म त्यहाँ पुग्दा कामदारहरू खलबल गर्दै थिए । एक जना दाह्री पालेको भाइले हातमा महङ्गो क्यामेरा समाएर फोटो खिच्दै थिए । मलाई आश्चर्य लाग्यो र सोधेँ, एक जना कामदारले भने, “गाई मरेको छ ।”
नजिकै गएर हेरेँ । एउटा दुधालो गाई भकारोमा मरेको थियो र कामदारहरू त्यसैको व्यवस्थापन गर्दै थिए ।
“रामु साहनी हुनुहुन्न ?” मैले सोधेँ ।
उनै कामदारले सङ्क्षिप्त उत्तर दिए, “आउँदै हुनुहुन्छ ।”
त्यसपछि म मेरो मोवाइलको सहायताले वरिपरिको तस्वीर लिन लागें ।
अहिले म तपाईँसँग रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ११ शिवपुरचोक नजिकै शिवपुर मा.वि.को पूर्वपट्टिको जग्गामा रहेको ‘तारा पशु तथा कृषि विकास फर्म’ को बारेमा चर्चा गरिरहेको छु ।
यस कृषि विकास फर्मका मालिक हुन् रामकिसन केवट । तर स्थानीय मानिसहरू उनलाई रामु साहनीका नामले चिन्दछन् ।
शिवपुर माध्यमिक विद्यालयको नाममा रहेको करिब १ बिघा १३ कठ्ठा ५ धूर क्षेत्रफल जग्गा भाडामा लिएर कृषि फर्म चलाउँदै आएका रामु साहनी यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउँछन् ।
सातोटा माउ भैसी, बाह्रोटा माउ गाई, करिब एक सयको संख्यामा आफैले उत्पादन गरेका विकासे जातका बाख्रा, हाँस, कुखुरा आदि पशुपङ्छी रहेका छन् ।
आफूसँग भएका गाई र भैसीबाट दिनमा करिब सय लिटर दुध हुने र उक्त दुध स्थानीय डेरी तथा आवश्यकताअनुसार मणिग्रामको डेरीमा समेत जाने बताउछन् ।
“दुध बिक्रीमा कुनै समस्या छ की ?” भन्ने प्रश्नको उत्तरमा उनी भन्छन्, “किन नहुनु छ । लकडाउन नभएको समयमा कुनै समस्या थिएन । त्यतिबेला डिडिसी पनि भएको हुनाले हाम्रो दुध सहजै बिक्थ्यो । तर यो लकडाउन शुरु भएपछि केही समय त निकै गाह्रो भयो । दुध नबिकेर के गरौँ र कसो गरौँ भन्ने भयो ।” मुसुक्क हाँस्दै उनले भने, “अहिले बिस्तारै सहज हुँदै गइरहेको छ ।”
साहनी दुध प्रतिलिटर ५० देखि ६० रुपियाँमा बिक्ने बताउँछन् । उनी भन्छन्, “लकडाउनले गर्दा नाफा घाटा बराबरजस्तै छ । लकडाउन पूर्व हजार पर्ने दाना अहिले एक हजार नौ सयमा किन्नुपर्छ । कस्तो गाह्रो छ । लकडाउन नहुँदै राम्रो वचत थियो । अहिले समस्या परेको छ ।”
साहनीका गोठमा करिब एक सय गोटा उन्नत जातका बाख्रा पनि छन् । उनी भन्छन्, “यी बाख्रा यहीँ गोठमा बोयर जातिका बोकाबाट क्रस गराएर जन्मेका हुन् । सबै पाठी हुन् । उन्नत जातका बोका दुईटा मात्र छन् ।
