जङ्गली जनावरहरु शान्ति चौरमा भेला भए ।
सबै जना भेला भएपछि छट्टु स्याल एउटा ढिस्कोमा चढ्यो र बोल्न थाल्यो, “साथीहरु ! यो नायकले राम्रो काम गरेर हामीलाई समस्यामा पा¥यो । यस्तै हो भने यसले पाँच वर्ष होइन, अरु दश वर्ष शासन गर्छ । हामी त हेरेको हेरै हुने भयौँ । त्यसैले जसरी हुन्छ यसलाई त्यो ठाउँबाट खसाल्नुपर्छ ।”
“उहाँले भनेको ठीक हो । यो वनमा एउटैले यति धेरै समय शासन गरेको इतिहासै छैन । त्यसैले जसरी हुन्छ यसलाई ढाल्नुपर्छ र त्यो ठाउँमा हामी जान पाउनुपर्छ ।” दाह्रे बँदेलले भन्यो ।
सोझो मृग नजिकै थियो, उसले भन्यो, “तपाईँहरुको कुरा मलाई मन परेन । राम्रो काम गरेकालाई किन ढाल्ने ? तल्लो वनका बाघले कति दुःख दिएको थियो हामीलाई, बिस्तारै यिनले मथ्थर पार्दै छन् । हाम्रो सिमाना मिचेको थियो, यिनले फर्काउन खोज्दैछन् ।”
अरु दुई चार जना जनावरहरुले मृगको भनाइमा समर्थन जनाए ।
“हामीले शासन गर्नु परेन ? सधैं उसैले शासन गरेपछि हामीले के गर्ने नि ?” गैंडाले गुनासो ग¥यो ।
“तिमीहरुले काम गर्न नपाएका हौ र ? आफ्नो पालोमा देश र जनाताको भलो हुने काम गर्न सकेनौँ, अहिले अर्काले ग¥यो भनेर डाहा गर्नु हुन्छ ?” चतुरो खरायो बुरुक्क उफ्रियो ।
“खरायो भाइले भनेको कुरा सोह्रै आना सही हो । आफ्नो पालोमा केही नगर्ने, अर्काले गरेको देखेर डाहा गर्ने ! यस्ताले वनको राजनीति गर्न नखोजे हुन्छ ।” लामालामा सिङ हल्लाउँदै जरायोले आफ्नो विचार राख्यो ।
सभामा नायकको विरोध गर्ने भन्दा समर्थन गर्नेको बहुमत देखियो ।
कार्यक्रम संचालक स्याल आफ्नो समूहका साथीहरुको नजिक गयो र खुसुक्क भन्यो, “हामी यहाँ पनि अल्पमतमा प¥यौँ, अब के गरौँ ?”
“केही नगरौँ भागौँ । अर्काले राम्रो काम ग¥यो भनेर बिरोध गर्ने काम राम्रो रहेनछ । आफ्नो पालामा राम्रो गर्न सकिएन ।”
यसो भन्दै बँदेल झाडीतिर पस्यो । अरुहरु पनि एक एक गर्दै भागे । केही समयपछि नायकको बिरोध गर्नेहरु कोही पनि बाँकी रहेनन् ।
प्रतिक्रिया