
फागुन २० ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गर्नुभएको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उहाँ आफैंले उद्घाटन गर्नुभएको हो ।

आठ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् । अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । ८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको थियो ।

भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गर्नुभयो ।

तिलोत्तमा रुपन्देहीकैं केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अर्को स्थानीय तहको निर्वाचनसम्ममा यो क्षेत्र महानगरको रुपमा विकाश हुने बताउनुभयो ।

तिलोत्तमाले देशभरका पालिकाहरुमा याद गरिने, आश गरिने नगरपालिकाको पहिचान बनाएको बताउँदै अर्थमन्त्री पौडेलले विकासप्रति यहाँका जनप्रतिनिधिले देखाएको सक्रियतामा आफ्नो सधैं साथ रहने स्पष्ट पार्नुभयो ।

तिलोत्तमाका जनप्रतिनिधिहरुले जनताको हित र विकासप्रति समर्पित भएर काम गर्ने असल एवं सफल जनप्रतिधिको पहिचान बनाएको बताउँदै उहाँले नगर प्रमुख, उप–प्रमुखलगायतका जनप्रतिनिधिहरुको प्रशंसा गर्नुभयो ।

नयाँ नगरपालिका भए पनि तिलोत्तमाले गरेका कामहरु निकैं प्रभावकारी रहेको चर्चा गर्दै उहाँले यसले विकासको मानक स्थापित गरेको बताउनुभयो ।

रुपन्देही देशमैं विकासको रोलमोडल बनिरहेको चर्चा गर्दै अर्थमन्त्री पौडेलले जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा समेत यसमा एकाकार रहेको उल्लेख गर्नुभयो । तिलोत्तमाले विकास निर्माण, सामाजिक परिवर्तन, वातावरण संरक्षण, सरसफाईमा दह्रो कदम चालेको उल्लेख गर्दै उहाँले तिलोत्तमा अब अघि नैं बढिरहने बताउनुभयो ।

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पुर्याउने उहाँको विश्वास छ । उहाँले रुपन्देहीमा कार्यान्वयनमा रहेका र निर्माण हुने गेम चेञ्जर परियोजनाहरुले जिल्लाको मुहार फेर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री छबिलाल विश्वकर्मा, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सांसदहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, बुटवल उपमहानगरपालिका उप–प्रमुख गोमादेवी आचार्य, नेकपाका नेता तथा सोह्र-छत्तीस संयुक्त सिंचाई प्रणालीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी, ईञ्जिनियर प्रदीप वनलगायतले बोल्नुभएको थियो ।

नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता तथा उप–प्रमुख जगेश्वरदेवी चौधरीको स्वागत, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन प्रवक्ता सुरेन्द्र श्रीले गर्नुभएको थियो ।

त्यस अवसरमा अर्थमन्त्री पौडेलले नगरपालिकाले सञ्चालनमा ल्याएको डिजिटल नागरिक वडापत्रको सुभारम्भ गर्नुभयो । साथैं उहाँले नगरपालिका भवन निर्माण स्थलको जग्गा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने कुञ्जलापुरबासीहरुप्रति आभार व्यक्त गर्दै नगरपालिकाले प्रदान गरेको सम्मान–पत्र कुञ्ज टोल विकास संस्थालाई प्रदान गर्नुभयो ।

यस्तै नगरपालिका परिसरमा राखिएको बुद्धमूर्ति उपहार स्वरुप प्रदान गर्ने मूर्तिकार गोविन्द चौधरीलाई पनि अर्थमन्त्री पौडेलले सम्मान गर्नुभयो ।



गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया