
–दलबहादुर गुरुङ
जनयुद्धमार्फत नेपालीको मुहार फेर्न बन्दुक बोकेर हिँडेकी दिलकुमारी रोका मगर हिजोआज आफ्नै परिवारको जीवन धान्न च्याउ खेतीमा तल्लीन छन् ।

जतिबेला माओवादी जनयुद्ध आगोसरि सल्किँदै थियो, श्रीमान् वारेन्ट जारी भएकै कारण भारततिर भूमिगत थिए । तत्कालीन सरकार माओवादीप्रति बढी आक्रामक भएपछि म पनि जंगल पस्न बाध्य भएँ– दिलकुमारी भन्दै थिइन् । यो २०५३ साल माघ महिनाको कुरो हो ।
त्यतिबेला छोराछोरीहरु सानै थिए । ठूली छोरी सम्झना, कान्छी छोरी प्रतिभा र ढाई वर्षको छोरा तुफानलाई उनले युद्धकालीन समयमा घरमै सासूससुराका जिम्मा छाडेर हिँड्नुको पीडा कम्तीको छैन । आज उनीहरुमध्ये ठूली छोरीका तर्फबाट दिलमाया हजूरआमा बनेकी छन् । छोरा तुफानले बिहे गरेर पढ्न जापान पुगेको छ । कान्छी छोरीले स्टाफ नर्स गरेर नर्सिङ्ग होममा जागिर गर्छिन् ।
यी सबै प्रगतिको खुड्किलो च्याउ खेती पनि हो ।
शान्ति सम्झौता भएपछि उनी पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा परिवारसँगै आइपुगिन् । उनी पार्टीमा राजनीतिक संगठक थिइन् । तत्कालीन माओवादीको राज्य समितिको सदस्य समेत बनेकी उनी अहिले पाँच नम्बर प्रदेशमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्य समेत बनेकी छन् ।
जब पाल्पा दोभानमा आइपुगिन् अनि सुरु गरिन् च्याउ खेती तर उनीसँग च्याउ खेतीका लागि चाहिने ज्ञान थिएन, सीप थिएन अनि कसरी उत्पादन होस् र च्याउ ? उनलाई बाध्यताले च्याउ उत्पादन गर्ने ज्ञान, सीप सिकायो । त्यत्रिमात्र होइन उनलाई पत्रपत्रिकामा आएको च्याउको समाचारले पनि च्याउ खेती गर्ने तरिका सिकायो अनि फलाउन थालिन् च्याउ । पहिलो वर्ष उनले जसोतसो साँवा र आफ्नो ज्याला उठाइन् । पेटभरि च्याउको तरकारी पनि खाइन् ।
पहिलो वर्षको सिकाइले आजसम्म उनलाई च्याउ खेतीमा पछाडि फर्किन परेको छैन । दोभानको भूतखोला गाउँमा उनले च्याउ उत्पादन थालेपछि विस्तारै अरु गाउँलेहरुले पनि च्याउमा चासो बढाएका छन् ।

च्याउ खेतीबाट बर्सेनि आम्दानी गर्दै गर्दा उनले परिवारको शिक्षादीक्षा मात्र होइन बचत गर्ने बानी बसालेकी छन् । दुई तले पक्की घरमा च्याउको आम्दानी मिसाएकी छन् । छोरालाई जापान पठाउन सहयोग गरिन् । घरखर्च च्याउले नै धानेको कुरा दिलकुमारीले भनिरहँदा छोरीलाई स्टाफ नर्स पनि च्याउकै आम्दानीले पढाएकी रहिछन् ।
शान्ति सम्झौतापछि कामविहीन अवस्थामा च्याउ खेतीले उनको परिवारमा नयाँ बहार लिएर आयो । दिलकुमारी भन्छिन्– साँचो कार्यकर्ताहरुको दिनचर्या शान्ति सम्झौतापछि हाम्रो जस्तै दुःखद् थियो । तर हामीलाई च्याउ उत्पादन गर्ने सीपले नयाँ जीवन दियो, बाँच्न सिकायो, मिहिनेत गर्न सिकायो । बन्दुक बोक्दाको जुन साहस थियो, बिसाउँदाको पीडा कम्तीको थिएन । जीवन रोटेपिङजस्तै रहेछ । लामो सुस्केरा हाल्दै दिलकुमारीले विगत सम्झिन र च्याउको डल्लोलाई छुँदै दुःख बिसाइन् ।
उनले गएको वर्ष च्याउ बेचेर करिबकरिब चार लाख आम्दानी गरिन् । त्यसमध्ये बचत दुईलाख पचास हजार नाघेको दिलकुमारीले सुनाइन् । त्यतिबेला उनको अनुहार खुसीले धपक्क बलेको थियो ।
च्याउ बनाउन उनले अघोरै मिहिनेत गर्छिन् । कुखुराको डाँकोले बिहानै उनका आँखा उघार्छन् । राति अबेरमात्र सुत्ने समय मिल्छ । उमेरले दुईबिसे सात चढ्दै गरेकी उनमा जोस, जाँगर र आँटले भने १७ को उमेर भेटिन्छ । आफ्ना सन्तानलाई भन्दा बढी च्याउलाई स्याहारसुसार र हेरविचार गर्ने दिलकुमारीले युद्धकालीन समयमा नै श्रम गर्ने संस्कार सिकिन् । श्रमले नै संसार जित्न सकिन्छ भनेर उनले त्यहीँ जानिन् ।
च्याउको चिन्ताभन्दा पनि कसरी धेरै र राम्रो फलाउने भनेर चिन्तन गर्छिन् । च्याउलाई रोगबाट बचाउने तरिका सिक्छिन् । च्याउमा लाग्न सक्ने हरिया, काला, सेता भाइरस र भुसुनाका बारेमा उनलाई राम्रो हेक्का छ । त्यो कुनै विश्वविद्यालयका कक्षामा र पुस्तकमा पढेकी होइनन् । बरु त्यो कुरा उनले आफ्नै च्याउ बनाउने घरेलु प्रयोगशालामा सिकेकी हुन् । दिलकुमारी सामान्य साक्षर हुन् तर च्याउ खेतीमा पढेलेखेका कृषि विज्ञभन्दा उनको व्यावहारिक ज्ञानमा कुनै कमी देखिँदैन ।
दिलकुमारीको निरन्तरको अभ्यास, मिहिनेत गर्ने स्वभाव, काम गरेर नै जीवन उकास्न सकिन्छ भन्ने दृढ विश्वासले नै आज राजनीतिसँगै च्याउमा अघि बढाएको छ । काम गरेर खान केको लाज, कम्युनिस्ट हुनु भनेको कर्तव्य वा कामप्रति निष्ठ हुनु हो– दार्शनिक जवाफ दिन्छिन् ।

च्याउका लागि पराल काट्छिन्, पराललाई राम्ररी धुन्छिन् । त्यसलाई स्टीम (उसिन्ने काम) गर्छिन् । सेलाउन हाल्छिन् । प्लास्टिकमा हाल्नुअघि च्याउको बिउ मिसाउँछिन् । दुई सय ग्राम च्याउको बिउले एउटा र आधी डल्ला वा बल बनाउन सकिने जानकारी गराउँछिन् । साथै एउटा डल्ला वा बल तयार गर्न करिब दुई सय रुपैयाँ खर्च लाग्ने गर्छ । तयारी अवस्थामा रहेको च्याउको डल्ला वा बललाई सियोले घोंचेर हावा ओहोरदोहोर गराइँदो रहेछ तर त्यसमा पारिएको प्वालबाट च्याउका टुसाहरु बाहिर निस्किँदा रहेछन् जो हेर्दै रहर लाग्दा देखिन्छन् । एउटा डल्ला वा बलबाट बढीमा ३÷४ किलो च्याउ उत्पादन हुन्छ भने पहिलोपटक २÷३ किलो च्याउ टिप्न सकिँदो रहेछ ।
यस वर्ष असोजको दोस्रो साताबाट कन्ये च्याउ खेतीमा लागेकी उनले कार्तिकको पहिलो सातामा च्याउ टिपेर हातमा हरिया नोट गन्न थालेको कुरा सुनाइरहँदा हजुर आमाको कथा जस्तै लाग्छ सबैलाई । यी कुरा सुनिरहँदा विश्वविद्यालयको कुनै प्रोफेसरको लेक्चरभन्दा कम लाग्दैन थियो । यस वर्ष उनले आठ सय प्याकेट डल्ला वा बल तयार पारेकी छन् । गएको वर्ष उनले एक हजार थान बल तयार पारेकी थिइन् ।
कार्तिकको पहिलो साता नै उनले करिब एक हजार क्विन्टल च्याउ टिपिसकेकी छन् । त्यसबाट उनले एकलाख ५० हजार आम्दानी गरिसकेकी छन् । एउटै बल वा डल्लाबाट पटकपटक च्याउ टिप्न सकिने रहेछ तर पहिलोपटकको तुलनामा क्रमशः उत्पादनमा कमी आउने उनले सुनाइन् । बजारमा दुई सय रुपैयाँमा फुटकर बिक्री हुन्छ भने घरमै थोक किन्न आउनेहरुले एक सय ५० रुपैयाँ नगदमा किन्दा रहेछन् । च्याउलाई बजारको कुनै कमी छैन ।
दिलमायाले कुनै पनि कुरा दिल खोलेर सुन्छिन् र आफ्नो तर्क पेस गर्छिन् । च्याउमा लाग्ने रोगको घरेलु उपचार र सुरक्षित राख्ने पद्धतिका बारेमा उनलाई धेरै जानकारी रहेछ । उनी सानोतिनो जेटीए नै हुन् ।
दिलकुमारीको माइती गाउँ रोल्पाको खुमिल हो । पछि उनीहरुको परिवार बसाइँ सरेर अर्घाखाँचीमा आइपुग्यो । २०३६ सालतिर उनको परिवार फेरि कपिलवस्तुको शिवगढी गाउँमा सरेको थियो । उनै दिलकुमारीले २०४५ सालमा बिहे गरिन् । बिहे हुनुताका उनको उमेर १७ वर्षको थियो ।
किशोर उमेरमा बिहे गर्दाको पीडा उनको जीवनमा शूल बनेर आइरहन्छ । दिलकुमारीका श्रीमान् अहिले प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य छन् । चुनावमा प्रत्यक्ष तर्फका उम्मेदवार भएकै कारण पैसा खर्चिनु पर्ने बाध्यकारी अवस्था आयो । दिलकुमारीले भन्दै थिइन्– श्रीमान्लाई सांसद् बनाउँदा चुनावमा खर्च भयो, सांसदवापत प्राप्त हुने तलब, भत्ताले ब्याज तिर्न पनि पुग्दैन । मैले च्याउ खेतीबाट कमाएको पैसाले चुनावी खर्चको ब्याज तिर्दैछु । हुन त दिलकुमारी रोकाले पनि स्थानीय तहको निर्वाचनमा तिनाउ गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् तर पराजित हुनु परेको पीडा भुलिनसक्नु भएको बताइन् ।
च्याउबाट उँभो लाग्न सकिने तर्क पेस गर्दै आएकी दिलकुमारीले बारैमास च्याउ खेती गर्ने योजना बुनेकी छन् । आफ्नो घरमा एसी जोडेर भए पनि बेमौसमी च्याउ उत्पादनमा जोड दिने संकल्प कसेकी दिलकुमारीले पाल्पा दोभानको च्याउलाई प्याकिङ्ग गरी ब्रान्ड दिन सकिएमा च्याउ खरिदकर्ताहरु ढुक्क भएर च्याउ खान सक्ने र च्याउ उत्पादकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास प्रकट गर्छिन् । त्यही भएर नै उनीहरुले अर्घाछाप च्याउ पकेट एरिया बनाएर नैना क्षेत्रीको संयोजकत्वमा कामहरु अघि बढाइरहेका छन् । भविष्यमा गोब्रे च्याउ र सिताके च्याउ उत्पादन गर्ने रहर पलाएको दिलकुमारीले सुनाइन् ।
दिलकुमारीका संघर्षमय दिनहरु न त युद्धकालीन समयमा न त वर्तमान घरायसी समयमा कम भएको छ । बरु उनले सोचेकी छन्– च्याउबाटै चमत्कार देखाउने छु ।

गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया