
११ चैत, बुटवल ।
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् ।
यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज–ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनले बीच सडकमा रुख राखेर कालोपत्रे गरेपछि अहिले यसको चौतर्फी आलोचना भइरहेको छ ।
वीरगञ्जदेखि ठोरीसम्मको उक्त सडकखण्डलाई दुई भागमा विभाजन गरी हुलाकी सडक आयोजना कार्यालयले दुई ठेकेदार कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ ।
यसअघि कैलाली लगायतका अन्य जिल्लामा पनि बीच सडकमा रुख छाडेर सडक कालोपत्रे गरिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकमा यस्तो लापारबाही हुनु हास्यास्पद भएको स्थानीय वासिन्दा बताउँछन् ।
वीरगञ्जदेखि चमरीहोलसम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ ।
चमरीहोलदेखि ठोरीको चौतरासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनलाई दिइएको छ ।
बीच सडकमा रुख राखेर कालोपत्रे गरेको कालिका बानियाँ जेभी कन्सट्रक्सनले ३० किलोमिटरमध्ये करिब २५ किलोमिटर सडक निर्माणको काम सकिएको दाबी गरेको छ ।
बाँकी ५ किलोमिटर सडक निर्माणको काम चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरेका रोकिएको निर्माणकर्ता कम्पनीले जनाएको छ ।
सडकखण्ड क्षेत्रमा पर्ने रूख कटानका लागि पटक पटक इजाजत माग्दा निकुञ्जले अनुमति नदिएपछि बीच सडकमा सालको रूख छाडेर कालोपत्र गरिएको निर्माणकर्ता कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले बताए ।
न्यौपानेका अनुसार ठोरी गाउँपालिका-३ स्थित शिकारीबास पुल नजिकै दुईवटा सालको रुखलाई बीच सडकमा पारेर कालोपत्रे गरिएको छ ।त्यसैगरी वडा नम्बर २ स्थित व्यारेक डाँडामा पनि एउटा रुखलाई सडकको बीचमा पारेर कालो पत्रे गरिएको उनले बताए ।
न्यौपानेका अनुसार ठोरी गाउँपालिका अन्तर्गत वडा नम्बर १–४ सम्म गरी सडकखण्डमा पर्ने करिब डेढ दर्जन रुख काट्नुपर्नेछ ।
ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठ भन्छन्, ‘चितवन राष्ट्रिय निकुञ्जको बफरजोन (मध्यवर्ती क्षेत्र) भएर सडक निर्माण भइरहेकोले त्यसलाई रोक्न निर्देशन दिएको छ । त्यसपछि वडा नम्बर १ र २ मा सडक निर्माणको काम प्रभावित बनेको छ ।’
अध्यक्ष श्रेष्ठ भन्छन्, ‘बीच सडकमा रुख राखेर कालोपत्रे गर्नुका कारण र ५ किलोमिटर क्षेत्रमा काम रोकिनुको बारेमा हुलाकी सडक आयोजनाका डिभिजन इन्जिनियर (डीई) दारोगाप्रसाद साहसँग जानकारी लिने काम भएको छ ।’
डीई साहले बीच सडकमा रुख राखेर कालोपत्रे गर्ने व्यक्तिको तीनपुस्ते जानकारी गराउन निकुञ्जबाट परिपत्र भएको र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएभन्दा बढी काम भएकोबारे पनि जानकारी माग गरेको जानकारी आफूलाई दिएको अध्यक्ष श्रेष्ठले बताए ।
निकुञ्जको उक्त परिपत्रपछि ठेकदार कम्पनी काम रोकेर फर्कन थालेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘शिकारीबास क्षेत्रमा कम्पनीले दुईवटा सालको रुख राखेर कालोपत्रे गरेको छ,’ उनले भने, ‘निकुञ्जले रुख कटानको अनुमति नदिएका कारण ठेकदारले बीचमै रुख राखेर कालोपत्रे गरेको बताएको छ । यसरी कालोपत्रे हुनु दुःखद् कुरा हो ।’
राष्ट्रिय गौरवको आयोजनामा यसो हुन नहुने बताउँदै गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, ‘राज्यले ध्यान नदिएकै कारण मैले फेसबुकमा सडकको फोटो पोष्ट गरेको हुँ ।’सडकमै रुख राखेर कालोपत्रे गर्दा दुर्घटनाको जोखिम बढेको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले रुख कटानका लागि ठेकदार कम्पनीले प्रक्रिया पूरा नगरेको बताए । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस नगरी काम थालेका कारण सोबारे आयोजनासँग जानकारी माग गरेको उनले बताए ।
निर्माणाधीन उक्त सडकको केही भाग निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रूख कटानका लागि मन्त्रीस्तरीय निर्णय हुनुपर्ने उनको भनाइ छ ।
लापरबाही कसको ?
बीच सडकमा सालको रुख राखेर कालोपत्रे भएपछि यसको आलोचना भइरहेको छ । सडकको बीचमा रुख राखेर सडक निर्माण भएको हुँदा दुर्घटनाको जोखिम उच्च भएको स्थानीयहरु बताउँछन् ।
राष्ट्रिय गौरवको आयोजना मानिएको सडक निर्माणको यो अवस्था देखेर स्थानीयहरु हैरान छन् ।राजमार्गको बीचमा रुख राखेर सडक कालोपत्रे गर्नु स्थानीय सरकारको कमजोरी रहेको नेपाली कांग्रेसका युवा नेता सन्तोष श्रेष्ठले बताए ।
उनले भने, ‘आयोजना निर्माणको क्रममा आइपर्ने समस्या समाधान गर्ने दायित्व स्थानीय सरकारको पनि हो । सम्बन्धित ठाउँसम्म पहल गर्न नसक्नु उसको अकर्मण्यता हो । अहिले आएर चितवन राष्ट्रिय निकुञ्जलाई देखाएर समस्यबाट भाग्न स्थानीय सरकार मिल्दैन ।’
सडक निर्माणमा त्रिपक्षीय रुपमा कमजोरी रहेको स्थानीयहरु बताउँछन् । हुलाकी सडक आयोजना, ठेकदार कम्पनी र सरकारको लापरबाहीका कारण अहिलेको अवस्था आएको स्थानीयको भनाइ छ ।
काम प्रभावित
ठोरी गाउँपालिका वडा नम्बर २ र १ को करिब ५ किलोमिटर सडक निर्माणको काम तत्कालका लागि रोक्न चितवन राष्ट्रिय निकुञ्जले आयोजनालाई परिपत्र गरेको छ।
त्यसपछि काम रोकिएको वीरगञ्जस्थित हुलाकी सडक आयोजनाका डिभिजन इन्जिनियर (डीई) दारोगाप्रसाद साहले जानकारी दिए ।सडक निर्माणको काम रोकिएको बारे मन्त्रालय तथा विभागमा जानकारी गराइसकिएको उनले बताए ।डीई साहले भने, ‘चमरीहोलदेखि ठोरीको चौतारासम्म पर्ने ३० किलोमिटर मध्ये करिब २५ किलोमिटरको काम सम्पन्न भइसकेको छ । ठोरी गाउँपालिका ३ र ४ को केही स्थानमा रुख पर्ने भएका कारण कालोपत्रे गर्न सकिएको छैन ।’
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया