
स्वास्थ्यकर्मीमाथि कुटपिट भएका घटनाहरु वेलामौका निकै आउने गर्दछन् । समाचार सुन्दा आफैलाई आश्चर्य लाग्छ । कहिले आफैलाई प्रश्न गर्न मन लाग्छ “स्वास्थ्यकर्मीहरुले त्यस्तो के विराम गरे होलान अनि कुटाइ खानु परेको होला ?” स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारले मनमा कताकता चीसो परेको अनुभूति हुन्छ । जीवन बाँच्नका लागि स्वस्थ हुुनुपर्छ । अस्वस्थ भएको अवस्थामा हरेक नागरिकलाई स्वस्थ बनाउने जिम्मा पाएको वर्ग भनेको चिकित्सक वर्ग नै हो । जसले जीवन बचाउने र बाँच्ने कला सिकाउने हो त्यही वर्गले कुटाइ खान्छन् किन? यस्ता धेरै जिज्ञासाहरु पटकपटक मानसपटलमा आउने गर्दछ ।
हाम्रो मुलुकमा स्वास्थ्यकर्मीले कुटाइ खाने एक पाटोमा छ अर्को पाटोमा कतिपय समयमा अस्पताल तथा स्वास्थ्य चौकीहरु तोडफोड गरेका समाचारहरु समेत आउने गर्दछन् । आखिर किन कुटाइ खान्छन् स्वास्थ्यकर्मी र किन तोडफोडको सिकार बन्न बाध्य छन अस्पताल र स्वास्थ्या चौकीहरु । मेरो मनमा यस्ता कुराहरु सुन्दा निकै जिज्ञासा जाग्ने गर्दछ । आफैम ानिकै घोत्लिने गर्दछु “के स्वास्थ्य संस्था तोडफोड गर्ने र स्वास्थ्यकर्मी कुटपिट गर्नु अन्तिम समाधान हो ?”लाग्छ हिंसा अन्तिम समाधान कहीं कतै हुँदैन । यसमा विश्वास गर्नेहरु कुनै न कुनै दिन आफै यसको सिकार बन्न सक्छन् ।
कुनै पनि शिक्षकले आफ्ना विद्यार्थी असफल होउन भन्दैनन् । सबै शिक्षकले विद्यार्थी सफल होउन भन्ने ठान्दछन् । विद्यार्थी सफल हुनु उनीहरुको खेती सप्रनु जस्तै हो । कुनै पनि किसानले आफूले खेती नष्ट होओस् भन्ने ठान्दैन । आफ्नो खेतीमा असिना परोस् भन्ने कुनै किसान होला ? हजारमा एउटा विद्यार्थी असफल भयो भने शिक्षकको निकै चित्त दुःखाई हुने गर्छ । यस्तै आफूले गरेको खेतीको सानो हिस्सा पनि नोक्सान नहोस् भन्ने चाहन्छन् किसानहरु । कहिलेकाँही आफूले मेहनत गरेको खेतीमा असिना पर्छ त्यति वेला किसान विवश हुन्छ । नोक्सान व्यहोर्नुु पर्दछ । यस्तै माफिक चिकित्सकहरु पनि आफू कहाँ आएको विरामी निको होस्,निको पार्न सकियोस् भन्ने चाहन्छन् । आफूले सक्दो ज्ञान सीप लगाएर विरामी निको पार्ने उनीहरुको ध्याउन्न रहन्छ । चिकित्सकहरुले विरामीको उपचार गर्ने र निको पार्नका लागि आफूले अध्ययन गरेका हुन्छन् । सोही अध्ययनको आधारमा उनीहरुले आफ्नो श्रम र सीप प्रयोग गर्ने गर्दछन् । जसले आफ्नो श्रम र सीपलाई प्रयोग गर्नका लागि उक्त शिक्षा आर्जन गरेका हुन्छन उनीहरुले के अपराध गरेका हुन्छन र उनीहरुको शीरमा लाठी,मुक्का वर्षन्छन् ?
यो समयमा सबै तह र तप्काका स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानलाई जोखिममा राखेर उपचारमा रहेका छन् । कतिपय स्वास्थ्यकर्मीहरु आफ्नो घरसम्म आउन पाएका छैनन् । उनीहरुका पनि जहान बच्चाबच्चीहरु होलान । घर गृहस्थी होला । उनीहरुप्रतिको माया ममता होला । ती सब कुरा विर्सेर उनीहरु एक चित्तले कोरोनासंगको लडाइमा लागेका छन् । वर्तमान अवस्था महायुद्धको अवस्था हो । महायुद्धमा जीवन बच्न सक्छ जान पनि सक्छ । उनीहरु यस्तो महायुद्धको चक्रव्यूहमा रहेर कार्य गरिरहेका छन् तर उनीहरुले स्यावासी पाउनुको साटो उल्टो टाउकामा टाँका लगाउने गरी कुटाइखानु परेको छ ।
विश्वमा कोरोनाको संक्रमण यति तीव्र छ । अन्य मुलुकको मृत्यू दर हेर्ने हो र हाम्रो मुलुकको मृत्यूदर हेर्ने भने निकै फरक देख्न सकिन्छ । नेपालमा खास गरेर भन्ने हो भने कोरोना लागेर अस्पतालमा उपचारको क्रममा रहेकाहरुमध्ये अहिलेसम्म दुई जनाको मात्र ज्यान गएको छ । अन्य संक्रमित अस्पताल नपुगेर वा कोरोना भाइरस पुष्टि नहुँदै ज्यान गएको छ । यसरी हेर्दा नेपालमा अस्पताल पुगेकाहरु अधिकांश उपचार पाएर घर फिर्ता भएका छन् । यो सबै कार्यमा स्वास्थ्यकर्मीको सक्रियताले गर्दा हो ।
कोरोनाबाट संक्रमितहरुको उपचारको क्रममा कतिपय स्वाथ्यकर्मीहरु आफै कोरोना भाइरसबाट संक्रमित भएर आइसोलेसनमा रहेका खवरहरु सुन्ने गरिन्छ । केही जना उपचार पछि फिर्ता भएर काममा लागेको भन्ने सुन्छि भने केही अहिले उपचारको क्रममा रहेका खवरहरु आउने गर्दछन् । यही कुरालाई एकछिन विचार गरौं । स्वास्थ्यकर्मीहरु निको भएर पुनःकाममा फर्केका छन् । उनीहरु पुनःजोखिम मोल्नका लागि तयार छन् । अन्य संक्रमितहरु उपचारपछि आफ्नो घरतर्फ लागेका छन् तर स्वास्थ्यकर्मीहरु पुनःकाममा लागेका छन् । यसको सीधा अर्थ हो उनीहरु यो संक्रमणभन्दा विरामीको उपचारमा रमाउन चाहन्छन् । तर तिनै स्वास्थ्यकर्मीले किन कुटाइ खान्छन् ? मुख्य सवाल भनेको यही हो ।
पछिल्लो घटना अनुसार रौतहट जिल्लास्थित राजपुर नगरपालिकाले सञ्चालन गरेको वैरिया क्वरेन्टाइनमा सेवारत छैठौं तहका स्वास्थ्यकर्मी ( सिनियर अहेव ) खुर्सिद आलमको टाउको फुटने गरि कुटपिट भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । कसैको उक्साहटमा लागेर क्वारेन्टाइनमा बसेकाहरुले उनीमाथि दुव्र्यवहार गरे भन्ने कुरा बाहिर आएका छन् ।
यस्तो कार्यको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । जो ब्यक्ति कोरोनाको संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेको छ र जसले आफूलाई उपचार गर्ने हो उसैले हातपात गर्ने भनेको अति लाज मर्दो कुरा हो । अराजकताको पराकाष्ठा हो । ति चिकित्सकले कुनै कमजोरी गरेका थिए भने कानुनी उपचार खोज्नु पर्ने समयमा कानुन हातमा लिएर हातपात गर्नु भनेको अति निर्लज्ज व्यवहार हो । यस्तो दुव्र्यवहारप्रति कोही मुकदर्शक बनेर बस्नु हुँदैन । संक्रमणको समयमा चिकित्सकहरुप्रति जुन अमानवीय व्यवहार गरियो यसको परिणाम राम्रो आउँदैन । सुरक्षाका कारणले भनेर सबै चिकित्सकहरु एक साथ पछाडि सरे भने के ती क्वारेन्टाइनमा बसेका ब्यक्तिबाट उपचार संभव छ ? त्यति वेला ती क्वारेन्टाइनमा बस्नेहरुको हविगत कस्तो होला र आमनागरिकले के संझने होला ? यो निन्दनीय कार्यको स्वास्थ्यकर्मी संघले विरोध गरेको छ । यसैसंग आम न्यायप्रेमीहरुले आवाज मिसाउनु पर्ने छ । आउनुहोस् एकै श्वरमा भनौ “किन कुटिन्छन स्वास्थ्यकर्मीहरु ?” यसको निन्दा र भत्सना गरौं । पीडिकहरुलाई कानुनी कारवाहीको कुरा अगाडि बढाउनु न्यायसंगत हुनेछ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया