
जल, जमिन, आकास, बायु र प्रकाश प्राणीका जीवन जीउने मूल आधारहरु हुन । हामी मानव पनि एउटा प्राणी भएका कारण हाम्रो अस्तित्वको मूल आधार पनि यी पाँच तत्व नै हुन । मानव शरिरको अस्तित्व पनि यी पाँच भौतिक तत्वहरुको मिश्रण नै हो । हामी यस धर्तिमा जन्मन्छौ हुर्कन्छौ र यहि धर्तिमा विलिन भएर जान्छौ । जन्म र मृत्यु वीचको समय नै मानव जीवन हो । हामी हावा बिना केहि मिनेटमात्र वाच्न सक्छौ, पानी बिना केहि दिन बाच्न सक्छौ, प्रकाशको अनुपस्थितिमा धेरै समय बाच्न सक्दैनौ भने हामीलाई आवश्यक अनाजहरुको उत्पादन प्रकाशको अभावमा संभव छैन । आकासको (खुल्ला स्थान) अभावमा हामी एक क्षण पनि उताउता गर्न सक्दैनौ । मानव जीवनका लागि यी पाँच भौतिक तत्वहरु जहाँ हामीसंगै सहज रुपमा प्राप्त भएका छन् त्यहाँ हामीले यसको महत्वलाई त्यति गंभिरताका साथमा लिदैनौ र जाहाँ यी बस्तुहरुको अभाव र दुर्लभता हुन्छ त्यहाँ मात्र हामी यसको महत्व राम्रोसंग बुझने र पुज्ने गर्दछौ । यस प्रकृतिमा रहेको जल, जमिन, जंगल, पाहाड, हिमाल, जडिबुटी, नदि, तालतलैया लगायत सवै प्रकारका जीव तथा प्राणीहरु प्रकृतिका उपज हुन । यी बस्तुहरु हाम्रो प्रकृतिका बरदानहरु हुन । हामीले यी अमुल्य प्रकृतिका बरदानहरुलाई मानव जीवन र समग्र प्राणीहरुको उन्नतीका लागि कसरी सदुपयोग गर्दछौ भन्ने विषय नै अहम प्रश्नको विषय हो ।
हुन त सवै प्राकृतिक विषयहरु मुल्यावान नै छन् त्यसमा पनि हरित प्रकृति प्राणीका लागि अति नै महत्व राख्ने अक्सिजनको मूल श्रोत हो । यस धर्तिमा प्राणीहरुको लागि अति नै महत्वपूर्ण तत्व अक्सिजन हो । यस पृथ्वीमा गरिने कृषि क्षेत्रको हरियालीले हामीलाई बाच्ने आधार दिन्छ भने बनजंगलहरु हामी रमाउने र कमाउने आधारभूमिका रुपमा रहेकाछन । हामीले हाम्रो वरिपरि रहेको यस हरित क्षेत्रलाई बेवास्ता गर्ने र अन्न लगायतका बस्तुमा विदेशीको भरपर्ने प्रवृति बढीरहेको छ । नेपालीको आत्मनिर्भरता र स्वाभिमानको प्रतिकको रुपमा रहेको कृषि तथा बन क्षेत्रहरुलाई व्यापक रुपमा औधोगीकरण र व्यवशायीकरण गर्नु अहिलेको नेपालको समृद्धिको एउटा मुल आधार पनि हो । त्यसै महत्वलाई बुझेर हामीले विगतदेखि नै हरियोे बन नेपालको धन भन्ने नारा लगाइ पनि रह्यौ तर यसलाई बास्तविक रुपमा व्यवहारमा कार्यान्वयन गर्न सकेनौ । अव यस नारालाई व्यवहारमा साकार पार्दै नागरिकको जीवनलाई समृद्ध बनाउने बेला आएकोछ । मानिस र हरियाली बन दुवै प्रकृतिका रचनाहरु हुन । उनीहरु वीचको अन्तरसम्बन्ध मानिसको आदीम कालदेखि नै अन्योन्याश्रित छ । नेपालमा बनको संरक्षण, विकास, व्यवस्थापनको बारेमा नेपालमा कसरी सँस्थागत रुपमा शुरुवात भयो र बनसंग मानव जीवनको अन्तरसम्वन्धका बारेमा बदलिएको परिस्थितिमा कसरी उद्यमशीलतासंग जोडन सकिएला भन्ने बारेमा यस लेखमा केहि चर्चा गर्न खोजिएकोछ ।
