आऊ, स्वागत छ तिमीलाई
मेरो संस्कृतिको आँगनमा
जहाँ गौरी—शङ्कर खुसीले नाच्दछन्
रमाएर हाँस्दछन्
यहाँ गौरीको सिंहसँग
शङ्कर आफ्नै नन्दी नार्दछन् ।
आऊ, तिमी मेरो आँगनमा
भक्त बन या दर्शक
यहाँ कुमारको मयुरसँग
शङ्करको सर्प रमाइरहेको
हात्तीसुँडे बडागणेश
मुसामा सबार भएको नजर गर ।
आऊ तिमी यसै आँगनमा
शिवको बास छ
पूर्ण अन्नको रास छ
यहीँको एक हिम चुचुरोमा
गणेशको बास छ
प्रकृतिको सुन्दर निवास छ ।
मेरो यो आँगन
जहाँ शिवले कल्याण छरे
अन्नपूर्णाले समृद्धि छरिन्
सीताले ममता भरिन्
बुद्धले शान्तिको सपना देखे
हो यो मेरो आँगन ।
मेरो आँगनको एकछेउमा
संसारकै अग्लो टुप्पी
एन्टेना बनेर ठडिएको छ
आऊ हेर, बुझ र पढ
समन्वित संस्कृतिको समृद्ध आँगन
पुस्तकझैँ बनेको छ मेरो आँगन !!
यहाँ देवता बनेर
माटो, पानी, हावा, आगो र आकाश
रूख, ढुङ्गा र झार पूजित छन्
दूध दिने गाई, हलो तान्ने गोरू
शक्तिशाली बाघ, बँदेल र सिंह पूजिन्छन्
सर्प होस् या माछा होस् या कछुवा
यहाँ सबै पूजित छन्
यही हो मेरो आँगन ।
प्रतिक्रिया