
अभिषेक तिवारी
बुटवल , पुस १६।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ नुवाकोट गढीमा सरकारले करोडौँ लगानीमा सडक निर्माण थालेसँगै यहाँको विकासमा चौतर्फी चासो बढेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक,पुरातात्वि एवं पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण एवं रमणीय सो क्षेत्रमा निजी क्षेत्रले अर्बौंका योजना अगाडि ल्याएका छन् । ऐतिहासिकस्थलको संरक्षण, संवद्र्धन एवं विकासमा नेपाली सेनाले समेत चासो दिँदै आएको छ ।

यस स्थानबाट हिमशृंखला एवं प्राकृतिक मनोरम दृश्यका साथै बुटवलदेखि भैरहवासम्म तथा आसपासका दृश्यावलोकन गर्न सकिन्छ । जहाँ पुग्न बुटवलको बेलवास शान्तिचोकदेखि पर्यटनमार्ग हुँदै मोटरबाटोबाट ११ किलोमिटर यात्रा गनुपर्दछ । त्यस्तै, बुटवलको फूलबारीबाट कर्णेल उजिरसिंह सिढीमार्ग बुटवल ४ बाट जाने हो भने करिब दुई घन्टाको पैदल दुरीमा पुग्न सकिन्छ ।
यो सिढीमार्ग नुवाकोट विकास समितिको पहलमा बुटवलस्थित नेपाली सेनाले करिब नौ महिनामा बनाएको हो । सेनाको नुवाकोट गढीको विकास तथा संरक्षणमा महत्वपूर्ण योगदान रहेको नुवाकोटस्थित कालभैरव कामना मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अनुपमान सैंजू बताउँछन् । बुटवल तथा पाल्पाका सेनाले सिढीमार्ग बनाउनेदेखि नुवाकोटमा विभिन्न संरचना बनाउन योगदान पुर्याएको सैंजुले बताए । नुवाकोट ऐतिहासिकस्थल भएकाले सेनाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने सेनाका अधिकृतहरू बताउँछन् ।

नुवाकोटमा भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषि कालदेवल–अशतोष)को आश्रमस्थल, ऐतिहासिक रानीकुवा र प्राकृतिक मनोरम दृश्य बोकेको अत्यन्तै रमणीय संरचना रहेका छन् । नुवाकोटमा नुवाकोट भ्यु–टावर, दरबार क्षेत्रमा पार्क निर्माणदेखि विभिन्न योजनाअनुरूप काम भइरहेकाले पर्यटनको केन्द्र बन्ने विश्वासमा पर्यटन व्यवसायी रहेका छन् ।
रुपन्देही र पाल्पाको मिलनबिन्दुका रूपमा रहेको नुवाकोट गढीमा पर्यटन विकासका लागि निजी क्षेत्रबाट करिब एक अर्ब मूल्यबराबरको लगानीको योजना अगाडि बढाइएको छ । बुटवलका पर्यटन व्यवसायी, उद्योगी, इन्जिनियरदेखि विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिको अगुवाइमा लगानी बढिरहेकोे छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको शीर एवं पाल्पाको तिनाउ गाउँपालिका (साबिकको दोभान गाविस)मा रहेको नुवाकोट गढीमा हिलसाइड भिलेज रिसोर्टदेखि केबुलकार सञ्चालनका योजना अगाडि बढाइएको छ । नुवाकोट पुग्ने सडक विस्तारले गति लिएसँगै यहाँ बन्ने संरचनाका कामले गति लिएको हो । पर्यटन व्यवसायी बुटवलस्थित न्यु इरा होटेलका सञ्चालक माधव नेपाल झन्डै ३० जनाको लगानीमा रिसोर्ट तथा केबुलकारको काम भइरहेको बताउँछन् । केबुलकार, रिसोर्ट तथा अन्य काममा अर्बौं लगानी हुने अनुमान गरिएको उनले बताए ।

नुवाकोट विकास समितिका अध्यक्षसमेत रहेका नेपाल शान्तिका अग्रदूत लुम्बिनी आउने पर्यटकका लागि विश्रामस्थलका रूपमा नुवाकोटलाई विकास गरिने बताउँछन् । ‘बुटवलको ऐतिहासिकस्थल जितगढी, मणिमुकुन्द सेन उद्यान र नुवाकोटको एकीकृत विकास गरी उत्कृष्ट पर्यटकीयस्थल बनाउँछौँ,’ नेपालले भने । उनले नुवाकोटमा बन्दै गरेका संरचनाले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै जितगढीबाट नुवाकोटसम्म सुरुङमार्ग बनाउन सकेको खण्डमा पर्यटक आकर्षित हुने बताए ।
८५ लाखको लगानीमा करिब आधा किलोमिटर तलबाट मोटर लगाएर पानी तानी नुवाकोटमा पु¥याउने कामसमेत भएको छ । चर्को गर्मी छल्न उपयुक्त स्थान हुने तथा अन्य मौसममा पनि यो स्थान रमणीय रहेको छ । नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिने लक्ष्य रहेको यहाँका लगानीकर्ता बताउछन् । बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु तथा नवलपरासीमा आउने पर्यटकलाई लक्षित गरेर योजना अगाडि बढेको हो ।

पर्यटक आकर्षण गर्न केबुलकार सञ्चालनको तयारीमा जुटेका बुटवल क्षेत्रका व्यवसायीहरूले बुटवल–नुवाकोट केबुलमार्गको अवधारणा अगाडि बढाएका छन् । बुटवलदेखि एक दशमलव सात किलोमिटरको दुरीमा चल्ने केबुलकारका लागि करिब ७० करोडको योजना अगाडि बढाइएको छ । नेपालका अनुसार केबुलकार सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । केबुलकारले बुटवल क्षेत्रको आर्थिक गतिविधिमा धेरै प्रभाव पार्ने तथा पर्यटन विकासमा ह्वात्तै फड्को मार्ने विश्वास यहाँका पर्यटन व्यवसायीहरूको छ । केबुलकार सञ्चालनका लागि राजेन्द्रसिंह गुरुङको अध्यक्षतामा समिति बनाइएको छ । पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण यस स्थानमा ०५९ मा भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा नुवाकोट विकास समितिले पर्यटन प्रवद्र्धनसहितका कामको थालनी गरेको हो । त्यस्तै, डाक्टर कृष्ण न्यौपाने अध्यक्ष रहँदा पनि यहा“को विकासमा विभिन्न पहल भएका थिए ।
सहरमा बसेकालाई पहाडको अनुभूति गराउने गरी यहाँ संरचनाहरू बन्ने छन् । पानी, बिजुली र सडकको कामसँगै एक वर्षसम्म रिसोर्ट सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको रिसोर्टका अध्यक्ष पिएल श्रेष्ठले बताए । एउटा मेडिटेसन हल निर्माण गरिनेछ, जहाँ योगासहितका गतिविधि हुनेछन् । त्यस्तै, डबल र सिंगल कटेज बन्दै छन् । जहाँ रेस्टुरेन्टदेखि सबै सुविधा हुनेछन् । २० देखि २५ करोड लगानीमा अगाडि बढाइएको कामअन्तर्गत ५० जनालाई आरामदायी बसाइको व्यवस्था मिलाउने संरचना बन्नेछ । दीर्घकालीन रूपमा ३० करोड रुपैयाँ बढीको लगानी गरिने सञ्चालक बताउँछन् ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया