आफ्नो गाउँमा डोजर पुग्दा गाउँलेहरुले अनौठो मात्र मानेनन् रे बरु उनीहरुले भनेका थिए रे–डोजरमा त कुर्सी पनि हुँदो रहेछ ! डोजरको सीटलाई उनीहरुले कुर्सी पो भनेका रहेछन् । यो कुरा सुनेपछि हामी सबै हाँस्यौं । एक्काईसौं शताब्दीमा पनि यस्तो कुरा सुन्दा किन नहाँस्ने र ?
मुखमा गाँस, आँखामा नाँच र ओछ्यानमा बास
सुकेतालमा हामी पुग्दा साँझको पाँच बज्दै थियो । विद्यार्थीले सुकेताल हेरि सकेपछि आनन्द माने,रमाईलो माने । तालको पानी शिरमा राख्दै तालभित्रै रहेको शिवजी मन्दिरमा दर्शन गर्न
थाले । फोटो शेशनमै मस्त रहे केही बेर विद्यार्थी । मीनाक्षी मेम र म भने होमस्टेमा चिया खान लाग्यौं । तालबाट फर्केपछि गंगा,जमुना,मुना र मनकला दिदीले पनि एक नम्बर होमस्टेमा सबैलाई फूलका गुच्छा र टीकाले स्वागत गर्नु भो । सबैका निधार अबीरले राता थिए भने हातमा फूलका गुच्छा । विद्यार्थी खुसी बनेका थिए । उनीहरुका मन चङ्गा जस्तै थिए ।
स्वागतपछि सुकेतालमा रहेका होमस्टेमा चारवटा घरमा विद्यार्थीलाई गास र बासको ब्यवस्थाका लागि पठाइयो । लोकल कुखुराको झोलसंग स्याम्म खाना खानुको मज्जै अर्कै हुँदो रहेछ भन्दै थिए अतिथि भाइबहिनीहरुले । साँझ आठ वजे खानापिनापछि होमस्टे नं.१ मा सांस्कृतिक कार्यक्रम सुरु भयो । सुकेतालका कलाकार भाइबहिनीले सालेजो,कौडा र राष्ट्रिय गीतमा नृत्य प्रदर्शन गरे । अतिथि विद्यार्थीले कलाकारका सम्मानका लागि जोडदार तालीले स्वागत गरे ।
मेडम मीनाक्षीले कलाकारहरुको सम्मान र हौसलाका लागि एक हजार एक सय रुपैयाँ प्रदान गर्नु भो र भन्नु भो–कलाकार भाइबहिनीको कला अझ्ै तिखारिदै जाओस् । कलाकारहरुले टाउको हल्लाउँदै नगद सम्मान ग्रहण गरे । उनीहरुको साजसज्जा सहितको नेपाली लोकनृत्य साँच्चिकै हेर्न र प्रशंसा गर्न लायकका नै थिए । नृत्य कार्यक्रम पछि तोकिएको होमस्टेको ओछ्यानमा आँखा विसाउन सबै लागे । तिलक,बसन्तको ओछ्यानमा चिसो सिरेटोले जाडो पैंचो दिएको विहान पख चिया पिउँदै गर्दा तिलकले बताउँदै थिए ।
टर्वाइन घुमे जस्तै मन घुमेपछि……
हामीले विहान ८ वजे सुकेतालको पानीबाट सञ्चालित लघु जलविद्युत हेर्न पुग्यौं । विद्यार्थी भाइ बहिनीहरुले कसरी टर्वाइन चल्दो रहेछ राम्ररी हेरे । तीन किलोवाट् विद्युत उत्पादन हुने कुरो प्राविधिकबाट थाहा पाइयो । रातभर तालको पानीले टर्वाइन चल्ने र विद्युत उत्पादन हुने अनि दिउँसो तल्लो गाउँ पासकुण्डा,डोलमा सिंचाई गरिदो रहेछ ।
हामीहरुले टर्वाइनकै नजिक पुगेर फोटो खिचियो । विद्यार्थी भाइबहिनीहरुले धेरै कुराको जिज्ञासा राखे । गाउँगाउँमा यस्तै लघु जलविद्युत हुन सकेमा लोडसेडिङ्गको मर्का व्यहोर्न नपर्ने उनीहरुको तर्क थियो । कहिले बन्ला गाउँ गाउँमा यस्तै लघु जलविद्युत ? कहिले होला नेपाल लोडसेडिङ्गमुक्त देश ? कहिले पाउलान् नागरिकले सस्तो र सुलभ विजुली ? टर्वाइन घुमे झैं विद्यार्थीका मनमा यस्तै प्रश्नहरु एकोहोरो घुमिरहे ।
काँचो मेवा,मीठो गीत र कम्मर मर्काउँदै नाँचेपछि
टर्वाइन हेरेर हामी माथिल्लो गाउँ उक्लियौं । शिवराम पेग्मीको घरमा । उनका घरमा पुगेसी काँचो मेवा ,नून खुर्सानीसंग दहे गरी खाइयो । तुल्साले गीत सुरिलो भाखामा निकालिन । उनको कोकिल कण्ठ गीतले सबैलाई मन्त्रमुग्ध पा¥यो । तिलकले मादल ठोके र सुरु भयो नेपाली लोकनृत्य पनि । बसन्त लगायतका साथीहरु कम्मर मर्काएर धुमधाम नाँचे ।
तुल्साको गीत अतिनै मीठो र सबैलाई नाँचुम नाँचुम बनाउने खालको थियो । प्रतिभावान विद्यार्थी रहेछिन उनी । हुन त गएका विद्यार्थी भाइबहिनीहरु सबै प्रतिभाशाली र क्षमतावान थिए आ–आफ्ना विधामा । हिंड्ने बेलामा केही नानीहरुले मकै लिएर हिंडे,केहीले काँचो मेवा बोके र गीत गाउँदै ओरालो लागियो सुकेतालतिर ।