नेपालमा बन व्यवस्थाको पृष्ठभूमि ः
नेपालको बन इतिहासलाई पछाडी फर्केर हेर्दा बि.सं २००८ सालमा बन मन्त्रालयको स्थापना भएको पाइन्छ भने नेपालमा जनताले उपभोग गर्दै आएको बनलाई सरकारले पहिलो पटक व्यवस्थित रुपमा संचालन, संरक्षण तथा व्यवस्थापनका गर्ने भन्दै जनतको स्वमित्ववाट राज्यको नियन्त्रणमा ल्याउनका लागि राष्ट्रियकरण ऐन २०१३ ल्यायो । त्यसै गरी सरकारले बनलाई बन ऐन २०१८ र बन संरक्षण ऐन २०२४ ल्याई बन व्यवस्थापन गर्ने प्रयास गरेको पाइन्छ भने बनवाट उत्पादीत काठपातहरुको विक्रिवितरण गर्ने सोचका साथमा बन पैदावर विक्रवितरण नियमावली २०२७ जारी गरेको पाइन्छ । यति हुदाहुदै पनि नेपालमा पंचायति व्यवस्थाको स्थापना पछि बनको व्यवस्थापन भन्दा व्यापक रुपमा बन फडानी भएको पाइन्छ । जसका कारण सन् १९७० अर्थात वि सं २०२७ सालमा नेपालको बन फडानीको अवस्थालाई देखेर विश्व बैकले अत्यन्त चिन्ता व्यक्त गर्दै यदि नेपालमा बन फडानीको अवस्था यस्तै रहेमा नेपालको पाहाडी र तराईको बन अवको १५ र २५ बर्षमा सखाप भएर जानेछ भन्ने भनाई व्यक्त गरेको थियो । यसरी नेपालमा भएको व्यापक बन फडानीवाट अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भएको भनाइवाट नेपालको बन मन्त्रालय र सरकार केहि सचेत बन्दै बन व्यवस्थापनलाई नयाँ दिशामा अगाडी बढाउनु पर्दछ भन्ने सोच विकास भएको देखिन्छ ।
नेपालको बन व्यवस्थापनमा नयाँ मोड ः
अव नेपालको सरकारी बनलाई सरकारको नियन्त्रमा मात्र राखेर बचाउन सकिदैन र तसर्थ समुदायलाई यसको संरक्षण, विकास र लाभमा पनि सहभागी बनाउदै अगाडी बढाउन आवश्यक छ भन्ने सोचवाट २०३० साल श्रावण २५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँ पंचायतलाई त्यस गाउँ पंचायतमा रहेको बनको संरक्षण र विकास गर्ने अधिकार प्रदान गरिको थियो । यसै सालमा चितवनमा रहेको जंगललाई चितवन राष्ट्रिय निकंजको रुपमा स्थापना गरियो भने २०३२ मा सगरमाथा छेउछाउको जंगललाई पनि सगरमाथा राष्ट्रिय निकुंजको रुपमा स्थापना गरी बन व्यवस्थापन र संरक्षणको नयाँ प्रयोगहरु थालनी गरियो । यसरी गरिएका नयाँ प्रयोगवाट केहि सकरात्मक परिणामहरु आउन थाले पछि २०३३ सालमा जनसहभागीतालाई प्रोत्साहन गर्ने गरी राष्ट्रिय बन योजना तयार गरियो । त्यस पछि २०१८ को बन ऐनलाई शंसोधन गरी २०३४ सालमा पंचायती बन नियमावली २०३५ र २०२४ को बन संरक्षण ऐन लाई शंसोधन गरी पंचायत संरक्षित बन ऐन २०३५ जारी गरियो । यी बन व्यवस्थापनका विविध ऐन तथा नियमावलीहरुले नेपालको बन हरियो धनको नारालाई साकार बनाउने सोच लिएको पाइन्छ । यस सोचको कार्यान्वयनका लागि समुदायलाई पनि बनको संरक्षण, विकास र व्यवस्थापनमा सहभागी बनाउदै लैजाने तर्फ अगाडी बढेको देखिन्छ ।
