श्रीमान प्रहरीका जागिरे । घरिघरि सरुवा भइरहने । केही समय त श्रीमानकै साथमा लागिन् उनी । २०४९ सालदेखि भने रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ नम्बर वडामा पर्ने महुँवारी गाउँमा घरगृहस्थीसँगै खेती किसानी र पशुपालनमा व्यस्त रहिन् पार्वती । उनले सन्तानका स्याहार सुसार गर्दै आफ्नो मिहिनेतको यात्रालाई निरन्तरता दिइरहिन् ।
अंशबण्डामा पाएको १४ कठ्ठा जमिन र चिटिक्क परेको सानो घर पुख्र्यौली सम्पत्ति थिए उनीहरुका । प्रगतिशील महिला बहुउद्देश्यीय सहकारी संस्था र महिला विकास कार्यालयबाट लिएका कर्जा मिसाएर आठ हजारमा एउटा भैंसी किनिन् र दुई हजारले सानो घरमा पाली थपिन् र गोठ बनाइन् ।
भैंसीसँगै गाईपालन सुरु गरिन् । दैनिक ४५/५० लिटर दूध आफैहरु मिलेर खोलेको शिवशक्ति दुग्घ सहकारी संस्थाले सञ्चालन गरेको डेरीमा दूध बेच्न पुग्छिन् । दूध बेच्न थालेपछि उनको आर्थिक अवस्थामा परिवर्तन हुन थाल्यो । गोठमा गाईहरु थपिन थाले र काम पनि । अहिले उनको गोठमा एउटा भैंसी र आठवटा गाईहरु छन् । दुईवटा दुहुना र छवटा व्याउने गाईहरु छन् । गाईहरु ब्यायपछि दैनिक ६०/७० लिटर दूध बेचिने पार्वतीले बताइन् । गाईको स्याहार सुसार गर्न एकजनालाई रोजगार दिएकी छन् ।
श्रीमान् रामबहादुर खत्री २०५६ सालमा प्रहरी हवल्दार पेन्सन निस्किएपछि कोरियातिर हुँइकिए । श्रीमानको तीनवर्षको कमाइले उनीहरुले कोटिहवामा टेन्ट हाउस सञ्चालन गरे । प्रायः गैह् नेपालीहरुले सञ्चालन गर्ने यो पेसाले उनीहरुलाई राम्रै आम्दानी दिदैं आएको छ । तीन लाखबाट सुरु गरेको टेन्टमा अहिले ६/७ लाख लगानी रहेको छ । उनको टेन्ट हाउसमा स्थानीय तीन÷चार जना युवाहरुले टेन्ट टाँग्नका लागि सिजनमा चार/पाँच महिना सिजनल रोजगार पाउने गर्दा रहेछन् । टेन्टका सामान ओसार–पसार गर्न ट्रेक्टर समेत किनिन् । पछिल्लो समय पार्टी प्यालेसहरुमा शुभ–कार्यहरु हुन थालेपछि यो पेसा धरापमा पर्दै गएको चुनौती सुनाइन् पार्वतीले ।
पसिनाको मूल्य बुझेकी पार्वती आँटिली छिन् । काममा उनको निरन्तरता छ । हिम्मत र सुझबुझका साथ अघि बढिरहेकी छन् । टेन्टको ओसारपसार गर्न किनिएको दुईवटा टेक्टरले खेत जोत्न अनि ढुंगा,गिट्टी र बालुवा बोक्ने काम समेत पाएको छ । ट्रेक्टरले करिव सात/आठ जना स्थानीय युवाहरुलाई दैनिक रोजगार दिदों रहेछ । व्यवस्थापन गर्ने मान्छेको अभावमा भएको एउटा माइक्रो बस भने बेचिन् ।
पुख्र्यौली १४ कठ्ठा र जेठाजू अनि ससुराहरुका जग्गा समेत अघियाँ गरेर वर्षेनी धान,गहुँ,मुसुरो लगायतका दलहन बेचेर मनग्य आम्दानी गर्दै भएको पार्वतीले बताइन् ।
