”कोरोना ! कोरोना !! हैरान भएँ ।” छोरो आमासँग भुन्भुनायो ।
”अनि के भयो त कोरोना भएनि नभएनि माखो मार्ने होइनस् क्यारे । के पिर भयो र ? खाँदै मोबाईल चलाउँदै बस् ।” आमाले भनिन् ।
”अनि के गर्नु त ? बाहिर जाउँ भने लकडाउन छ । मोबाइल नचलाएर के गर्नु ?” छोराले झर्किँदै जवाफ फर्कायो ।
”हिजो अस्तिसम्म त खाना खान बोलाउँदा पनि ठाउँ छोडेको थिएनस् । आज एक्कासि कोरोनाको कुरा गर्दै छस् ।”
आमा बोल्दै थिइन्, छोराको मोबाइलमा फोन आयो । अघिसम्म बादल लाएको अनुहार एकाएक परिवर्तन भयो । छोरोको अनुहारमा ज्योति देखेर आमा छक्क परिन् ।
”साथीकोमा काम छ, जान्छु है ?” छोराले भन्यो ।
”जानेभए जा, तर माक्स लगाएर जानु ।” आमाले भनिन् ।
एकघन्टा समय लगाएर नुहायो र नयाँ लुगा लगायो । मोजा लगाउनेदेखि टोपी लाउने बेलासम्म ऐनामा हेरेर मुसुमुसु हाँस्यो । बाबाले ल्याइदिएको ब्रान्डेड सेन्ट शरीरभरि छर्केर बाहिर निस्कियो र तीव्र गतिमा बाइक कुदाएर तोकिएको स्थानमा पुग्यो ।
छोरोले आज फेसबुकमा चिनेकी साथीलाई भेट्दै थियो त्यसैले ऊ एकदमै रोमान्चित भएको थियो । मनमनै भन्यो, ”क्या दामी प्रोफाइल ! उनीजस्ती सुन्दरी त कोही छैन होला यस संसारमा । आवाज नि कति मिठो हो ! कोइलीको स्वर जस्तै !”
वरिपरी हे¥यो, धेरै बेरसम्म कोही देखिएन । फोन निकालेर डायल ग¥यो । अलिपर उभिएकी एउटी आमाले फोन उठाइन् । उनलाई देखेर ऊ छक्क प¥यो । अनि नजिकै गएर सोध्यो, ”एक महिनादेखि मसँग कुरा गर्ने तपाईँ होइन ?”
खुशी हुँदै उनले भनिन्, ”हो नि कस्तो न चिनेको ?”
”तर तपाईँको प्रोफाइलमा भएको फोटो त ?”
”मैले मोबाइल चलाउन जान्दिनँ । त्यति मसिना अक्षर आँखाले पनि देख्दिनँ । कसको फोटो परेछ कुन्नि !”
त्यसपछि ऊ सरासर घर गयो र आमासँग भन्यो–ममी आजदेखि नेटको लाईन बन्द गरिदिनु । आजदेखि फाइनल परीक्षाको तयारी गर्नु पर्ने भयो ।
प्रतिक्रिया