
वास्तवमा संस्कृतिमा आयात प्रतिस्थापन भनेको के हो भन्ने विषयमा पनि बहस छेड्नु आवश्यक छ । आफ्ना श्रेष्ठ मूल्यहरुको आधारमा बाहिरी सांस्कृतिक मूल्यहरुको आयातलाई रोक्नु आयात प्रतिस्थापन हो । आफ्नै सांस्कृतिक मूल्यहरु स्थापित भएको खुल्ला समाजमा बाहिरी सांस्कृतिक मूल्यहरु आयात हुन सक्दैन । शून्य स्थानमा मात्र बाहिरबाट संस्कृति आउँछ । अफ्रिकी मुलुकमा सांस्कृतिक अतिक्रमण भएको होइन, त्यो समाजमा सांस्कृतिक मूल्य मान्यताहरु नभएको हुँदा त्यो शून्य ठाउँ भर्न बाहिरबाट सांस्कृतिक मूल्य मान्यताहरु आएका हुन् । संस्कृति नै नभएको समाजमा के को सांस्कृतिक अतिक्रमण हुन्छ र ? त्यसैले त्यहाँ एउटा संस्कृति मासेर अर्को संस्कृति थोपरिएको हैन, शून्यमा आएर आफै थुप्रेको हो । किन कि पश्चिमी सांस्कृतिक मूल्यहरु मानवीय संवेदना अनुकूल थिए ।
पहिलो विश्वयुद्धपछि व्यापारको सिलसिलामा भूभाग कब्जा गरेर अफ्रिकामा पुगेका बेलायती साम्राज्यवादीहरुले त्यहाँ आफ्नो भाषा सिकाए । भाषाबाट संस्कृति स्वतः आउँछ । आखिर संस्कृति जोगाउने त भाषा हो । उनीहरुले भाषाका माध्यमबाट आफ्ना सांस्कृतिक मूल्यहरु सिकाए । अफ्रिकीहरुले त्यसलाई कि त श्रेष्ठताका आधारमा आफ्नो संस्कृति जोगाउँदै निजत्व बचाउन सक्नु पथ्र्यो कि त अरुको भई दिनु पथ्र्यो । त्यसैले अफ्रिकीहरु अरुको भइदिए । किन कि उनीहरुसँग सांस्कृतिक आयात प्रतिस्थापन गर्ने शक्ति र सामथ्र्य थिएन ।
बर्बरकालीन कोरा समाजमा सांस्कृतिक मूल्यहरु बनेका हुँदैनन् । त्यस्तो समाजमा छिमेकी मुलुक वा पश्चिमाहरुको सांस्कृतिक प्रभाव स्वतः परेको हुन्छ । नेपाली समाजमा मात्र हैन, परापूर्व कालदेखि विशाल भारतीय समाजमा आर्य संस्कृतिको प्रभाव थियो । त्यहाँ अंग्रेजहरु प्रवेश गरेर सयौं वर्ष शासन गरे । तर पनि त्यहाँको सांस्कृतिक स्वत्त गुम्न सकेन । जुन समुदायसँग आफ्ना सांस्कृतिक मूल्यहरु हुँदैनन् त्यहाँ आयात प्रतिस्थापन हुन सक्दैन । अन्य मुलुकको सांस्कृतिक प्रभाव स्वतः फैलन्छ । जुन समुदायमा साँस्कृतिक मूल्यहरु बनेका हुन्छन्, त्यहाँ आयात प्रतिस्थापन हुन्छ । आफ्ना सांस्कृतिक मूल्यहरु स्थापित हुन्छन् । तर अलि भद्धा तथा मानवीय संवेदना अनुकूल नभएमा अन्य संस्कृतिसँग रिमिक्स भएर आफ्नै सांस्कृतिक शृङ्खलामा वहन थाल्छन् । पूर्वीय जन्मोत्सव पद्धति र विवाह पञ्चमीजस्ता तिथिहरु हुँदा हुँदै पनि तिनलाई बाल र युवासुलभ संवेदनासँग जोड्न नसक्दा केक काट्ने,मुमबत्ती निभाउने र प्रेम दिवस मनाउने नाममा अरुकै सांस्कृतिक मूल्यहरुले पखेटा फिजाए ।