सामुदायिक बन उपभोक्ता समितिहरु नै बनको रक्षक बन्न गए ः
विगतका विभिन्न प्रयोगहरुवाट अव नेपालको बनलाई संरक्षण गर्ने, विकास गर्ने, व्यवस्थापन गर्ने र समुदायहरुलाई यसवाट लाभान्वित बनाउनु पर्दछ भन्ने सोचका साथमा २०४६ सालमा बन विकास गुरुयोजना निर्माण भयो । यस पछि २०४९ सालमा गएर सामुदायिक बन ऐन २०४९ पारित भयो र २०५१ मा पुग्दा सामुदायिक बन नियामावली नै पारित भई सामुदायिक बनहरुलाई कानूनी रुपमा नै बलियो बनाइयो र सामुदायिक बनहरु नेपालका बनको रक्षकका रुपमा स्थापित हुन पुगे । यस पछि नेपालमा सामुदायिक बन विकासले तीव्रता लिदै गयो भने नेपालमा बन व्यवस्थापनको यो नमुना कार्य विश्व बन व्यवस्थापनमा एउटा नमुना कार्यको रुपमा मात्र चर्चा भएको होइन यो त बन विज्ञान विश्व विद्यालयको समेत अध्ययनको विषय बन्न पुग्यो । यो एउटा नेपाला सामुदायिक बनका अभियन्ताहरुको समेत गर्वको विषय बन्न पुग्यो । बन व्यवस्थापनको विकासको यो गति २०७१।०७२ सम्म आईपुग्दा नेपालमा १८,९६० सामुदायिक बन स्थापना भई १७,९८,७३३ हेक्टर बन सामुदयिक बनको कार्यक्षेत्र बन्यो भने यस अवधिमा २३,९९,७५५ स्थानीयहरु बनको उपभोक्ताको रुपमा समाहित हुन पुगे । हाल पछिल्लो समयमा आएर सामुदयिक बनको संख्या करिव २२ हजार पुगी २२ लाख हेक्टर बनक्षेत्रलाई संरक्षण र विकास गर्दै २९ लाख उपभोक्ताहरुको वीचमा पुगि सकेको छ ।
सामुदायिक बनमा संचालन गर्न सकिने कार्ययोजनाहरु ः
नेपालको कुल भूभागको करिव ४० प्रतिशत भूभाग करिव ५९,००० बर्ग कि.मि बनक्षेत्रले ओगटेको छ । हुन त नेपालको बनको परिभाषा हेर्दा तरार्इृमा फैलिएको उष्णप्रदेशीय सदाबहार जंगलदेखि हिमालमा रहेको शीतमरुभूमिको टुन्डा बनस्पतिसम्मको भूभागलाई बनक्षेत्रको रुपमा लिइएको छ । यसरी हेर्दा नेपालको तराइदेखि हिमालसम्म नै बन फैलिएको छ । यो बनक्षेत्रमा विभिन्न बन पैदावर, बन्य जन्तु, विविध जातको किटपतंग तथा चराचुरुड.ीको बासस्थान रहेको छ । नेपालको यस उर्वर भूभागमा बाँझो जमिन, नदी–नाला, ताल–तलैया, घासे मैदान, अमुल्य जडीबुटीहरु, महत्वपूर्ण खानीहरु, मनोरम प्राकृतिक दृश्य आदि रहेका छन् । हालसम्म यस बनक्षेत्रलाई हामीले काठ दाउरा संकलन र उपयोग गर्ने, अव्यवस्थित रुपमा जडीबुटी तथा पत्थरहरुको संकलन तथा बेच विखन गर्ने र चुरेमा रहेका चुनढुंगालाई व्यवशायिक रुपमा उपभोग गर्ने, केहि बनजंगलहरुलाई राष्ट्रिय निकुंजको रुपमा प्रयोग गर्ने, केहि बनजंगलमा पर्यापर्यटनका कार्यक्रमहरु संचालन गर्ने कार्यहरुको शुरुवात भएका छन् । नेपालको