
–दल बहादुर गुरुङ
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं.२ को नयाँवजारमा पार्वती कुमालको स्थायी घर छ । उनलाई धेरैले पार्वती भाउजू भनेर चिन्दछन् । उनको माईतीघर स्याङजा जिल्लाको वालिङमा पर्छ । पार्वती भाउजूको विहे सम्वत् २०४७ सालमा मान बहादुरसंग भएको हो । पार्वती भाउजू शाहसी एवम् उद्यमी एकल महिला हुन् ।

उनले आफ्नो जीवनको सहारा श्रीमान् गुमाएको २०६७ सालमा हो । वर्षमा हिसाव गरी ल्याउँदा पुरौ सात वर्ष पुग्यो । उनका श्रीमान्लाई कमलपित्त र उच्च रक्तचापको समस्या थियो । एक्कासी त्यीनै समस्याले पार्वतीका श्रीमान् मान बहादुर कुमाललाई कालको मुखमा पु-यायो । पार्वती भाउजूका तीन सन्तान छन् ।
जेठी छोरीले डिप्लोमा अन्तिम वर्ष भ्याइ सकेकी छन् र विहे गरेर नातीको मुखसमेत देखि सकेकी छन् भाउजूले । कान्छी छोरीले डिप्लोमा पहिलो वर्षको परीक्षा दिइ सकेकी छन् । छोरो विशालले कक्षा १० मा पढ्दैछ स्थानीय दोभान माविमा ।
श्रीमान्ले मिस्त्री काम गरेर जेनतेन सन्तान पालेका थिए । उनलाई सघाउन पार्वती भाउजूले घरेलु मदिरा बनाएर सहर बेच्न लैजान्थिन । श्रीमान्को मृत्युपछि पार्वती भाउजूलाई परिवारको बोझले च्याप्यो । छोराछोरी साना कमाइ गर्न र आफ्नो खुट्टामा उभिने सक्ने भइ सकेका थिएनन् । उनीहरुका पालनपोषण,शिक्षादीक्षा र हेरविचार गर्नुपर्ने गहुँगो जिम्मेवारी पार्वती भाउजूको थाप्लोमा आइपरेको थियो ।
पार्वती भाउजूले श्रीमान्को मृत्युलाई शोकबाट शक्तिमा बदलिन् । उनले आफ्ना परिवार धान्न कसैका अगि हात फैलाइनन् । बरु छोराछोरीको गतिलो अभिभावक बनेर विशाल फ्रेश हाउस शुरु गरिन् । यही पेसा नै उनको जीवनको सहारा बनेको छ ।
पार्वती भाउजू भन्छिन्– यो व्यवसाय बारेमा मलाई केही थाहा थिएन र मसंग अरु उपाय पनि थिएन सन्तान पाल्ने । भान्जाले सहयोग गरे अनि मैले यो व्यवसाय सुरु गरेँ ।
गाउँमा उनको फ्रेश हाउस गतिलो गरी चलेको छ । दिनमा करिव २७,२८ किलो मासु विक्छ । त्यसबाट आएको आम्दानीले छोराछोरीको पालनपोषण गतिलै गरेकी छन् उनले । उनको यो व्यवसायमा छोराछोरीले पनि सक्दो सहयोग गरेकै छन् ।
गाउँमा फ्रेश हाउस सञ्चालनपछि मासु खाने इच्छुकहरुलाई सजिलो पनि भएको छ तर अहिले गाउँमै यस्तै फ्रेश हाउस अरुले पनि सञ्चालन गर्न थालेपछि आफ्ना ग्राहक केही घटेको पार्वती भाउजूले सुनाईन् ।
पहिला एकाध किलो मासु लिन बुटवल बजार धाउनु पथ्र्यो तर आज गाउँमै पाइएको बताउँछन् स्थानीय अगुवा हरिप्रसाद पाण्डेय ।
पार्वती भाउजूको सहारा बनेर आयो विशाल फ्रेश हाउस । पार्वती भाउजूलाई सन्तान पढाउन सकिन्न कि भन्ने चिन्ता यही फ्रेश हाउसले हटाई दिएको छ । उनी ढुक्कसंग भन्छिन्–यही व्यवसायको आम्दानीले सन्तानलाई ठूलो र असल मान्छे बनाउन सक्छु ।
सन्तानलाई पढाएर ठूलो मान्छे बनाउने श्रीमान्को संकल्प मैले नै पूरा गर्दै आएकी छु । कक्षा पाँचसम्म औपचारिक शिक्षा हासिल गरेकी पार्वतीले सन्तानको पढ्ने इच्छामा सक्दो सहयोग पु-याएकी छन् ।
दोभान माविका कार्यक्रम संयोजक लक्ष्मण थापाले भने–उनका छोराछोरीहरुले पार्वतीको इच्छा र श्रीमान् स्वर्गीय मान बहादुरको सपना पूरा गर्न सक्ने छन् । तीनैजना छोराछोरीहरु पढ्नमै बढी ध्यान दिन्थे,गृहकार्य निमित गर्थे र जाँगरिला एवम् सहयोगी समेत भएको पूर्व शिक्षक राजेश श्रेष्ठले बताए । श्रीमान्का अवसानपछि सहाराविहीन बनेका धेरै दिदी बहिनीहरुका लागि पार्वती भाउजू उदाहरणीय एकल महिला हुन् । उनको आँट,शाहस र हिम्मतको कदर गर्नैपर्छ ।
भविष्यमा पोल्ट्री फर्म खोल्ने र थप आम्दानीका साथै रोजगारीको बाटो खोज्ने सुन्दर सपना बुनेकी पार्वती भाउजूको जीवन यात्रा सुखमय होस् ।
सबैका प्रेरणाका स्रोत बनून र सफल व्यवसायी बन्न सकून् शुभेच्छा ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया