त्यसदिन उनले
एक चिम्टी सिन्दूरले
मेरो खाली सिउँदो मात्र,
रंगाएको झै लागेको थियो
होइन रहेछ !
त्यो रातो रंगले त
जीवनको लक्षमण
रेखा पो कोरेका रहेछन्
समय बदलिंदै जाँदा
ती सिन्दूरका कण कण
कुनै कर्तव्य भए
कुनै नैतिक भए
समय सापेक्ष रंग बिस्तार हुँदै
मनको चौघेराभित्र
काँढेतारमा परिणत भए
विकाससँगसँगै
ती सिन्दूरका कण
मेरो जीवनको सीमानामा
ग्रेटवाल भएर उभिए
यस अर्थमा म खुसी छु
उनले मलाई दिएको
एक चिम्टी सिन्दूरको उपहार
मेरो भाग्य सीमानाका स्तम्भ भए
प्रतिक्रिया