बिहान चिया पिएर गएको छोरो दिउँसो अबेरसम्म पनि घरमा नआएको हुँदा आमा चिन्तित भइन् । मोवाइलमा पटक पटक फोन गरिन् तर सम्पर्क हुन सकेन भन्ने जवाफ आयो ।
उनले आफ्नो साथीलाई फोन गरिन् “सलिना ! म आदिको ममी गीता बोल्दै छु । हाम्रो बाबु त्यहाँ आएको छ कि भनेर फोन गरेकी हुँ ।”
“आएको छैन । हाम्रो बाबु पनि साथीको घर जान्छु भनेर गएको आएको छैन ।” सलिनाले भनिन् ।
गीताले वरपर खोजिन्, चिनेको ठाउँमा फोन गरिन् । पत्तो लागेन ।
धेरै समयपछि आदिको फोन लाग्यो । उनले केही सोध्न नभ्याउँदै आदिले भन्यो, “म साथीकोमा छु, बेलुकी आउँछु । मेरो चिन्ता नगर्नु ।”
थप कुरा गर्न नभ्याउँदै फोन राख्यो । गीताका मनमा कुरा खेले, ‘कस्तो साथी हो !’
बैठक कोठामा बसेर टिभी हेर्दै थिइन् । टिभीमा युवाहरुले निकालेको जुलुसको प्रत्यक्ष प्रसारण भईरहेको थियो । देशको सीमानामा भएको अतिक्रमणको विरुद्धमा युवाहरुले विरोध गरेको सूचना आइरहेको थियो टिभीको क्याप्सनमा ।
गीताले मनमनै भनिन्, ‘यस्तो बेला यति धेरै मानिस एकैठाउँमा जम्मा नहुनुपर्ने ।’
हेर्दै थिइन्, जुलुसको बीचमा प्लेकार्ड बोकेर उभिएको एउटा युवालाई देखिन् । मनमा शङ्का लाग्यो । ठम्याएर हेरिन्, केही समयपछि उनको शङ्का यथार्थमा परिणत भयो । उनले देखेको युुवा अरु कोही नभएर आफ्नै छोरो आदि थियो ।
जुलुसका बीचमा छोरालाई देखेपछि गीताका मनमा अर्को आँधीहूूरी चल्न थाल्यो ।
उनले मनमनै विचार गरिन्, ‘कोरोनाको संक्रमण बढिरहेको बेला जुलुसमा गएर यसले राम्रो काम गरेन । भीडमा जाँदा कोरोना स¥यो भने के हुन्छ ?’
त्यसपछि उनको मन अमिलो भयो ।
एकैछिनपछि फेरि सोचिन्, ‘कसै न कसैले अन्यायको विरोध त गर्नै पर्छ । यो बेला कोरोनासँग डराएर बस्नेभन्दा देशको सीमाना जोगाउने कुरा प्रमुख हो ।’
छोरामा राष्ट्रवादी चेतना अभिवृद्धि भएकोमा गीताको मन खुशीले पुलङ्कित भयो । केही समयपछि उनले आफ्नो छोरो ठूलो मान्छे भएको कल्पना गर्न थालिन् ।
प्रतिक्रिया