सौन्दर्य मानवीय गुण हो । मानिस सौन्दर्यप्रति अनुरागी हुन्छ । त्यसैले मानवीय संवेदनशीलताका दृष्टिले श्रेष्ठ लाग्ने मूल्यहरु जवर्जस्त स्थापित हुन्छन् । श्रेष्ठ मूल्यहरुले विश्वभर प्रभाव जमाउँछन् । त्यसैले हामीले आफ्ना परम्परागत मूल्यहरुलाई श्रेष्ठताको आधारमा लागू गर्नुपर्छ । हामीले भद्दा र असहिष्णु खालका मूल्यहरुलाई परिस्कार गरेर मानवीय संवेदनशीलताका दृष्टिले सुन्दर, रोमाञ्चक र चित्ताकर्षक बनाउनु पर्छ ।
संस्कृति मानवीय संवेदनासँग सम्बन्धित हुन्छ । प्रेम, करुणा, माया, वीरता, बन्धुत्व, आक्रोश आदि संवेदनाले हाम्रा सांस्कृतिक मूल्यहरु, आचार विचारहरु, चाडपर्वहरु आदिको सार र स्वरुपमा प्रभाव पर्छन् ।
तीज पर्वमा भगिनीहरु बीचको बन्धुत्व, दशैं पर्वमा मर्यादा, वात्सल्य, तिहार पर्वमा भाइबहिनी बीच ममता प्रेम, होली पर्वमा उमङ्ग उत्साह, अष्टमी र नवमीमा दिइने बलि प्रथामा आखेटकालीन स्वार्थ, श्राद्धमा आदर कृतज्ञता, विवाहमा प्रेम, मृत्यु संस्कारमा दुःख,सरायंमा वीरता, आचारसंहितामा धैर्य आदि मूल्यहरुमा संवेदनाले स्थान पाएका हुन्छन् । त्यही संवेदनाले नै सांस्कृतिक मूल्यहरु चलेका हुन्छन् । त्यसैको सारमा नै सामाजिक स्वरुप निर्धारित हुन्छ । त्यसैले सांस्कृतिक मूल्यहरुलाई संवेदना अनुकूल बनाउनु पर्छ ।
मानवीय संवेदनामा माया सबैभन्दा प्रभावशाली संवेदना हो । माया कुनै न कुनै रुपमा हरेक सांस्कृतिक मूल्यहरुमा प्रकट हुन्छ । माया सामाजिक लय विधान हो । जसरी गीतको लयले शब्द शब्दलाई जोड्छ, त्यसरी नै मायाले एक अर्काबीच जोड्छ । मायाले व्यक्ति व्यक्तिलाई जोड्छ । मायाले वर्ग वर्गलाई जोड्छ । मायाले जाति जातिलाई जोड्छ । मायाले क्षेत्र क्षेत्रलाई जोड्छ । मायाले धर्म धर्मलाई जोड्छ । मायाले विचार विचारलाई जोड्छ । त्यसैले पनि सभ्य समाजमा माया सबैभन्दा ठूलो संवेदना हो । संस्कृतिको माध्यमबाट समाजलाई असल बनाउन माया नै माया चाहिन्छ । जुन संस्कृति जति असल छ त्यति नै मायालु समाज बन्छ ।
‘आस्था र संस्कृति’ कृतिमा घनश्याम कोइरालाले वैदिक संस्कृतिको सूक्ष्म अध्ययन, अनुसान्धान र अनुशीलन गरी त्यसको चहकिलो पक्षलाई द्वन्द्वात्मक शैलीमा प्रष्ट पारेका छन् । उनले दशैं नवदूर्गा, बलि, जन्म दिन मनाउने पश्चिमा संस्कृति, गुरु पूर्णिमा, शैव संस्कृति, स्वस्थानीको प्रसङ्ग, सरस्वती पूजाको अन्तरवस्तु, प्रकृतिको संस्कृति, धर्मको कर्म, जात जातिको विषय, पूर्वजप्रति श्रद्धा पे्रम र कृतज्ञता, सांस्कृतिक पुनः जागरण आदि विषयमा समालोचकीय दृष्टिकोणको माध्यमबाट नवीनतम खालका ज्ञानका द्वारहरु खोलेका छन् । यो कृति पढेपछि मात्र सांस्कृतिक रुपान्तरणको विषयमा धेरै कुरा जान्न सकिन्छ । सांस्कृतिक रुपान्तरणको विषयमा यो रचना अत्यन्त महत्वपूर्ण छ ।
