अजम्बरध्वज खातीको ८४ औं वर्षगाँठसंगै साहित्य संगम,बुटवलको २८७ औं साहित्य श्रृङ्खला जीवराज आश्रित स्मृति प्रतिष्ठान,बुटवलमा सम्पन्न भयो ।
कार्यक्रमका मुख्य अतिथि कविवर रामचन्द्र भट्टराई र कार्यक्रमका अध्यक्ष साहित्यकार कपिलबन्धुले कवि अजम्बरध्वज खातीलाई माला र खादा ओढाएर सम्मान ब्यक्त गरेका थिए । सहभागी सबै साहित्यकारहरुले अजम्बरध्वज खातीको सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका थिए ।
कविवर भट्टराईले कवि अजम्बरध्वजप्रति सम्मान ब्यक्त गर्दै साहित्यकारहरुले प्रजातन्त्र,लोकतन्त्रका साथै गणतन्त्र ल्याउनमा उल्लेखनीय भूमिका निर्वाह गरेता पनि राज्यले साहित्यिक श्रष्टाहरुलाई राम्रोसंग सम्मान गर्न नसकेको र पछिल्लो समय राज्यप्रति नै आमनागरिकहरु झनभन्दा झन् विरोधी बन्दै गएको बताए । राज्यले सबै नागरिकहरुलाई उतिकै ध्यान दिनु पर्ने बताउँदै साहित्यकारहरु समाजलाई गोरेटो देखाउने द्रष्टा समेत रहेको बताए ।
कार्यक्रममा अजम्बरध्वज खातीले युवाहरुलाई नै राष्ट्रको सम्वाहक ठानेको बताउँदै साहित्यकारहरुले कलमलाई तिखार्ने मात्र होइन निखार्नका लागि पनि तयार हुनुपर्ने बताए । २०१२ सालदेखि निरन्तर लेख्दै आएका खातीले आफ्नो साहित्यिक प्रेरणाको स्रोत भने घरमै हलीका रुपमा रहेका सिंजाली माइला दाइ रहेको सुनाए । सिंजाली माइला भानुभक्तका लागि घाँसी जस्तै ठहरिएको खातीले बताए ।
सो कार्यक्रममा कवि दल बहादुर गुरुङ,मीन राना,हरिप्रसाद पौडेल,सरिता श्रीस,होमनाथ शर्मा,सीता ढुंगाना,गुरुप्रसाद बुलबुल,कृष्ण गाउँले,चण्डिका प्रसाद काफले,शंकर भण्डारी लगायतले आफ्ना रचना वाचन गरेका थिए । साथै असल श्रोताका रुपमा पत्रकार लक्ष्मण श्रेष्ठ,फोटो पत्रकार मनिष पन्थ,टेक प्रसाद घिमिरे,ओम प्रकाश चौधरी रहेका थिए ।
कार्यक्रमको अध्यक्षता साहित्यकार देवेन्द्र घिमिरेले गरेका थिए भने समीक्षकका रुपमा कवि गिरि श्रीस मगर रहेका थिए । संगमले २८८ औं साहित्यिक श्रृङख्लाका लागि कवि मीन बहादुर रानालाई संयोजकका रुपमा तोकेको छ ।
प्रतिक्रिया