गोठमा माउ गाई भैसी एकापट्टि र साना पाडापाडी र बाच्छाबाच्छी अलग्गै राखिएको थियो । बाख्रा थुन्ने गोठ, हाँस र कुखुराका खोर छुट्टाछुट्टै स्थानमा थिए । यसका साथै नजिकै ठूला ठूला पोखरी पनि थिए ।
ती पोखरीका बारेमा मैले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, “दश दश कठ्ठाका दुईटा र तीन कठ्ठाको एउटा पोखरी छ । सानो पोखरी भुरा माछा हुर्काउनका लागि हो । सानो पोखरीमा भुरा ल्याएर हाल्ने अनि तिनी हुर्केर २०० ग्रामभन्दा माथि भएपछि ठूला पोखरीमा हाल्ने गरिन्छ ।”
दुईटामध्ये एउटा पोखरी सुख्खा थियो । त्यो पोखरी देखाउँदै उनले भने, “यसमा अस्तिसम्म माछा थिए । सबै बिक्री भए । अब यसको पानी सुकाएर यसमा पुनः तयारी गर्नुपर्छ । हाम्रोमा छ किसिमका माछा छन्– नैनी, कमन, ग्रास, रहु, बिरगेट र सिलभर । पोखरीमा माछा हाल्दा सबै किसिमका माछा प्रतिशतका आधारमा मिलाएर हाल्नु पर्छ । एउटै पोखरीमा छ थरि माछाहरू तहगत रुपमा बस्छन् । सिल्भर सबैभन्दा माथि बस्छ । त्यसभन्दा तल अर्को अर्को गर्दै कुनै माछा पिँधमा मात्रै बस्छ । माथि बसेका माछाले गरेको विष्टा तलका माछाले खाएर हुर्कन्छन् ।”
“लकडाउनको बेला माछा बिक्रीमा समस्या परेन ?” मैले सोधेँ ।
उनले भने, “खासै समस्या परेन । मानिसहरूमा अरु मासुभन्दा माछा स्वास्थ्यकर हुन्छ भन्ने धारणा रहेको छ । त्यसैले माछा बेच्न कुनै समस्या छैन ।”
मरेका गाईसम्बन्धी जिज्ञासामा उनले भने, “यसको बीमा गरेको छु । बीमाले ९० प्रतिशतसम्म रकम दिन्छ । त्यसैले खासै समस्या छैन । त्यसैको फोटो खिच्न आएका हुन् यी भाइहरु ।”
उनले थपे, “थुनेलो रोगले मरेको हो । यो रोग पत्ता लगाउन गाह्रो हुन्छ । चारोटा थुनको अलग अलग दुध दुहेर जाँच्नु पर्छ । त्यो जाँच्ने सुबिधा यहाँ छैन । उस्तै परे काठमाडौँसम्म पु¥याउनु पर्छ । त्यसैले समस्या छ ।
स्थानीयस्तरमै उत्पादन भएका होलिष्टेन जातका गाई हुन् यी । भारतबाट ल्याउन पनि साह्रै गाह्रो छ । असल जातको गाई दिँदैनन् । सामान्य खालको गाई ल्याएर केही काम छैन । त्यसैले यतै उत्पादन गर्छौँ । ५०⁄६० लिटर दुध दिने गाई पनि हुन्छन् । तर त्यस्ता गाई हामीले पाउँदैनौँ । हामीले पाल्ने गाई भनेको १५⁄२० लीटरसम्म दुध दिने गाई हुन् । भैसी कुनै स्थानीय जात र कुनै मुर्रा छन् ।”
पहिलेदेखि चिनेका आधारमा मैले सोधेँ, “तपाईँ त राजनीति पनि गर्नुहुन्छ । राजनीति गर्ने मानिसले यस्तो कृषि फर्म चलाएर बस्न कसरी सम्भव भयो ?”
हाँस्दै उनले भने, “पहिलेदेखि नै राजनीतिमा लागियो । अहिले नेकपाको तर्फबाट अखिल नेपाल किसान महासंघको जिल्ला इन्चार्ज छु । कृषि पेशा राम्रो हो र नेपालको लागि कृषि पेसालाई जगको रुपमा विकास गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा रहको छ ।
हाम्रो पुख्र्यौली पेसा पनि यही हो । हाम्रा बाबुबाजेहरू कृषि पेशामै निर्भर थिए । म सानो छँदा पनि मेरा बाआमाले गाई भैसी पाल्थे । दुध, दही, घिउ खाने चलन थियो । उहाँहरू त झन् साकाहारी हुनुहुन्थ्यो । सानैदेखि गाई भैसी पाल्दै आएको हुनाले यो पेशा मलाई मन परेको हो । यस सम्बन्धी कुनै तालीम पनि लिएको छैन । आफै गर्ने आफै सिक्ने गरेको छु ।”
आफ्नो इतिहास कोट्याउँदै उनले भने, “वि.सं. २०५४ सालतिर तीन चार हजार कुखुरा पालेको थिएँ । कुखुराको अप्रेशन गर्न र उपचार गर्न पनि सिकेको थिएँ । कुखुरामा लाग्ने रोगको बारेमा पनि जानकारी थियो । पछि राजनीतिमा व्यस्त हुनुपरेकोले कुखुरा पालनको काम रोकियो । पछि राजनीतिमा सहजता आएपछि पुनः यही कृषि पेशा शुरु गरेँ ।”
“कृषि कार्यका लागि सरकारले सहुलियत ऋण पनि दिन्छ क्यारे ?” मैले सोधेँ ।
उनले भने, “सरकारले ऋण त दिन्छ । तर कागजपत्र मिलाउनै समय लाग्छ । त्यसैले मैले त स्थानीय बैंकहरूबाट ऋण लिएर काम चलाएको छु । यो सबै काम स्थानीय वडामार्फत् गर्ने नीतिगत व्यवस्था हुने हो भने सहज हुने थियो ।”
सरकारका काम कारवाहीका बारेमा उनले भने, “स्थानीय सरकारले किसानका दैनिक समस्या समाधान गर्न सहजीकरण गर्नु पर्छ । त्यसैगरी प्रदेश सरकारहरूले उन्नत जातका पशुपङ्छी आदिको व्यवस्थापन गरिदिनु पर्छ । हामीलाई दैनिक काम गर्ने जनशक्तिको पनि समस्या छ । त्यसैले स्थानीय वा प्रदेश सरकारले यस्ता कृषि फर्ममा काम गर्ने मजदुरहरुको व्यवस्थापन गर्ने, कार्ड बनाइदिने लगायतका काम गर्दा राम्रो हुन्छ । कृषि फर्ममा काम गर्ने मजदुरहरुको सुरक्षाको व्यवस्थाका बारेमा सरकारहरुले नीतिगत व्यवस्था गरिदिनु पर्छ । उत्पादित कृषि उपजको भण्डारण तथा बिक्री वितरणमा पनि सहजीकरण गर्नुपर्छ । त्यसका अरु परिकारहरु कसरी बनाउने भन्नेतिर पनि ध्यान दिनुपर्छ ।”
मैले अन्तिममा सोधेँ, “तपाईँजस्ता युवाहरू दिनहुँ विदेश गइरहेका छन् । तपाईँलाई विदेश जान मन लागेन ?”
हाँस्दै उनले भने, “विदेश गएर के हुन्छ ? विदेश जान खर्च गर्ने पैसा नेपालमै लगानी ग¥यो भने विदेशमा कमाउने पैसा यहीँ कमाइन्छ । यी हेर्नोस् म आफू पालिएको छु, साथै म बाहेक छ जनालाई रोजगारी दिएको छु । मेरो के छ र यहाँ ? जग्गा स्कुलको हो, पैसा बैंकको । मेरो शाहस मात्रै हो । त्यसैले नेपालमा काम गर्छु भन्यो भने जग्गा जति पनि पाइन्छ । राम्रो योजना तथा कार्यक्रम भयो भने बैंकले पैसा पनि दिन्छन् । त्यसो भएपछि किन जानुप¥यो विदेश । म त यहीँ खुसी छु ।”
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
प्रतिक्रिया