पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ मा रहेको सुकेतालमा आउँदो माघ महिनाको ५ देखि ७ गतेसम्म सुकेताल महोत्सवको आधारःउद्योग,कृषि र पर्यटनको विकासको नारासहित चौथो सुकेताल महोत्सव एवम् विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । महोत्सवको उद्घाटन पूर्व उद्योग मन्त्री एवम् पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य माननीय सोम प्रसाद पाण्डेय र समापन पाल्पा क्षेत्र नं.२(२)का प्रदेश सभा सदस्य माननीय तुलाराम घर्तिमगरले गर्ने भएका छन् । साथमा स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता रहने महोत्सव आयोजक समितिले जनाएको छ । सो महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने,चुरे तथा सीमसार क्षेत्रमा रहेको सुकेताल र तालभित्र रहेको शिवजीको मन्दिरमा दर्शन गर्न पाइने,सुकेताल लघु–जलविद्युतको अवलोकन,तालको नजिकै रहेको सिद्धगुफा भ्रमणको व्यवस्था मिलाइनुको साथै स्थानीय खाद्य परिकारको स्वाद लिन सकिने महोत्सव आयोजक समितिका संयोजक पदम गाहाले बताए । महोत्सवमा स्थानीय तथा छिमेकी जिल्लाबाट गरी करिव १० हजार आन्तरिक पर्यटकहरुको आगमन हुने र करिव २० लाखको आर्थिक कारोबार हुने महोत्सव आयोजक समितिका सचिव मान बहादुर सारुले बताए । महोत्सवमा आउनेहरुलाई शान्ति सुरक्षाको ब्यवस्था गरिएको आयोजकले बताएका छन् । महोत्सवलाई विशेष गरी स्थानीय उद्योग,तिनाउ गाउँपालिकाको कार्यालय,वडा नं.२ को कार्यालय,सिद्धबाबा मन्दिर विकास समिति,दोभान एकीकृत पर्यटन विकास समिति लगायतका संघसंस्थाहरुले सक्दो आर्थिक,भौतिक एवम् नैतिक सहयोग गर्ने आयोजक समितिले बताएको छ । महोत्सवको अफिसियल मिडियाको रुपमा श्रीनगर अनलाईन मिडिया रहेको छ ।
प्रतिक्रिया