यस बहुमुल्य बनलाई कसरी सुव्यवस्थित रुपमा उपयोग गर्ने भन्ने बारेमा योजनाहरु भए पनि यी योजनाहरुलाई व्यवस्थित रुपमा संचालन गर्ने भन्ने बारेमा आवश्यक ध्यान पुगेको देखिदैन । अहिले नेपालको बनक्षेत्रको संरक्षणमा महत्वपूर्ण उपलव्धिहरु भए पनि अव नेपालको बनको संरक्षणका साथमा यसको सदुपयोग गर्दै बनलाई नागरिकको जीविकोपार्जनसंग जोडेरलानु पर्दछ भन्ने सोचका साथमा बनको ऐन तथा नियमावलीहरुमा यस खालका सोचहरुको विकास भएको छन् । यस आर्थिक बर्षमा पनि संघीय सरकार तथा प्रादेशिक सरकारहरुको नीति तथा कार्यक्रमहरुमा बनक्षेत्रलाई पर्यापयटन तथा विविध प्रकारका उद्यमशीलताहरु तर्फ डोर्याउनका लागि नीति, कार्यक्रम तथा बजेटहरुको समेत व्यवस्था गरिएको देखिन्छ । अव नेपालका सवै सामुदायिक बनहरुले आफ्नो कार्यक्षेत्रमा बनको संरक्षण र विकासका योजनाका साथमा पर्यापर्यटन र उद्यमशीलताको विकासका लागि गहिरो अध्ययन गर्दै कार्ययोजनाहरु बनाउने कार्यमा आफुलाई केन्द्रित गर्न आवश्यकछ । यसका लागि सरकारले विनियोजन गरेको बजेटलाई सजिलोसंग आप्mनो सामुदायिक बनमा माग गर्नका लागि मौखिक रुपमा प्रस्तावहरु लानु भन्दा पनि अग्रिम रुपमा उद्यमशीलता र पर्यापर्यटनको गुरुयोजना बनाउने कार्यमा लाग्न आवश्यक छ ।
सामुदायिक बनमा के कस्ता योजनाहरु संचालन गर्न सकिएला त ?
हामीले आफ्नो सामुदायिक बनको प्रकृति र भौगोलिक अवस्थाहरुको बारेमा अध्ययन गरी निम्न लिखित कार्ययोजनाहरु संचालन गर्न सकिएला जस्तो लाग्छ ।
१.कृषि तथा पशुपालन ः
बनको प्रकृति र त्याहाँको जमिनको अवस्था हेरि बनमा हामीले अदुवा, हर्दि, कुरीलो, तेज पत्ता, कोइरालो लगायतका बाली लगाउन तथा जंगलमा भएका बोट विरुवाहरुको संरक्षण गर्न सकिन्छ भने बनमा विभिन्न प्रकारका फलफुलका बगैचाहरु आँप, लिचि, सुन्तला, कागती, मेवा, कटहर लगायतका फलफुलका बगैचाहरु पनि बनाउन सकिन्छ । त्यसै गरी खाली ठाउँहरुको अवस्था हेरी विविध जातका विशिष्टीकृत फुलका बगैचाहरु निर्माण गर्ने र उक्त फुलको बगैचालाई फुल खेतीको व्यवशायका रुपमा पनि संचालन गर्न सकिन्छ । यदि सामुदायिक बनमा प्रसस्त जग्गा नभएमा सिमित स्थानमा विभिन्न जातका तरकारी तथा फलफुलका नर्सरीहरु बनाउदै उपभोक्ताहरुलाई सस्तो मुल्यमा फुल तथा तरकारीका विरुवाहरु उपलव्ध गराउदै साना साना व्यवशाय गर्न प्रेरित गर्न सकिन्छ । त्यसै गरी हामीले हाम्रा सामुदायिक बनमा विभिन्न जातका कुखुरा, हाँस, टर्की, लौकाट, बट्टाई, कालिज लगायतका पंक्षिहरु पालन गरी व्यवशाय संचालन गर्न पनि सकिन्छ । त्यसै गरी बनक्षेत्रमा विभिन्न जातका बाख्राहरुको पालनपोषण गरी बाखापालन
व्यवशाय पनि गर्न सकिन्छ ।
२.जडीबुटी खेती ः
