शिखर चुम्दै गरेका
ए ! शालीन र सभ्य मानव
मौन छौ किन ?
नश्लको धरापले युगकै घाँटी थिच्दा
मान्छेले मान्छेकै छातीमा किच्दा पनि
किन चुपचाप बसेका छौ ?
सत्ताको सिंहासन बलियो बनाएको
तिनै हेपिएका र दबिएका
श्रम र सीपले त हो नि
तिमीले सफलताको सगरमाथा चुमेको
तिनैको बलले त हो नि
तिमीले भाकल पूरा गर्यौ
तिनैलाई बलिको बोका बनाएर
खुब मनोरञ्जन प्राप्त गर्यौ
तिनैलाई साँढे गोरु झैँ जुधाएर ।
बढो सुखी र सम्पन्न भयौ !
तिनैको इमानदारितामा टेकेर
सभ्यताको उच्चतम बिन्दूमा पुग्यौ
तिनैको घाँटीमा रेटेर
आजसम्म
ती लाखौँ निर्दोषले बगाएको रगत
सत्तामा होली खेल्न मात्र हो ?
संविधानमा भएको समाबेशी लोकतन्त्र
गरिब निमुखालाई ललिपप देखाउन मात्रै हो ?
जातीय र वर्गीय समानताको बिगुल
नाटक मात्र थियो ?
के पाए आखिर तिनले ?
पाए त केवल
मृत्युको उपहार !
प्रतिक्रिया