सनातन भनेको परपूर्वकालदेखि चल्दै आएका मूल्यमान्यता र परम्परा भनेको सिलसिला वा अनुक्रम हो । लेखकको विचारमा सनातन परम्परा भनेको गतिशील शृङ्खला हो । लेखकले सनातन धर्मलाई नव नव मूल्य र मान्यताहरु निर्माण हुँदै जाने र विन्यस्त हुँदै जाने गतिशील शृङ्खलाको रुपमा लिएका छन् । उनले यो कृतिका रुढी मूल्यहरुलाई गत्यात्मकता दिन के गर्नुपर्छ भन्ने विषयमा सुझाएका छन् । समाजमा वाद, प्रतिवाद र संवादको ढोका बन्द भएपछि द्वन्द्वात्मक चिन्तन स्वतः अन्त्य हुन्छ । विगतमा भएको यही नै हो । यो धर्ममा मात्र हैन, माक्र्सवादमा पनि त्यही भएको छ । अब हामीहरुले द्वन्द्वात्मक पद्धतिका आधारमा जडवादलाई थुतुनोमा हिक्र्याएर मात्र समाजलाई गतिशील बनाउन सकिन्छ । त्यसको लागि वाद संवाद र प्रतिवादको आधारमा बनेको द्वन्द्वात्मक विधि र प्रक्रियाहरुलाई पुनः स्थापित गर्नुपर्छ । शास्त्रले भनेको कुरा भन्दै ठोकुवा गर्ने र जस्ताको तस्तै लागू गर्ने कुरा नै जडता हो । यो जडताको जहरले क्रक्क्रक्क भएको समाजलाई खुल्ला गर्नुपर्छ । ‘वादे वादे तत्वबोध जायते’ भन्ने पूर्वीय मूल्यलाई स्थापित गर्नुपर्छ । अब आँखा चिम्म गरेर हैन आँखा खोलेर समाजवादी युगको ठेकोमा वाद प्रतिवाद र संवादको मदानी नचाउनु पर्छ । यो विषयमा लेखक स्पष्ट छन् । लेखक भन्छन्—‘‘जति नै राम्रो भए पनि संस्कृति पुरानोमा टाक्सिएर रह्यो भने अन्धविश्वास बन्दछ । संस्कृति भड्कियो र बाटो बिरायो भने विकृति बन्दछ । यही संस्कृति समय सापेक्ष भयो र उचित संवद्र्धन गर्न सकियो भने सभ्यता बन्दछ ।”
वास्तवमा सभ्यताले मान्छेलाई सद्जन बनाउँछ । सभ्यता बिनाको मान्छेमा बर्बरकालीन चिन्तन हुन्छ । ऊ असभ्य हुन्छ । त्यसैले परिवर्तित मूल्य मान्यताले खारेर तारेर असल बनाउन संस्कृति चाहिन्छ । रुढ संस्कृतिले खारेमा व्यक्ति रुढ बन्दछ भने गतिशील संस्कृतिले खारेमा व्यक्ति गतिशील बन्छ । गतिशील मान्छेमा परिवर्तनशील स्वभाव पनि हुन्छ ।
संस्कृति रुपान्तरण आवश्यक मात्र हैन अनिवार्य हुन्छ । यो कर बलले परिवर्तन हुँदैन । यसको परिवर्तन अर्थतन्त्रको मोड र त्यसको गतिशीलताले निर्धारण गर्छ । उत्पादन पद्धतिमा आएको परिवर्तनसँगै साँस्कृतिक रुपान्तरण हुँदै जान्छ । कृषि निर्भर अर्थतन्त्रको अधिरचनाले विकसित गरेका सांस्कृतिक धार्मिक मूल्यहरु उद्योग वाणिज्य अर्थतन्त्रले स्वतः आफ्नो काबुमा ल्याएर त्यसको सार र स्वरुप नै रुपान्तरण गरी आफू अनुकूल बनाउँछ । त्यसैले द्रूत आर्थिक समृद्धिले मात्र सांस्कृतिक रुपान्तरण सम्भव छ । सनातन परम्परामा पनि स्वतः नवीनता ल्याउँछ । संस्कृतिले युगीन विशेषतालाई छुट्याउँछ । विगतमा गरिदै आएका चाडपर्वका रुपहरु, विवाह, पास्नी, क्रिया संस्कार,छाउपडी, श्राद्धका विधि आदिमा पनि परिस्कार ल्याउँछ ।
वास्तमा हाम्रो समाजमा गुरु—चेला परम्पराप्रति पनि परिमार्जन गर्नु आवश्यक छ । अबको गुरु चला पद्धति समालोचनात्मक पद्धति हुनु पर्छ । अब सनातन धर्मलाई जोगाउने नाममा गुरुको अगाडि नतमस्तक बन्नु पर्ने, उनका बचनलाई अकाट्य वचनको रुपमा लिनु पर्ने खालको गुरुचेला सम्बन्ध हैन, ल्पेटो र अरस्तुको सम्बन्ध जस्तै हुनुपर्छ । अरस्तुले ल्पेटोलाई अगाध सम्मान गर्छन् तर ल्पेटोका प्रस्तावनालाई आफ्नो अपूर्व प्रज्ञा सामथ्र्यले निर्धक्क समालोचना गर्छन् । उनले समालोचनात्मक बाटो अँगालेका छन् । हाम्रो नेपाली समाजमा प्रगतिशील भनिने यस्ता जडसावहरु छन् ।उनीहरुका अमर र साश्वतवाणीहरु मानाँै माक्र्सवादी धर्म र संस्कृतिका शाश्वत र अमर वाणी नै हुन् । उनीहरुका विचारहरुको समालोचना गर्र्नु अशुरक्षित जस्तै हुनु हो । यस्तो स्तुतिवादी संस्कृति एमालेमा मात्र हैन माओवादी केन्द्रमा पनि छ । त्यहाँ वाद, प्रतिवाद र संवादको द्वन्द्वात्मक संस्कृति छँदैछैन । वाद प्रतिवाद र संवादका खटप्वालहरु बन्द गरिएका छन् । यो रचनाले वाद प्रतिवाद र संवादलाई खुल्लाउँदै पाठकलाई गतिशील बनेर सांस्कृतिक रुपान्तरणतिर जानुपर्छ भनेको छ ।
संस्कृतिमा वाणिज्य संस्कृति (कर्पोरेट कल्चर)को पनि भूमिका हुन्छ । प्रतिस्पर्धात्मक बजार प्रणालीमा व्यापारको लागि उपभोक्तालाई सम्मान गर्न र लोकतान्त्रिक प्रणालीमा सार्वभौम जनतालाई भोटको लागि हात जोड्नुपर्ने भएकोले लामो अभ्यासको क्रममा स्वतः संस्कृतिमा रुपान्तरण आउँछ । प्रतिस्पर्धात्मक खालको प्रगतिशील पुँजीवादमा उपभोक्ता र सार्वभौम जनता बलिया हुने भएकोले त्यहाँ जनताको जनवादी संस्कृतिको विकास हुन्छ । यसलाई लोकतान्त्रिक अभ्यासले अरु बलियो बनाउँदै लैजान्छ । त्यसैले सांस्कृतिक रुपान्तरणको लागि लोकतन्त्र र समृद्धि आवश्यकता हो । समृद्धिले चेतनामा परिस्कार ल्याउँछ । लोकतन्त्रले वाद, प्रतिवाद र संवादको मदानी नचाएर सत्यतथ्य बाहिर ल्याउँछ । परिस्कारले मात्र संस्कृति जीवनपयोगी बन्छ ।
वास्तवमा संस्कृति जीवनको लागि हो । आजसम्म पुरातनपन्थीहरुले जीवनको लागि संस्कृति हैन, संस्कृतिको लागि जीवन बनाएका छन् । कसैले मानव बलि दिन्छन् । कसैले भगवानको नाममा सिर्जनाको साधन हात नै चढाएर हिंड्छन् । कसैले अन्धो किसिमले कठोर तपस्या गर्छन् । कसैले जीवनलाई नै धर्ममा अर्पण गर्छन् । समाजमा ठूलो संख्यामा यस्तो जनशक्ति जन्म्यो भने यसले राष्ट्रिय उत्पादनमा असर गर्छ । त्यसैले सांस्कृतिक सन्तुलनको लागि पनि जनवादी संस्कृतिको आवश्यक छ । जनवादी संस्कृति भनेको खुल्ला संस्कृति हो । यो लोकतान्त्रिक संस्कृति हो । यसमा वाद प्रतिवाद र संवाद हुन्छ ।
विगतमा समाजवादी बन्द समाजमा जनवादी संस्कृति बन्न सकेन । ७० वर्षसम्म समाजवादको अभ्यास भएको सोभियत समाजमा वाद, प्रतिवाद र संवादको मदानी चलाउन नदिएर जनवादी संस्कृति निर्माण गर्न सकेन । त्यहाँ एकातिर समाजवादलाई बलियो बनाउने नाममा कडा नियन्त्रण गर्ने लालफिताशाही संस्कृतिको बिगबिगी भयो भने अर्कातिर उत्पादनका साधन राष्ट्रियकरण गरी जनतालाई पूर्ण रुपमा सर्वहारा बनाएर राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा कमजोर बनाउँदै लगियो । सोभियत संघको विभाजनको समयमा देखिएको कमजोर सांस्कृतिक स्तरबाट यो कुरा राम्रोसँग उजागर भयो । अबका दिनहरुमा त्यस्तो बन्द समाज बनाउनु हुँदैन । त्यसैले पनि नेपालमा बहुदलीय जनवादको अभ्यासको आवश्यकता महशुस भएको छ । अब बहुलीय जनवादको बाटो सकारात्मक दिशातिर जानुपर्छ ।
लोकतन्त्र भनेको सहअस्तित्व, समानता र स्वतन्त्रता हो । हामी आर्य संस्कृतिका अनुयायीहरु यसै संस्कृतिको रुपान्तरणका बहसहरु गरिहेका छौं । ठूलो संख्यामा रहेको आर्य इतर संस्कृति र त्यसका मूल्यहरुको विषयमा बहस हुन जरुरी छ । त्यसरी बहस गरियो भने सिङ्गो समाजमा परिवर्तन ल्याउन सकिन्छ ।
सांस्कृतिक बहुलतालाई व्यवस्थापन गर्नु आजको आवश्यकता हो । सबै संस्कृति अटाउने (समावेशीकरण) सबै संस्कृति देखिने(पहिचान) सबै संस्कृति जोड्ने (सहिष्णुता) बहुदलीय जनवादमा आधारित संस्कृति संरक्षणको नीति हो । सबै सांस्कृतिक अस्तित्वलाई स्वीकार गरी सबैलाई मूलधारमा ल्याएर क्रमशः राष्ट्रिय संस्कृति निर्माण गर्न सकिन्छ । अहिले हामीले सबै धर्म, सबै चाडहरु र सबै संस्कृतिहरुलाई राष्ट्रिय मूलधारमा ल्याउन सबैको पहिचान र सम्मान गर्ने रणनीति लिएका छौं । आज सबै जाति, धर्म, र चाडवाडहरुलाई राज्यले समान रुपमा सम्मान गरेको छ । राज्य धर्म निरपेक्ष भएको हुनाले आज सबै धर्मका चाड पर्वहरु राष्ट्रिय चाड भएका छन् । सबै चाडहरुमा राज्यले छुट्टी दिने निर्णय गरेको छ । यसले जातीय संस्कृति अन्त्य भई बृहत्तर राष्ट्रिय जनसंस्कृतिको जग बस्न थालेको छ । सबै धर्म र संस्कृतिहरु स्वतन्त्र भएका छन् । पहिलाको तुलनामा हाम्रो समाजमा सहिष्णुता बढेको पनि छ । सबै देखिने र जोडिने गरी राष्ट्रिय भावधारामा विन्यस्त भएका छन् । यसले मुलुक सकारात्मक दिशातिर जान थालेको छ ।
अन्त्यमा नेपाली साहित्य जगतमा पछिल्लोपटक वस्तुगत मूल्यहरुको आधारमा सम्यक् धारणा राख्दै सांस्कृतिक रुपान्तरणको लागि एउटा नयाँ कृति जन्मेको छ । यो कृति परिवर्तनकामीहरुको लागि अमूल्य कृति हुनेछ । यसमा समाजशास्त्रीहरु र राजनीतिज्ञहरुको लागि राम्रो खुराक छ । यसमा वैदिक सूक्तहरुका यथेष्ठ प्रमाणहरु छन् । हाम्रा परम्परागत मूल्य मान्यतालाई समायोचित परिस्कार गरी स्थापित गर्न खोजिएको छ । संस्कृतिका प्रकाण्ड विद्वान संस्कृतिविद घनश्याम कोइरालाको यो कृतिलाई समस्त प्राज्ञहरुको चर्म चक्षुले गहनतापूर्वक अध्ययन गर्नुपर्छ । यो सांस्कृतिक रुपान्तरणको क्षेप्यास्त्र हो ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया