एकाबिहानै का…का…भन्दै आगनमा आइपुग्छ काग काफल पाक्यो…काफल पाक्यो…भन्दै खबर लिएर आइपुग्छे काफल चरी सीमानामा को हो को हो भन्दै गस्ति गरिरहन्छे कोइली चरी तर आउँदैन परदेश गएको छोरो बा म फर्किएँ भनेर !
कर्णालीबाट सैपाल जस्तै चिसो लिएर आउँछ हावा हावासँगै आउँछ गुराँसका बासना समाचार माध्यमहरु खबरसँगै आउँछन् राजधानीदेखि यहाँसम्म अनि खबरसँगै सीमाना आउँछ तर पटक्कै आउँदैन सीमाना फिर्ता लिएको खबर
कन्सिरी तात्ने गरि मेरै तालुमा आइपुग्छ घाम कामहरु आइपुग्छन दैनिकी बनेर खेतमा मभन्दा पहिला आइपुग्छन् रुपि, सुगा, जोडी ढुकुर मेरो पसिना सुकाउन आइपुग्छ मेरै शिरमा सूर्य तर आउँदिन सम्झिएर छाडेर गएकी कालेकी आमा
थकान आउँछ निधारदेखि पाउसम्म बुहारी खाजा लिएर आइपुग्छिन साँझ आइपुग्छ अँध्यारो लिएर म घर आइपुग्छु नेपाली नेपालको माया छ कि छैन गाउँदै भाँडाकुटी सकाएर घर आइपुग्छे सानी नातिनी ।
रात परेपछि हुलका हूल काला मान्छे आइपुग्छन सीमापारिबाट बझार्छन् बुट मेरो देशको छातीमा र फर्किन्छ्न् मेरी छोरी बुहारीलाई आँखा तारेर साना नाति नातिनालाई आतंकित बनाउँछन बन्दूक देखाएर सरकार लिम्पियाधुरा,लिपुलेक र कालापानी नक्सामा थपेर गौरव गरिरहेछ म सोचिरहेछु गुमेका भू-भागहरु खातामामात्र थपिन्छन् वा हातमा !
प्रतिक्रिया