
–दल बहादुर गुरुङ
भोज बहादुर रायमाझी २०११ सालको कार्तिक १३ गते साविकको पीपलडाँडा गाविस (हालको रम्भापानी गाउँपालिका वडा नं.३) अंगाहा खोला,पाल्पामा जन्मिएका हुन् । अहिले उनी पाल्पा जिल्लाकै तिनाउ गाउँपालिका वडा नं.३को झुम्सा पलन्दर टोलमा बस्दै आएका छन् ।

जुंगाको रेखी बस्ने बेला उनी शिक्षक बनि सकेका थिए । २०७१ सालमा उनी उमेर हदको कारण तिलोत्तमा मावि, झुम्सा,पाल्पाबाट निवृत्त भए । उनले कूल ४० वर्ष शैक्षिक सेवामा विताए । उनको सुरुआती विद्यालय हालको दोभान मावि,दोभान हो ।

भोज बहादुर सरले औपचारिक रुपमा आइ.एल.उत्तीर्ण गरेका थिए भने आइ.एड्.सरहको तालिम समेत प्राप्त गरेका थिए । उनले तिलोत्तमा माविको प्रधानाध्यापकको जिम्मेवारी कुशलतापूर्वक बहन गरेका थिए । त्यतिमात्र होइन उनले तिलोत्तमा माविको शैक्षिक उन्नतिको यात्रालाई काँध थाप्ने गहन काम समेत गरेका थिए ।
उनी अत्यन्तै मिजासिला,सरल र रसिला छन् । उनको यही बानीले गर्दा सबैका निम्ति भोज बहादुर सर प्रिय भएका छन् । उनलाई विद्यार्थीले कहिल्यै नबिर्सिने सरको संज्ञा समेत दिएका छन् । आफ्ना नयाँदेखि पुराना सबै शिष्यहरुलाई सजिलै चिन्न सक्ने असाधारण खुबी रहेकै कारण सबैका प्रिय बनेका हुन् भोज बहादुर सर ।
कृष्णा रायमाझी भोज बहादुर सरकी जीवन संगीनी हुन् । पहिले उनले पनि अध्यापन गर्थिन् । अचेल दुबैजना घरमै सहज जीवन बिताइ रहेका छन् । दुई छोरीका अभिभावक भोज बहादुर र कृष्णाका तीन नातीनतिना छन् । जेठी छोरी अनिता प्रोजेक्टमा जागिर खान्छिन् भने कान्छी छोरी अजिता बाबुकै पेसामा तल्लीन छन् ।
भोज बहादुर सर निवृत्त भएपछि आफ्नै घर वरिपरि रहेको दुई रोपनी जग्गामा रमाई रहेका छन् । उनले त्यहाँ रुखकटहर,भूइँकटहर,कागती,अमिलो,

बडहर, कुट्मेरा,तरुल,आँप,मेवा,नास्पातीका बोटहरु मात्रै होइन आलु समेत लगाएको देख्दा द· परिन्छ । अष्ट्रेलियन बनानाका घरी देख्दा त मनै फुरु· हुन्छन् हाम्रा । उनका बारीमा सयभन्दा बढी केराका बोटहरु छन् । त्यसमध्ये पचास जति बोटले धान्न नसक्ने गरी केरा फलाएका छन् । सरदर उनले वर्षमा दुईलाख जति फलफूलबाट आम्दानी गर्दै आएका छन् ।
उनका बगैँचामा कागती र अमिला रमाइ रहेका थिए । मेवा पाक्ने तरखरमा देखिन्थे । भूइँ कटहरलाई ताँछेर हामीलाई सरले चखाउनु भयो । बेमौसमी भूइँ कटहरको स्वाद ठिकै लाग्यो । पाकेको केरा चार कोसा खाँदा मुखमा चिनी नै राखे जस्तो भो ।
भोज बहादुर सरका मिहिनेत भेटिन्छन् फलफूल बगैंचामा । उनका पसिना तिनै फलफूलमा मस्कि रहेका देखिन्थे । कृषि कर्ममा कम्मर कसेर लागेका रायमाझी दम्पत्ती आफ्नो फलफूल बगैँचा देख्दा मख्ख छन् अनि खुसी पनि उस्तै ।
कृष्णा मेडमले पनि सरको कृषि कर्मलाई साथ दिइ रहेकी छिन् । छोरीहरु बिहे भई गएपछि उनीहरुका सन्तान भनेकै तिनै फलफलका बोट भएका छन् । स्याहार सुसार गर्छन्,मलजल गर्छन् । जब फलफूलका बोटमा फूल खेल्छन् ती दम्पत्तीका मनमा पनि दीयो बल्ने गर्छ खुसीका । खुसी साट्छन् उनीहरु आफ्ना परिश्रम,सीप र जाँगरमा । मख्ख पर्छन् जब फूलमा फल लाग्न थाल्छन् ।

निवृत्त जीवन यसरी नै चल्दै आएको छ भोज बहादुर सर र कृष्णा मेडमको । ढुकुरका जोडी जस्तै छन् उनीहरु । मनको डोरीले माया बाटेका छन् उनीहरुले । भोज बहादुर सरका जीवन यात्रा अतिनै उदाहरणीय छ । उनका शिष्यहरु चिकित्सक,अभियन्ता,वकिल र शिक्षकहरु छन् । आफ्ना शिष्यहरुका उन्नति र प्रगतिले भोज बहादुर सर अतिनै सन्तुष्ट छन् ।
खुसी र सुखका साथ आफ्नो निवृत्त जीवन बिताई रहेका भोज बहादुर सर सबैका लागि नमूना शिक्षकमात्र होइन उदाहरणीय कृषक समेत हुन् भन्दा फरक नपर्ला !
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया