
साउन १४, २०७८
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा कतिपय मासु पसल मापदण्ड विपरीत र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएको छ ।
अस्वस्थकर र सडेको अवस्थामा राखिएका त्यस्ता माछामासुजन्य पदार्थलाई अनुगमन समितिले नियन्त्रणमा लिएर रोहबरमा नष्ट गरिएको अनुगमन समिति संयोजक तथा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।
अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछामासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको र त्यसलाई नष्ट गरिएको अनुगमन समिति संयोजक तथा उपप्रमुख आचार्यले बताइन् ।
उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख पशु चिकित्सक झविन्द्र बञ्जाडेले विभिन्न ६ वटा पसलबाट करीब ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछामासु नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए । उनले ती पसललाई सुधार गर्न र उपभोक्तामैत्री बनाउन निर्देशन दिइएको पनि बताए ।
बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोड स्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन भएको थियो । अनुगमनका क्रममा कतिपय मासु पसलमा सुधार हुने क्रममा रहेको र कतिपयले सुधार गरिरहेको पाइएको थियो । यद्यपि अधिकांशमा अस्वस्थकर र सडेका परिकार विक्री वितरण गर्ने गरेको पाइएको उपमहानगरको अनुगमन समितिले जानकारी दिएको छ ।
अनुगमनका क्रममा बुटवलको नेपालगन्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाइनस्थित भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासू नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा अस्पताललाइनस्थित भुडकी चोकमा रहेका ताहिर मासु पसलमा अनुगमन गर्दा २५ किलो मासु सडेको र खसी तथा बोकाको भनुर बाख्रीको मासु बेच्न राखेको पाइएपछि मासु नष्ट गरिएको थियो ।
नगरपालिकाका प्रेस सल्लाहकार अमृत गिरीले उपभोक्ताको अहित हुने गरी बेचबिखनका लागि राखिएको पाइएपछि नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए ।
बुटवलको सब्जीमण्डीस्थित सटरमा टोलछिमेकमै दुर्गन्ध फैलाउने गरी मासु पसलहरू सञ्चालन भएको पाइएको छ । त्यहाँका करीब आधा सटरहरूमा अव्यवस्थित तरिकाले मासु पसल सञ्चालन भएको पाइएपछि तिनलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।
सटरमा राँगा, पाडा तथा भैंसीको समेत मासुलाई अस्वस्थकर तरिकाले बिक्री वितरण गर्ने गरेको र छाला र हड्डी समेतलाई असरल्ल रूपमा दुर्गन्ध फैलाउने गरी भण्डारण गर्ने गरेको पाइएको छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…

