आफ्ना माग सम्बोधन नभए बारुणयन्त्र र सरसफाइको सेवा समेत ठप्प पारिने
admin
२०७५ पुष ८, आईतवार १४:५४
नेपाल नगरपालिका कर्मचारी एशोसियसन एकाई समिति,बुटवल उप–महानगरपालिकाले आइतवार पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ । आइतवार पनि सो एकाईका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो आन्दोलनलाई अघि बढाइ रहेका छन् । बुटवल उप–महानगरपालिकाकी उप–मेयर गुमादेवी आचार्यले नगरपालिकाका कर्मचारीहरुले राखेका जायेज मागहरुप्रति आफूहरुको ऐक्यवद्धता रहेको बताउँदै नागरिकहरुलाई दिइने सेवाहरुप्रति सचेत रहन आग्रह गर्दै सरकारसँग छिटोभन्दा छिटो उनीहरुका मागहरुलाई सम्बोधन गर्न अनुरोध समेत गरिन् ।
मंसीर २८ गतेदेखि पौष ११ गतेसम्म पहिलो चरणको आन्दोलन हुने र सो आन्दोलनलाई समेत सरकारले सम्बोधन नगरेमा थप कडा आन्दोलनको तयारीमा आफूहरु रहेको सो एशोसियसनका केन्द्रीय कोषाध्यक्ष सितुप्रसाद श्रेष्ठले श्रीनगर अनलाईनलाई बताए ।
उनले भने–हामीहरुले आन्दोलन शान्तिपूर्ण तरिकाले गरिरहेका छौं ।
नागरिकका दैनिक कार्यहरु ठप्प पारिएता पनि अति आवश्यक सेवाहरुलाई सुचारु नै गरिएको जानकारी गराउँदै वारुणयन्त्रको सेवा र सरसफाइको सेवा निरन्तर सञ्चालन भईरहेको बताए । साथै उनले पहिलो चरणको आन्दोलनबाट सरकार सचेत नभए वा आन्दोलनलाई प्राथमिकताका साथ सम्बोधन नगरेमा त्यी अत्यावश्यक सेवाहरु समेत ठप्प पार्ने चेतावनी दिएका छन् ।
सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले नगरपालिकामा रहेका कर्मचारीहरुलाई विभेद गरेको,कर्मचारीहरुका बीच समन्वय गर्न नसकेको र निजामति कर्मचारीहरुलाई काखी च्यापेर आफूहरुलाई दोस्रो दर्जाको कर्मचारीका रुपमा हेरिएको जस्ता कुराहरु उठान गर्दै आएको सो एशोसियसनले आफूहरु पनि राष्ट्रसेवक कर्मचारी भएकोले विभेद नगर्न समेत चेतावनी दिएको छ ।
श्रीनगर अनलाईनको कार्यक्रम घुम्दैफिर्दै कार्यक्रममा उक्त एशोसियसनका केन्द्रीय सदस्य टीकाकुमारी भण्डारीले नगरपालिकाका कर्मचारीहरु पनि लोकसेवा आयोगबाट आएका कर्मचारीभन्दा कुनै मानेमा कमजोर नभएको र उनीहरुकै बराबरको शैक्षिक हैसियत मात्र होइन समुदायमा काम गर्ने क्षमता समेत भएकाले राज्यबाट कुनै हालतमा विभेदमा पार्न नहुने भन्दै राज्यले आफ्ना मागहरुले बेलैमा सम्बोधन गर्न समेत अनुरोध गरिन् ।
सोही कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत रामप्रसाद अर्यालले तत्कालीन राजाको बाहुलीबाट अर्थात् हुकुमी प्रमाङ्गीबाट बनेका कर्मचारी देशको मुख्यसचिव बन्न मिल्छ भने हामीले राखेका मागहरु कसरी नाजायज हुन सक्छ भनी सरकारसँग प्रश्न गरेका थिए ।
प्रतिक्रिया