उमेर १४ वर्ष पढाई सात कक्षा । विहे हुँदाको विवरण हो पार्वती खत्रीको । त्यो कुरा २०४३ को हो । श्रीमान् रामबहादुर खत्री नेपाल प्रहरीमा जागिरे । विहेपछि दुईवर्षसम्म पढिन् । उनका माइती यतै बुटवल बस्थे । सोही कारण बुटवलको कान्ति माविमा पढेकी थिइन् उनले । कक्षा नौंसम्म पढेकी पार्वतीको औपचारिक पढाई कम भएपनि व्यवसायिक पढाई भने कुनै डिग्री होल्डरको तुलनामा कम छैन । विहेपछि श्रीमानले पढ्न कर गरेकै थिए तर उनलाई खोइ ! किन जाँगर चलेन ।
आफूले सोचेजति नपढेपनि तीन छोरीहरुलाई प्राविधिक शिक्षा तर्फ उच्चतम शिक्षा हासिल गराउँदैछिन् । जेठी छोरी पूजाले अष्ट्रेलियामा एमएन्को तेस्रो सेमेष्टर पढ्दैछिन् । आम्दानी पनि गर्न थालेकी छन् । माईली छोरी आरतिले भारतको बेङ्लोरबाट आँखाको डाक्टर पूरा गर्नेक्रममा बम्बैको अस्पतालमा इन्टर्नसीप गर्दैछिन् । कान्छी छोरी आर्जुले बिएमएलटी तेस्रो सेमेष्टर परीक्षा दिने तयारीमा छिन् ।
छोरीहरु भन्दारहेछन् पार्वतीलाई –मम्मी हजूर कम पढेर त यति प्रगति गर्नु भएको छ । धेरै पढेको भए त ? कहिलेकाँही लाग्दो रहेछ पार्वतीलाई त्यस्तै । अनि भन्दैथिइन्–नपढेकै कारण मैले धेरै अवसर गुमाएँ । योग्यताबिनाको अवसर काम नलाग्दो रहेछ ।
सुखी परिवारको एउटा नमूना हो उनको परिवार । श्रीमानको साथ र सहयोगले उनी निरन्तर प्रगतिको यात्रामा छिन् । माइतीतर्फकी साँहिली छोरी पार्वतीको माइती गाउँ काभ्रेको पनौती रहेछ । व्यापारको सिलसिलामा पनौतीबाट उनको माइती बुटवलमा आइपुगेको रहेछ । विहे भएर आएपछि कुनै किसिमका वुहार्तन व्यहोर्न परेन । न त माइतीमा नै बोझिलो कामको भारी बोक्नु परेको थियो ।
पार्वतीका पौरखी कामले उद्यम गर्न चाहने र उद्यमी महिलाहरुलाई उत्साह थप्ने छ । पार्वती घरधन्दा र उद्यममा मात्र अल्झेकी छैनन् । २०५४ सालमा आफूहरु मिलेर खोलेको प्रगतिशील महिला बहुउद्देश्यीय सहकारीकामा करिव आठ वर्ष अर्थात् चार कार्यकाल अध्यक्ष भइन् । अहिले पनि सो सहकारीमा सल्लाहकार र ऋण उपसमितिमा सदस्य छिन् । त्यसैगरी गाउँमै खोलेको शिवशक्ति दुग्घ सहकारीमा लेखा तथा वचत संयोजकका रुपमा क्रियाशील छिन् । गाउँकै महिलामुक्ति आमा समूहमा सदस्य बनेर महिला हकहित र अधिकारका पक्षमा वकालत समेत गर्दै आएकी छन् ।
सहकारीबाट कर्जा लिई सुरु गरेका व्यवसायहरुबाट घडेरी थपिन् अनि नयाँ घर बनाइन् । छोरीहरुलाई उच्च शिक्षा दिदैंछिन् । यो समाजका लागि पार्वती नमूना पात्र बनेकी छन् । सबैका अघि पौरखी पार्वती बनेर पहिचान दिएकी छन् । यी सफलताका मुख्य कारक भनेकै आफ्ना परिवार, परिश्रम,पसिना नै रहेको पार्वतीको तर्क छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
प्रतिक्रिया