हरिबोधनी एकादशीको अवसर पारेर पाल्पाको सिद्धबाबा मन्दिर विकास समितिले सदाको वर्षमा जस्तै तिलोत्तमा नदी वारपार हुने गरी सोमवार विहान तोरण टाँगेको छ । सोमवारकै दिन एकादशी परेको हुँदा पनि मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो ।
मन्दिरमा पूजाआजा गर्न आएका भक्तजनहरु, मन्दिर विकास समितिका पदाधिकारीहरु र मन्दिरका पूजारीहरुको सहयोगमा बाबियो बाटेर तोरण तान्न काम भएको मन्दिर विकास समितिका सचिव अमर प्रधानले बताए ।
विगत १२ वर्षदेखि मन्दिरले मन्दिर परिसरदेखि तिलोत्तमा नदी पारिसम्म तोरण टाँग्ने काम गर्दै आएको समितिकी सदस्य सावित्रा पाण्डेयले बताइन् । भजनकीर्तन र बाजागाजा सहित तोरण टाँग्ने चलन रहेको र सो परम्परालाई निरन्तरता दिन यस वर्षको हरिबोधनी एकादशीमा समेत तोरण टाँग्ने काम गरिएको पण्डित लक्ष्मी प्रसाद सापकोटाले बताए ।
विशेष गरेर उक्त एकादशीमा तुलसीको विहे गरिदिने चलन रहेको र धार्मिक परम्परा अनुसारका गतिविधिहरु सिद्धबाबा मन्दिरमा हुँदै आएको समितिका सहायक पण्डित पुरुषोत्तम बस्यालले बताए ।
प्रतिक्रिया