
उमेरले तीन बीसे एक । जाँगर र आँटले १६ वर्षे । जन्मघर साविकको मदनपोखरा वडा नं. ६,दमकडा,पाल्पा । ३५ वर्ष शिक्षण गरेर गतवर्षको कार्तिक २६ गते निवृत्त भएका उनी रोगले थलिएर अहिले उपचारका क्रममा काठमाडौं छन् । चार छोरी र एक छोराका पिता उनका चारै बहिनी छोरीहरु पराइ घर गई सकेका छन् भने छोरोले १२ कक्षाको परीक्षा दिने तयारीमा छ ।
जीवनसंगीनी नैनालाई साथ लिएर जीवनका ३५ वर्ष बिताइ सकेका छन् । आफू शिक्षकमात्र थिएनन् बरु उनी कलाकार पनि हुन् । उनले अभिनय गरेका चलचित्रका संख्या तीनदर्जन बढी छन् । सारङ्गी,घरसंसार,औंठाछाप,जिन्दगानी दर्पणछाँया,उर्वशी जस्ता चलचित्रमा उनले कुशल अभिनय गरी नाम कमाइ सकेका छन् । निकट भविष्यमा ढाक्रे,चोरकाटे,धुम्ली,गोर्खे,शतरंज,अमरज्योति जस्ता चलचित्रहरु रिलिज हुने तयारीमा छन् । त्यसपछि उनको अभिनय चर्चा झन् चुलिने छ । थप परिचय खुल्ने छ ।

त्यसैगरी लोकगीत,आधुनिक गीत,राष्ट्रिय र तीजगीतका म्यूजिक भिडियोहरुमा सशक्त अभिनय गरी चर्चा कमाइ सकेका छन् । कुलचन्द्र पुरीका अभियनलाई मन पराउने फ्यानहरु प्रशस्तै छन् ।
पाल्पा तिनाउको झुम्सामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा २०५८ सालदेखि २०६५ सम्म प्रधानाध्यापक भएर कुशल व्यवस्थापकका रुपमा परिचय बनाइ सकेका उनी आफूले सामाजिक र अंग्रेजी विषय शिक्षण गर्दथे । पुस्तकालयध्यक्ष समेत बनेका उनी पढन र चित्र कोर्न खुबै जाँगर गर्थे । स्नातक उत्तीर्ण गरेका उनलाई स्नातकोत्तर गर्न विद्यालयको जिम्मेवारी,कलाकारिता र घरव्यवहारले साथ दिएनन् ।


उनी हुन् कलाकार कुलचन्द्र पुरी । सानामा आफ्ना बाबा रेवतीराम पुरीसँग गाउँमा हुने भजनकीर्तमा जाँदाजाँदै उनमा कलाकारिताको रस पसिसकेको थियो । बाबासँग,मादल,खैजडी,मजुरा बजाउन सिकेका उनलाई आज पनि उस्तै रहर छ । गाउँमा विहे,व्रतवन्ध,पूजाआजा सबै शुभकार्यमा पुग्ने उनी अहिले काठमाडौंका अस्पतालहरुमा औषधोपचारका निम्ति व्यस्त छन् । काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गरी आफ्नै घर फर्किन तयारीमा रहेका कुलचन्द्रलाई चलचित्र र म्यूजिक भिडियोहरुमा पुनः हेर्न दर्शकहरुले कुरेर बसिरहेका छन् ।


उनी राजनीतिमा रुची राख्छन् । सामाजिक कार्यकर्ता समेत हुन् । लामो समय साविक दोभान गाविसमा गठित गाउँ बाल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष भएर बालअधिकारका क्षेत्रमा क्रियाशील समेत रहे । नाटकहरुमा समेत उनको भव्य रुची थियो । स्थानीय विद्यालयहरुमा हुने वार्षिकोत्सव एवम् अभिभावक दिवसहरुमा उनले प्रहसन तथा नाटकमा गहकिलो अभिनय गरेर दर्शकहरुलाई पेट मिचीमिची हसाउँथे । कुलचन्द्र पुरी भनेपछि बच्चादेखि बुढा सबैले चिन्दछन् तिनाउमा । रेडक्रसमा पनि सक्रिय छन् । वन,वातावरण र जैविक विविधता संरक्षणको अभियानमा समेत उनको चासो र चिन्ता छ । सामुदायिक वन तथा सामुदायिक वन समन्वय समिति,दोभानमा समेत कुलचन्द्र पुरीले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।

लाग्छ उनी कलाकारिताकै लागि जन्मिएका हुन् । जहाँ जस्तो अवस्थामा पनि उनले आफ्नै पाराको अभिनय गरेर दुनियाँलाई हसाउँथे । यथार्थ जीवन र कलाकारको जीवन फरक हुँदो रहेछ । यो कुराको आभास यतिबेला उनलाई भइरहेको छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया