
पढाई र सिकाईको तादम्यता मिलाउन मुस्किल हुन्छ । सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न महाभारत हुन सक्छ । बोलेका कुराहरुलाई व्यवहारमा देखाउनु चानेचुने कुरै होइन तर सुमित्रा सुत्पराई आफूले कोर्षमा पढेका ठेलीहरुबाट धरातलमा सत्कर्म गरी साकार बनाउन प्रयासरत् छिन् ।
उनको बाध्यता र रुचीको विषय ललितकला । ललितकला पढ्ने बेला दाजुहरुको करकाप र बाध्यता थियो । अहिले आफ्नो योग्यता रहरमा परिणत भयो । दाजुहरु सुमित्रालाई चित्रकार बनेको हेर्न चाहन्थे । काठमाडौंमा इन्टर पढिन् सुमित्राले ललितकला विषयमा । इन्टर पढ्दै गर्दा विहे भयो । व्याचलरमा बच्चा । तैपनि चित्रकलामा उनले संसार भेटिन् अनि चित्रमै विचित्र युग र समय देखिन ।
कार्लाइलले भनेका थिए– मान्छे त्यतिबेला सुन्दर देखिन्छ जतिबेला उसले काम गरिरहेको हुन्छ । यो भनाई सुमित्राकै लागि भनेका हुन् कि झैं लाग्छ । सुमित्रा चित्रकलामा लीन हुँदै गर्दा कैयाँं दिनरात खाना खानै बिर्सिएकी हुन्थिन् । पेटमा मुसा दौडिरहँदा मुहारमा चन्द्रमा बोकेर भविष्योन्मुख उज्याला चित्र कोरिरहेकी हुन्छिन् ।

सुमित्राले मूर्त तथा अमूर्त चित्रहरु कोरेकी छिन् । चित्रकलामा नै स्नातकोत्तर गरेकी उनले चित्र कोरेर बाँच्ने आधार भेटेकी छिन् । भन्न त उनले भनेकी थिइन्–कलाको कुनै मूल्य हुँदैन । अमूल्य कला नै मूल्यवान हुने गर्छ ।
सुमित्रा अहिले बुटवलमा रहेको दीप आवासीय माध्यमिक विद्यालयमा चित्रकला विषयको शिक्षक बनेर सयौं विद्यार्थीलाई चित्रकलाको माध्यमबाट संसार बुझाउने अभियानमा छिन् । चित्रकलामा प्रयोग हुने कूचीले समाजका विकृतिहरुलाई मेट्न सिकाउँदै छिन् । त्यहाँ प्रयोग हुने रङहरुले जीवनको रंगीन संसार बुझाउने प्रयत्न गरिरहेकी छिन् । भन्नेहरुले मृत्युपछिको जीवन हो भन्छन् कलालाई तर सुमित्रा जीवनको अभिन्न अंग ठान्छिन् चित्रकलालाई । विद्यालय,विद्यार्थी र घर उनका क्यानभास हुन्् ।

भूकम्पसँगै बुटवल भासिन आइपुगेकी थिइन् उनी । केन्द्रीय राजधानीबाट प्रदेश नं.५ को राजधानी बुटवलमा आफ्नो पौरख देखाउने यात्रामा छिन् । लम्बे यात्राकी अथक यात्री बनेर जीवनको अन्तिमसँग चित्रकलामा आफूलाई समाहित गर्ने सपना बोकेकी छिन् ।
उनले एकान्तमा कोरेका चित्रहरुले वर्तमान बोलेका छन् । भविष्योन्मुख सपना साँचेका छन् र इतिहाससँग पौठेजोरी खोजेका छन् । आफ्ना चित्रहरुले बुटवलमा ग्यालेरी पाएका छैनन् । त्यसैले उनी जस्ता कलाकारहरुले दर्शकका मन,मुटुमा रम्न भ्याएका छैनन् । आफ्नै कोठाहरुमा राम्रोसँग झुण्डिने अवसर समेत पाएका छैनन् । आफैलाई हेरेर कहिलेकाँही ती चित्रहरुले आफैलाई गिज्याए जस्तै लाग्छ रे सुमित्रालाई !


उनका चित्रकलाले स्वदेश तथा विदेशसम्म भ्रमण गरेका छन् । आफूले चित्रकला मार्फत नयाँ परिचय र पहिचान बनाउँदै छिन् । देशमा सञ्चालित विभिन्न कार्यशाला एवम् गोष्ठीहरुमा सहभागिता जनाएकी छन् । प्रदर्शनीहरुमा पुग्न भ्याएकी छन् । प्रतियोगितामा अब्बल ठहरिएकी छन् ।
पुस्तकहरुमा कभर डिजाइन गरेकी छन् । नाम चलेका सरकारी तथा जनस्तरीय पुरस्कार समेत प्राप्त गरी हौशला बढाएकी छन् । उत्प्रेरित भएकी छन् । उनको शैक्षिक योग्यताले फराकिला बाटा खोजेका छन् । क्षमता र दक्षताहरु अग्रगामी तरिकाले नयाँ जीवनको गोरेटा पहिल्याउने दौडमा छन् ।


गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया