
–दल बहादुर गुरुङ
सत्यवती बजैको मेला
परिचयः
पाल्पा जिल्लाको दक्षिणभेगमा तिनाउ गाउँपालिका पर्दछ । ऐतिहासिक,धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले तिनाउ धनी गाउँपालिकामा गनिन्छ । यो गाउँपालिकाले वन,वातावरण र जैविक विविधताको दृष्टिले समेत प्रख्याति कमाएको छ । सांस्कृतिक महत्व बोकेको क्षेत्र पनि हो । पुराना लोक संस्कृति ,रीतिरिवाज र मान्दै आएका पर्वहरुले समेत यस गाउँपालिकालाई आफ्नै पहिचान दिने गरेको छ ।
तिनाउ गाउँपालिकामा छवटा वडाहरु छन् । ती मध्ये वडा नं.४ मा पर्ने सत्यवती वजैको मन्दिरमा कार्तिके पूर्णिमामा भव्यरुपमा मेला लाग्दछ । यहाँ जोग परेको बेला लाख बढी श्रद्धालु भक्तजनहरु पूजाआजा गर्न आइपुग्छन् । सत्यवती वजैको मन्दिरमा चिच्याएर वर माग्ने चलन छ । वजैले कान नसुन्ने भएकाले चिच्याएर वर माग्नु पर्ने गाउँलेहरु बताउँछन् । यस्तो चलन भने नयाँ होइन ।
वजैको मन्दिरसंग बाजेको पनि मन्दिर छ । मन्दिरको छेवैमा सत्यवती ताल पनि छ । चार रोपनी जग्गामा फैलिएको सो ताल चुरे र सीमसार क्षेत्रमा पर्ने दुलर्भ ताल हो । सम्भव त चुरे र सीमसारमा पर्ने थोरै तालहरु मध्ये यो ताल पनि एक हो । तालको वरिपरि फूट ट्रेल बनाइएको छ । श्रद्धालु एवम् पर्यटकहरुलाई आराम गर्नका लागि सेडहरु निर्माण गरिएका छन् ।
मन्दिरको छेवैमा तालको नजिक बलिदिने स्थान तोकिएको छ । परेवा चढाउने यहाँको पुरानै चलन हो । विशेष गरेर नेपालका सबै जिल्लाहरु र भारतबाट समेत यहाँ पूजाआजा गर्न भक्तजनहरु आइ पुग्छन् । लिगों गाड्ने चलन अझ्ै पनि छ । प्रायः गरेर भक्तजनहरु सो तालको वरिपरि तीनपटक घुमेर चिच्याएर वर माग्ने गरेको देखिन्छ । चिच्याएर वर माग्ने कारणले रमाइलो पनि उस्तै हुन्छ ।
मागेको वर पुग्ने भएकैले होला सत्यवती धार्मिक वनको बीचमा रहेको सो मन्दिरमा श्रद्धालु भक्तजनहरु सकि नसकि पुग्ने गरेको पाइन्छ । यहाँ आइपुग्न कच्ची मोटर बाटोको प्रयोग गर्न सकिन्छ तर पुल नभएको हुँदा हिउँदे बाटोको रुपमा मात्र सो बाटोको प्रयोग हुने देखिन्छ ।
सत्यवती गाउँ मगरजातिको घना बस्ती हो । साविकको कोल्डाँडा गाविसको वडा नं. १ र ४ मा पर्ने सत्यवती वजैको मन्दिरमा बलिदिनेहरुको पनि उस्तै भीड लाग्छ । आफूले मागेको वर पूरा भएपछि भक्तजनहरुले बोकोको बली दिने चलन छ । कुखुराको भाले चढाउने चलन समेत रहेको छ । साथै साकाहारीले परेवा उडाएर खुसी मनाउँछन् ।

कहिले लाग्छ त यसपालीको मेला ः
२०७५ मंसिर ५ देखि ७ गतेसम्म
मेलामा कसरी आइपुग्ने ः
मेलामा पुग्न बुटवलबाट झुम्सा पानीमीलबाट पूर्वदिशामा करिव ६ किमी पैदल हिड्नु पर्छ । उकालो तेर्सो बाटो पैदल करिव डेढ घण्टाको यात्रापछि मेला स्थल आइपुग्न सकिन्छ ।
पाल्पाको तानसेनबाट मोटरमा आएर चर्चरे वा चौबीसमाईल झरेर पैदल करिव दुईघण्टाको उकालो बाटो बाटेपछि मेला स्थल आइपुग्न सकिन्छ ।
मेलामा पाइने सेवाहरुः
सुरक्षाकर्मीहरुबाट सुरक्षा सेवा
प्राथमिक उपचार सेवा
मन्दिरको दर्शनका लागि उचित व्यवस्थापन
सत्यवती तालको परिक्रमा
बस्नका लागि सेडहरुको व्यवस्था
पिउने पानीको उचित प्रवन्ध
मेलामा फूलप्रसादी तथा माला,फोटो किन्ने व्यवस्था
खाजा तथा खानाको व्यवस्था
गाउँमा होमस्टेको सुरुआत्ः
सामुदायिक वन समन्वय समिति,दोभानको पहलमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति,डिभिजन वन कार्यालय,पाल्पाको सहयोगमा यहाँ पाँच घरबाट होमस्टेको सुरुआत् तथा व्यवस्थापन थालिएको छ । पछिल्लो समय तिनाउ गाउँपालिका एवम् अन्य गैह्सरकारी निकायहरुले समेत आर्थिक,भौतिक एवम् नैतिक सहयोग प्राप्त हुँदैछन् । प्रदेश सभाका उद्योग,पर्यटन ,वन तथा वातावरणीय मन्त्री माननीय लिला गिरी ज्यूले सो होमस्टे(घरबास)को उद्घाटन सम्पन्न भएको थियो ।
भविष्यको सोचः
वडाध्यक्ष दान बहादुर गाहा मगरका अनुसार सत्यवती वजैको मन्दिर,ताल र यस गाउँमा टेलिफोनको सुविधा पुगि सकेको छ । विजुलीको समस्या समाधान भइ सकेको छ । निकट भविष्यमा यस गाउँलाई सूचनाको गाउँ बनाउने आफूहरुको सोच रहेको बताए । नेटको सुविधा सबैलाई दिने र एकघर एक नेटको प्रवन्ध मिलाउन सकिएमा सत्यवती गाउँको सूचना संसारभर फैलाउन सकिने उनको तर्क रहेको छ ।
गाउँपालिको आर्थिक सहयोगमा यस मन्दिर,तालको डिपीआर बनाउने तयार भइ रहेको छ । पर्चा सामग्रीहरु प्रकाशन र प्रसारण गरी सत्यवती वजैको गाउँलाई विश्व सामू चिनारी दिने र पर्यटकीय दृष्टिले नयाँ पहिचान दिन गाउँपालिका कम्मर कसेर लागेको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरको भनाइ छ ।
सत्यवती ताल संरक्षण विकास समितिको नाममा दर्ता भएको यो ताल र मन्दिरको विकासका लागि स्थानीय सरकार,स्थानीय गैह्सरकारी निकायहरु पनि उत्तिकै क्रियाशील छन् । गाउँलेहरुलाई मेलाले संस्कृति संरक्षणका लागि सहयोग पुराएको छ । आर्थिक उपार्जन भएको छ ।
थप जानकारीका लागि
अध्यक्षः सुनवीर गाहा मगर( ९७४७०५०५४५) सचिवः लाल बहादुर दर्लामी मगर (९८४७४०४२८८)
वडाध्यक्षः दान बहादुर गाहा मगर(९८४७२६०९४९) गाउँपालिका अध्यक्षः ओम बहादुर घर्तिमगर(९८४७०२८४९५)
………………………………………….धन्यवाद्………………………………………………
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया