बुटवलमा नै प्रदेश नं. ५ को राजधानी हुनुपर्छ भनेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुपन्देहीले आइतवार दिउँसो निर्णय गरेको खबर आइसकेको छ । त्यसैगरी नेकपाको सचिवालय बैठक आइतवार पनि बस्न सकेन भनेर समाचार आइसकेको छ । प्रदेश राजधानीको विषयलाई लिएर आफूसँग कुनै सल्लाह नगरेको भनी अध्यक्षहरुसँग महासचिव विष्णुप्रसाद रुष्ट छन् भन्ने कुरा बजारमा दरिलो न्यूज बनेर आइरहेको छ । सत्य के हो त्यो त सम्बन्धित पार्टीका नेताहरुलाई थाहा होला । नेपाली कम्युनिष्ट आन्दोलनलाई जगेर्ना गर्ने र उचाइँमा पुराउने थलो भनेको तत्कालीन लुम्बिनी अञ्चल नै हो । अझै भनौं सबैले जानेको प्रतिगमन विरुद्धको आन्दोलनमा ज्वारभाटा उठाउने सहर भनेकै बुटवल हो । अंग्रेजसँग नहारेको जीतगढी किल्लासँग यहाँका धेरै आन्दोलनहरु जोडिएका छन् ।
नेपाली काङ्ग्रेसको तत्कालीन देउवा सरकारले बुटवलमा अस्थायी राजधानी बनाउने निर्णयसँग खुसी् भएका स्थानीय नागरिकहरु नेकपाको सरकारले राजधानी सार्न हुकुमी पाराले निर्देशन दिदैं गर्दा प्रदेशको राजधानी बुटवलबाहिर सार्ने धृष्टता सावित भएको धेरैले छिटो अनुमान लगाउन सक्छन् । हुन त अनुमानकै भरमा हनुमान बन्नु जरुरी पनि छैन कसैलाई । केन्द्रमा विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयसँग र प्रदेशमा नेकपाका सचेतक भूमिश्वर ढकालले आर्थिक मामिला मन्त्रालयसँग आफूहरुलाई साट्दैछन् भन्ने कुराले असोज महिनामा समेत बुटवलको सडक तताएको छ । सत्य के हो ? समयले पर्दा खोल्दै जाने छ । सत्य सधैं टिक्छ र सदावहार हुने छ ।
बुटवलमै राजधानी नुहँदा के हुन्छ र अन्यत्र लैजाँदा बुटवललाई के हानी हुन्छ भनेर बुटवलमा रहेका संघसंस्थाका आन्दोलनकारीहरुले सडकमा आफ्ना विचारहरु सम्प्रेषण गरिसकेका छन् । राजधानी घाटा नाफा,भूगोल,दाउपेचभन्दा पनि भावनात्मक सम्बन्धको उचाइँ हो । यसलाई आफ्नै तरिकाले परिभाषित गर्नु जरुरी छ ।
प्रदेश ५ को राजधानीका बारेमा विष्णु पौडेलले मत मागेर चुनाव जिते । अहिले केही बोलेका छैनन । राजधानीका बारेमा उनका तर्क के छन्,विचार के छन् ? किन चुपचाप बसेका छन् ? सन्तुष्टि र असन्तुष्टिका गणित सबैले बुझ्न चाहेका छन् उनका ।
२०६४, २०७० र २०७४ मा गरी तीनपटक यसै क्षेत्रबाट लगातर चुनाव जितेका उनले प्रदेश राजधानीका बारेमा केही नबोल्ने नै हुन् ? उनकै धेरै कार्यकर्ताहरु आन्दोलन गर्ने कि नगर्ने उनको निर्देशन कुरेर बसेका छन् । उनले ग्रीन सिग्नल दिने हो भने मात्र पनि आन्दोलनको आँधीबेरी सिर्जना हुन सक्ने देखिन्छ ।
धेरैले विष्णु पौडेल विष्णु अवतार कै रुपमा यस बुटवल नगरीमा ओर्लिएलान् भन्ने महसुस् गरेका छन् । प्रतिपक्ष पार्टीको आन्दोलनमा नगएपनि स्थानीय पार्टी नेता,कार्यकर्ताहरुले नैतिक समर्थन दिइरहेका छन् भन्न कुनै अनौठो विषय नै रहेन । जे भएनपनि रुपन्देहीका स्थानीय सरकारका प्रमुख,उपप्रमुखहरुले हिम्मत गरेरै भएपनि बुटवलमै राजधानी हुनु पर्छ भनेर ऐक्यवद्धता जाहेर गर्दै प्रेस विज्ञप्ती जाहेर गरे त्यसले पनि प्रदेश सरकारलाई केही दबाब सिर्जना गरेकै छ ।
धेरैलाई लागेकै हो । आफ्नो निर्वाचन क्षेत्रका नेता बलिया,नेकपाकै दरिला नेता,महासचिव भएपछि राजधानी अन्यत्रै जाँदैन भनेर कानमा तोरीको तेल हालेर सुतेकै हुन् । राजनीति कहाँ सरल रेखा हो र यो त बरु बक्र रेखा हो भन्ने कुरा सडकमा टायर बल्न थालेपछि स्थानीय पार्टी नेता,कार्यकर्ताहरुले मज्जाले बुझ्ने अवसर पाए । धेरैले अरु प्रदेशमा जस्तै अस्थायी राजधानीलाई नै स्थायी राजधानीमा रुपान्तरण गर्ने छन् भनेर ढुक्क भएको बेला बुटवलमा स्थायी राजधानी कायम नुहँदा पार्टी,नेतालाई नै थुक्क भन्न थालेका छन् ।
जे होस् । प्रदेश सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्नेछ । संघीयता केही होइन भन्नेहरुलाई बलियो आधार र गफ गर्ने थलो दिने छैन । संघीय र स्थानीय सरकारको पुलको रुपमा काम गर्ने प्रदेश सरकार नै हो भन्ने कुराको प्रमाण आफैले जुटाउने छ । जुटको राजनीतिले समाज र राष्ट्रको विकास सम्भव छ । पार्टी र नेताको झगडाले अरु नै तगडा हुने हुन् । बेलैमा ध्यान जाओस् ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
प्रतिक्रिया