मंगलवार एक कार्यक्रमका बीच बुटवलमा लकडाउन भाग २ तीजगीत एवम् भिजुअल् सार्वजनिक भएको छ ।
कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउन पुगेका मृतकलाई कथाबस्तु बनाएर रचिएको गीत र निर्माण भएको भिजुअल् वियोगान्त,मर्मस्पर्शी र अत्यन्तै संवेदनशील छ । गीतको भिअुअल् हेरिरहँदा र गीत सुनिरहँदा आँखा नरसाउने र मनमा पीर नपर्ने सायदै होलान् ।
श्रीमान् गुमेकी कलाकारको अभिनय गरेकी ईरा भट्टराईको जीवन्त अभिनयले मन धरक्क रुवाउँछ अनि मन भक्कानिन्छ । सायद कोरोनाले श्रीमान गुमाउने महिलाहरुका कथा योभन्दा कम्तिको छैन । अक्सिजनको अभाव,बेडको अभाव र आर्थिक अभावका कारणले कोरोना पीडितहरुले असामयिक मृत्युवरण गर्नुपरेको सत्यकथा गीत र भिजुअलमा पाइन्छ ।
लामो समयसम्म छायाँकन,निर्देशन र सम्पादन गर्दै आएका मनीष पन्थको अभिनय दमदार छ । उनी भन्दैथिए–अभिनयमा मृत्यु भएको र श्रद्धाञ्जलीका लागि फोटो राख्नु पर्ने अवस्था छ । भूमिका निर्वाह गर्ने हो ? धेरै कलाकारहरुले जिभ्रो टोके,र मर्न सकिन्न भनें । कलाकारको अभाव रह्यो र आफैले भूमिका निर्वाह गरें । कलाकारले जस्तोसुकै भूमिका निभाउन सक्नुपर्छ ।
गीतको रचना र लय संकलकका रुपमा चिरन बराल छन् । उनले पुरानो संस्कृति र संस्कार झल्काउने गीत दर्शक,स्रोताका माझ ल्याएका छन् । गीतमा उनी डाक्टरको भूमिकामा छन् । कोरोनाले सबैलाई सताएको बेला आफूलाई समेत बसीखान नदिएकै कारण सो गीतको रचना गर्न बाध्य रहेको बरालले बताए ।
पत्रकारहरुका तर्फबाट अस्मिना पाण्डेयले गीत राम्रो र भिजुअल् उत्तम रहेको प्रतिक्रिया दिएकी थिइन् ।
भिजुअल् प्रदर्शनपछि संस्कृतिकर्मी झपेन्द्रबहादुर जीसीले तीजगीत र भिजुअल् अत्यन्तै सान्दर्भिक निर्माण भएको, तीजगीतको मर्मलाई समाएको,सामयिक विषयलाई छोएको र कलाकारहरुले खुबै मिहिनेत गरी अभिनय गरेर सबैको मन खिचेको बताए ।
तीजपर्व सम्बन्धी खोज,अध्ययन र अनुसन्धान गरी पुस्तक समेत प्रकाशन गरेका उनले लकडाउन भाग २ गीतले सबैका मनमा बास बस्ने बताउँदै आवश्यक परिमार्जनसहित अघि बढे सुनमा सुगन्ध थपिने बताए ।
भिजुअल सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले भनिन्–गीत र भिजुअल् अत्यन्तै मन छुने बनेको,गीतले पुराना र नयाँ पुस्तालाई जोड्ने सेतूको काम गरेको, परम्परागत तीजको मान्यतालाई पक्रिदै सामयिक घटनालाई छोपेको कारणले गीत र भिजुअलले बजार पाउने बताए ।
श्रीनगर फिल्मस् प्रोडक्सन प्रा.लि.का सञ्चालक मनीष पन्थको अध्यक्षतामा सार्वजनिक गरिएको उक्त तीजगीत तथा भिजुअल् कार्यक्रमको सञ्चालन डीबी गुरुङले गरेका थिए ।
प्रतिक्रिया