पाहुना बनेर पसेका हामी परिवार बनेर बिदा हँुदा
अघिल्लो साँझ हामी सुकेतालमा पाहुना बनेर पसेका थियौं । पाहुना बन्दा हाम्रा हातमा स्वागतका लागि फूलका गुच्छा थिए भने निधारमा अबीर तर विदा हुने बेला हामी सबैका गलामा माला थिए र निधारमा उस्तै रातो अबीर ।
सबैका आँखामा सुकेताल एकनास नाँचि रहेका थिए । सुकेतालका होमस्टेहरुबाट विदा हुँदा सबैका मन अमिलो र आँखा रसाएका थिए । चारवटै घरका दिदीवहिनीहरुले हामीहरुलाई विदा गरेका थिए । होमस्टेका दिदीवहिनीहरुले फेरि फेरि आउनु है भन्दापनि लाग्थ्यो–हामी एउटै परिवारका सदस्यलाई किन विदा गर्दैछन् ! मन कुमारी,पूर्णकला दिदीहरुका मनमा हामीलाई विदा गर्दा मनमा गाँठा परेका थिए ।
मैले सम्झिएँ, मनकुमारी दिदीले विहान पख मकै,भटमास भुटेर खान दिएको । दिदीले विदाई गरि रहँदा नरमाईलो लाग्दै थियो । हो ! सुकेतालमा २०६७ को चैत्रबाट होमस्टेको सुरुआत् भएता पनि बल्ल आजभोलि ब्यवस्थित हुँदै छ । ग्रामीण पर्यटन विकासका लागि सुकेताल होमस्टे पनि एक हो । यस गाउँको विकासका लागि होमस्टे पहिलो आधार पनि हो ।
विदाइको माला र अबीर लगाएपछि विद्यार्थीले आफ्ना प्रिय मेडमलाई भ्रमणको साक्षी राखेर कालिका र अक्सफोर्डका टोलीले धमाधम फोटो खिचे । होमस्टेको नयाँ अनुभव गरे । गाउँले परिवेश बुझे अनि यात्राका अनुभवहरु कापी भरि लेखे । सायद उनीहरुले नियात्रा लेख्दै होलान् ।
सिद्धगुफाको दर्शन
दोभान वडा नं.९मा रहेको सिद्धगुफाको दर्शन गर्न सबै गयौ । गुफा सानो र अँध्यारो थियो । पालैपालो गुफाभित्र रहेका मूर्तिहरुको दर्शन ग¥यौ । रमाइलो लाग्यो । गुफाभित्र सानो कुण्ड पनि रहेछ । कुण्डमा सुनिताले आफ्नो जन्मदिनको अवसर पारेर दशको नोट भेटी चढाइन । कुण्डमा गाउँलेहरुले त्रिशुल गाडेका र घण्टी झुण्डाएका रहेछन् । हामीहरुले एकछिन घण्टी बजाएर मनोरञ्जन गरेका थियौं । तिलक,बसन्त,कविन्द्रहरुले भजन पनि गाए । मनग्य फोटो खिचे ।
गुफाभित्र अनेकौ आकृति देख्न पाइयो । तलतिर झरना,छाँगा त झनै राम्रो ।
सबै साथीहरुलाई सुनिताले जन्मदिनको अवसर पारेर मुखै रसाउने मीठाइ खुवाइन् । हामीहरुले जन्मदिनको उपहार स्वरुप हेप्पी वर्थ डे भनेर टारेका थियौं । उनको जन्मदिन पनि बहुत राम्रो
भो ।
बहुत राम्रो भन्ने मेरो थेगो थियो । विद्यार्थीले भनेका,गरेका काम कुरालाई मैले सम्मान गर्दै बहुत राम्रो भन्ने गर्थें । उनीहरु पेट मिचीमिची हाँस्ने गर्थे । पछि त चलन नै चल्यो बहुत राम्रो भन्ने ।
अँध्यारो मन लिएर ओरालो झर्दा
सुकेताल जाँदा जुन रमाइलो,उत्साह र उमंग थियो घरतिर फर्किदा मन अँध्यारा थिए धेरैका । दिदीबहिनीहरुको सम्मान,उनीहरुको भावपूर्ण विदाई र साथीहरुसंग निकट भविष्यमै छुट्टिनु पर्ने पीडा मनभरि भएकै कारणले होला जस्तो लाग्छ । जे भएपनि भ्रमण बहुत राम्रो भो । बाटाभरि गीत गाउँदै,कुरा गर्दै ,एकले अर्कालाई शालीन तरिकाले जिस्काउँदै झर्दा बहुत राम्रो भो । कसैका गोडामा खासै ठेस लागेन । कैंडा लागेन । यस्तै हो जीवन ! सधैं मन कहाँ उज्याला हुँदा रहेछन् र ? बाटाभरि कसैका चप्पल,जुत्ताले आँ गर्दै थिए । दोभान बजारसम्म धान्छ कि नाइँ कृष्णालाई सोध्नु पर्ने अवस्था आइ सकेको थियो ।
जे होस् दुई दिने नबिर्सिने यात्रामा दोभानबाट बुटवलतिर जीप चढेपछि विर्को लाग्यो । कसैले पनि भ्रमण नराम्रो भन्ने छैनन् जस्तो लाग्छ,मेरो तर्फबाट त बहुत राम्रो भो !
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया