-कमला तिवारी
पाल्पा दोभानको वडा नं ७ मा कुसुमडाँडा भन्ने गाउँ छ । गाउँमा पुगनपुग ३० घर छन् । पहिले त्यो गाउँलाई कुसुण्डे भनिन्थ्यो । कुसुमडाँडा गाउँमा भिमसराको स्थायी घर छ ।
भिमसरा घर्ति मगरको विहे हुँदा उमेर १६ थियो । त्यो कुरो २०५३ सालको हो । माइतीघरमा दुई आमा थिए भने सन्तान आठ जना । खासै सुख थिएन । सानै उमेरदेखि पाखुरी बजाएर खानु पर्ने बाध्यता थियो । विहेपछि त उनको नौलो जीवन सुरु भयो वुहार्तनको ।
१६ वर्षे कलिलो उमेर शारीरिक,मानसिक वृद्धि विकास भई सक्ने उमेर पनि त होइन । तरपनि उनले सानै उमेरमा आमा बन्नु पर्यो । अहिले उनी तीन सन्तानकी आमा छिन् । जेठो छोराले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेको छ भने १३ वर्षको कान्छो छोरोले कक्षा ८ मा र छोरीले कक्षा १० मा दोभान माविमा पढ्दैछन् ।
ऋषिराम घर्तिमगर उनका श्रीमान् हुन् । कामको खोजीमा उनी भारतको हरियाणा पुगेका छन् । त्यहाँ उनले खाना पकाउने काम गर्छन् । आफ्नै देशमा परिवारसंगै बस्ने रहर भएतापनि आर्थिक अभावका कारण उता हानिएका हुन् उनी । गएको चार वर्ष अगि उनी परिवारसंगै बस्ने भनेर जागिर छाडेर आएका थिए । गाउँमा आएपछि उनले तरकारी खेती गरे तर सफल हुन सकेनन् । कर्जाको ब्याज तिर्न सक्ने अवस्था नरहेपछि फेरि उतै हानिएका थिए । उनीहरुले बन्दा खेती गरेका थिए । खेतबारी भरि बन्दा फलेको थियो । त्यो वर्ष बन्दाले बजार पाएन अनि खेतमै कुहिएर नाश भयो, बस्तुभाउले समेत खाएनन् –भिमसार दुःखको नालीबेली सुनाउँदै थिइन् ।
भिमसरा पाल्पा दोभानमा रहेको दोभान कृषि बहुउद्देश्यीय सहकारी संस्थामा साधारण सदस्य २०६६ सालमा बनेकी थिइन् । सुरुमा उनले मासिक सयका दरले पैसा जम्मा गर्थिन् । हाल आएर महिनाको पाँच सय रुपैयाँ नियमित वचत गर्दै आएकी छन् ।
यो कसरी सम्भव भयो रु भिमसरा भन्दैथिइन् –मैले सहकारीबाट सुरुमा लिएको पाँच हजार कर्जाले बंगुरपालन सुरु गरें,त्यो कर्जा फिर्ता गरें, फेरि तीस हजार कर्जा लिएँ र सो पैसाले भैसी किनें,दूध,ध्यू बेचेर पैसा कमाएँ । तरकारी खेती गरेर पछिल्लो दुईवर्षदेखि वार्षिक साठी,सत्तरी हजार कमाएको छु । सहकारीमा लागेर वचत गर्ने बानीको विकास भएको छ,आवश्यकता अनुसार कर्जा पाइएको छ । सानोतिनो गर्जो टरेको छ ।
गाउँमै कृषि सहकारी खुलेपछि मल,बीउ पाइएको छ । खेतीपातीका लागि आवश्यक पर्ने पोटास,डिएपी,यूरिया दोभानकै सहकारीमा पाइन्छ । यही सहकारीमा जिंक,बोरेक जस्ता कृषि सामग्री सस्तो मूल्यमा पाउन सकिएमा जाती हुने भिमसराले बताईन् ।
उनीहरुको खेती योग्य सात रोपनी जग्गा छ । त्यसमध्ये उनले यसपाली आलु,बन्दा,गोपी लगाएकी छन् । गहुँ,केराउ,साग समेत लगाएर खेतलाई हराभरा बनाएकी छन् । सहकारीको कर्जाले उनको जीवनमा नयाँ आयाम थपेको छ । छोराछोरीलाई पढाउन सकिएको छ,औषधी उपचार,लुगाकपडाको प्रवन्ध गर्न सकिएको भिमसराले सुनाईन् । सहकारी भ्रमणबाट उनले नयाँ नयाँ कुरा सिक्ने अवसर समेत पाएकी छन् ।
दोभान कृषि बहुउश्यीय सहकारीकी व्यवस्थापक सरस्वती पन्थ भन्छिन्–यो सहकारीले वनप्रतिको निर्भरता घटाउनका लागि वायोग्याँस,आधुनिक चुल्हो निर्माणमा सहयोग गरेको छ । सदस्यहरुको आआर्जनका लागि पशुपालन,कृषि कर्मलाई पहिलो प्राथमिकता दिएको छ । सहकारी सबैका लागि दुःखसुखको साथी भएको छ । भिमसराले यस सहकारीबाट लिइएको कर्जाको सही सदुपयोग गरेकी छन् । नियमित वचत गर्ने,समयमै व्याज बुझाउने र सहकारी सम्बन्धी शिक्षा लिन बढी आत्तुर देखिन्छन् ।
नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल इन्जाका ग्लोबल उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले वास्तवमै सहकारीले लिएको नारा गाउँगाउँमा सहकारी, घरघरमा भकारीको नारालाई सार्थकता दिएको कुरालाई प्रष्ट पार्नुभयो । सहकारी समाजको सारथी भएर हरेक घरको समस्याको घाउमा मल्हम लगाउन सफल भएको जानकारी दिनुभयो ।
दोभान गाविसमा रहेको यस सहकारीलाई तराई भू–परिधि कार्यक्रम,कोहलपुरले घुम्तिकोषको रुपमा आर्थिक सहयोग समेत गरेको छ ।ग्रामीण भेगमा सहकारीले गरेको योगदानका कारण अधिकांश महिलाको जीवनमा सकारात्मक परिवर्तन आएको छ । महिलाहरुको जीवनस्तरले काँचुली फेरेको छ ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया