ज्येष्ठ नागरिक भवन निर्माण कार्य स्थगित (भिडियो सहित )
admin
२०७५ कार्तिक ४, आईतवार १२:१७
ज्येष्ठ नागरिक भवन निर्माण कार्य स्थगित
शुद्धोदन गाउँपालिका वडा नं.३,को सखुवानी गाउँमा निर्माण प्रारम्भ भएको ज्येष्ठ नागरिक भवनको निर्माण कार्य पछिल्लो समय स्थगित भएको छ । मोतीपुर अमुवा औद्योगिक कोरिडोरभित्र पर्ने भनी सो भवनको निर्माण कार्य सोही वडाका वडाध्यक्ष हेम बहादुर खड्काले माथिको आदेश देखाई मौखिक रोक्का गर्न निर्देशन दिएपछि भवन निर्माण कार्य स्थगित भएको सो निर्माण समितिका सहसंयोजक शिवलाल आचार्यले बताए ।
करिव एक हजार विघा जग्गामा नेपाल सरकारले प्रस्ताव गरेको मोतीपुर–अमुवा औद्योगिक कोरिडोरभित्र पर्ने सो भवन निर्माणका लागि स्थानीयहरुले महायज्ञ मार्फत सक्दो आर्थिक दान गरेका थिए । वृद्धाहरुले आफूहरुले प्राप्त गरेका वृद्धाभत्ता समेत सोही ज्येष्ठ नागरिक भवन निर्माणका लागि चन्दा समेत दिइ सकेका छन् । स्थानीय ८ ३ वर्षीया अम्बिका आचार्यले भनिन्–सो भवन बनेमा हामी बृद्धाहरुलाई भजनकीर्तन गर्न सजिलो हुने र दैनिक पूजाआजा गरी स्वर्ग जाने बाटो खुल्ने छ ।
श्री सच्चिदानन्द परमव्रम्ह धामको नाममा तत्कालीन सौ पर्साटिक गाविसद्वारा हस्तान्तरण गरिएको करिव एक विघा सरकारी जग्गामा निर्माण हुन थालेको उक्त भवन रोक्का हुँदा स्थानीय शुद्धोदन गाउँपालिकाबाट प्राप्त पाँच लाख रुपैयाँ र सियारी गाउँपालिकाबाट प्राप्त एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग बालुमा पानी सावित भएको सो धामकी अध्यक्ष धन कुमारी अर्यालले बताइन् । उनका अनुसार महायज्ञबाट उठेको सवा करोड रुपैयाँ समेत सोही क्षेत्रमा लगानी गर्न नसकिएको बताइन् ।
वृद्धाहरुलाई हुने अल्जाईमर(बिर्सिने) र पार्किनसन्स(हात काम्ने) रोगले ग्रस्त विरामीहरुलाई सचेतना कार्यक्रम दैनिक सञ्चालन गर्ने र उपचारका लागि व्यायाम गराई न्यूनीकरणका लागि समेत पहल गर्न लागि सो ज्येष्ठ नागरिक भवन गराउन थालिको अध्यक्ष अर्यालले जानकारी गराइन् ।
वृद्धाहरुलाई आराम गर्ने अनि दिवा वृद्धाश्रमको रुपमा विकास गर्ने उद्देश्यका साथ सो भवन बनाउनका लागि जग हाल्ने काम र पहिलो तल्लोका पिल्लर समेत उठाइ सकिएको भएता पनि अहिले भवन निर्माण कार्य रोकिएको छ ।
सो धामभित्र थारु संग्रहालय,आध्यमिक अनुसान्धान केन्द्र,उत्तरवाहिनी नदी तटमा मन्दिर,परशुराम पार्क र ज्येष्ठ नागरिक भवन तथा वाटिका बनाउनका लागि गुरुयोजना तयार बनाई सकिएको धामकी अध्यक्ष अर्यालले बताइन् ।
सरकारले बनाउन थालेको औद्योगिक कोरिडोरभित्र पनि मन्दिर,आश्रम र बाटिका जरुरी हुने भएको हुँदा सोही अुनसार डिपिआरमा समावेश गरी निर्माणधीन कार्यलाई अगाडि बढाई दिनका लागि स्थानीयहरुले माग समेत गरेका छन् । उनीहरुले यस ठाउँको विकल्प नखोज्न समेत सरकारसंग अपील गरेका छन् । त्यसो भएमा स्थानीय बासिन्दाहरुले धर्ना कस्न बाध्य हुने समेत बताए ।
प्रतिक्रिया