नेपालका बनक्षेत्रमा ज्यादै महत्वका जडीबुटी रहेकाछन भनिए पनि यसका बारेमा व्यवस्थित रुपमा अध्ययन अनुसन्धान गर्ने कार्य हुन नसकेका कारण बहुमुल्य जडी बुटीहरुको पहिचानविहिन अवस्थामा खेर गईरहेका छन् । पहिचान भएका कतिपय जडिबुटीहरु पनि ज्यादै नगन्य मुल्यमा भारत तथा अन्य देशमा निकासी हुने र फेरी तीनै बस्तुहर प्रशोधन भई नेपालका औषधि उद्योगहरुमा कच्चा पदार्थका रुपमा बढी मुल्यमा किन्नु पर्ने अवस्था रहेकोछ । त्यसैले सामुदायिक बनहरुमा आयुर्वेदका विज्ञहरुलाई बनमा भ्रमण गराई जडीबुटीहरुको पहिचान गरी त्यसको संरक्षण, विकास र व्यवस्थापनको कार्यक्रम संचालन गर्न आवश्यक छ । यसरी आप्mनो बनमा पहिचान भएका जडीबुटीहरुको संकलन, प्रशोधन गरी उक्त जडीबुडीहरु स्वदेशी तथा विदेशी उद्योगहरुलाई बेचविखन गर्न सकेमा यस क्षेत्रले नेपालमा ठुलो संख्यामा रोजगार तथा स्वरोजगारको विकास हुने र राष्ट्रले समेत धेरै आम्दानी गर्न सकिने अवस्था रहन्छ ।
३.पर्यापर्यटनको विकास ः
नेपालको तराई तथा पाहाडमा रहेका बनक्षेत्रलाई अत्यन्त रमणीय पर्यापर्यटनको रुपमा विकास गर्न सकिने अवस्थामा छन् । नेपालको बनक्षेत्रमा बाताबरणको संरक्षण र विकास गर्दै विविध पर्यटनकीय गन्तव्यका रुपमा विकास गर्न सकिने अवस्थाछ । शहरका वरिपरि रहेका सामुदायिक बनहरुलाई शहरी बनको रुपमा विकास गरी त्यस स्थानमा विभिन्न प्रकारका रमणीय पार्कहरु विकास गरी यस क्षेत्रमा धेरैलाई रोजगार, स्वरोजगार बनाउदै पर्यटन व्यवशाय संचालन गर्न सकिन्छ । यस दिशा तर्फ अव क्रमशः सामुदायिक बनहरुको ध्यानाकर्षण हुन थालेकोछ । हामीले विदेशका विभिन्न स्थानमा बनक्षेत्रलाई विशिष्टीकृत खुल्ला प्राणी उद्यान (जु) का रुपमा विकास गरी राम्रा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी लाखौ लाख पर्यटकहरु आउने स्थानका रुपमा विकास गरेको देखेकाछौं । हामीले पनि हाम्रा यी सामुदयिक बनहरुमा यस खालका पर्यटकीय गन्तव्यहरु बनाउने हो भने हजारौ नागरिकहरुलाई रोजगार तथा स्वरोगार बनाउदै राम्रा र आकर्षक पर्यटकीय गन्तव्यवाट लाखौ लाख पर्यटकहरुवाट करोडौ आम्दानी गर्न सकिन्छ । अहिलेको प्रविधिको विकासले गर्दा हामीले इन्टरनेटवाटै पनि विश्वका रहेका धेरै सुन्दर पर्यटकीय गन्तव्यहरु हेर्न र अध्ययन गर्न सकिन्छ ।
हामीले हाम्रा सामुदायिक बनहरुमा पर्यटकीय गन्तव्यहरु बनाउदा विविध विषयहरु चयन गर्न सकिन्छ । जुन सामुदायिक बनको अवस्था कस्तो छ सोहि आधारमा योजनाहरु छनोट गरिनु पर्दछ । हामीले सामुदायिक बनमा बनाउन सकिने केहि योजनाहरुमा विभिन्न प्रकारका जु, रिशोर्ट, विविध विषयका संग्राहलय, स्वास्थ्य पर्यटन सहितका आयुर्वेदिक तथा प्राकृतिक अस्पतालहरु, योग तथा ध्यान केन्द्रहरु, मच्याग सहितका रुखे भ्यु टावर तथा रेष्टुरेन्ट, शान्ति पार्क, खेल पर्यटन, शाहसिक पर्यटन, कृषि तालिम तथा अनुसन्धान केन्द्र सहितका पर्यटन केन्दहरुलाई पर्यटकीय गन्तव्यका रुपमा निर्माण तथा संचालन गर्न सकिन्छ ।
हामीले हाम्रा सामुदायिक बनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दा उक्त गन्तव्यहरुको विविधता र विशिष्टताको बारेमा भने ध्यान दिनु आवश्यक हुन्छ । हाम्रो नेपाली समाजको एउटा पक्ष के छ भने कुनै पनि विषय चर्चामा आउनासाथ गहिरो अध्ययन तथा विश्लेषण नगरी अभियानमा लागी हाल्ने प्रचलनले गर्दा हामीले गर्ने कार्यमा नयाँ तथा विशिष्ठता कम हुने र सवै स्थानका पार्क तथा पर्यापर्यटनका योजनाहरु कपि गरे जस्ता उस्तै उस्तै हुने गर्दछन । जस्ले गर्दा एउटा हेरी सके पछि अर्को हेर्न मन नलाग्ने प्रकृतिका हुन्छन् । त्यसैले हामीले पर्यापर्यटनका योजनाहरु बनाउदा सकेसम्म अरु भन्दा केहि भिन्दै र जुन विषयमा बनाइन्छ त्यस विषयलाई विशेष सूचना पाउन सकिने गरी विशिष्टिकृत गर्ने विषयमा ध्यान दिन सकेमा सवै पर्यटकीय गन्तव्यहरुको महत्व बढने र उक्त स्थानमा पर्यटकहरुलाई जानै पर्छ अन्यथा हामीले नयाँ विषय हेर्नवाट बन्चित भइन्छ भन्ेने संदेश दिन सकिने खालको बनायौ भने त्यसले व्यवशायिकताको पनि बिकास हुन जान्छ ।
अव हामीले व्यशायिकता र पर्यापर्यटन कसरी शुरु गर्ने त ?
– हामीले सामुदायिक बनमा उद्यमशीलताको शुरुवात गर्नका लागि सर्वप्रथम प्रत्येक सामुदायिक बनहरुले आप्mनो कार्यक्षेत्रको बनलाई गहिरो गरी अवलोकन भ्रमण र अध्ययन गर्नु पर्दछ । जस्ले गर्दा आप्mनो बनका श्रोतहरु के के हुन र आप्mनो बनको अवस्था कस्तो छ भन्ने बारेमा राम्रो जानकारी प्राप्त हुनेछ ।
– आप्mनो बन क्षेत्रमा रहेका विविध बन पैदावरहरुको संकलन गर्दै यसको बहुउपयोगताका आधारमा के के गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउने । संंकलन गरिएका काठहरुलाई सोझै बेच्ने वा समिल राखेर थप आम्दानी हुने गरी कार्य गर्ने वा उपभोक्ताहरुको सकृयतामा बनवाट उत्पादित काठहरुको प्रयोग गरी फर्निचर उद्योग संचालन गरी उद्यमशीलतासंग जोडदै उपभोक्ताहरुलाई सस्तो दरमा काष्ठ सामाग्री विक्रि वितरण गर्ने आदी कामहरुको योजना बनाउने ।
– हामीले बनमा रहेको जमिनको अवस्था हेरी के कसरी कृषियोग्य क्षेत्रलाई विभिन्न खेती, फलफुल बगैचा वा बनमा रहेका विविध बोट विरुवाहरु जो खान सकिने खालका छन् तीनीहरुलाई उपभोग गर्न सकिने कार्ययोजना बनाउनु पर्दछ । जस्तै कुरिलो, कोइरालो, च्याउ, न्यूरो, दालचिनी, बेल, जामुन, आँप लगायतका आप्mनो बनमा रहेका उपभोग्य बस्तुहरुको कार्ययोजना बनाउने ।
– बन पर्यापर्यटनको राम्रो क्षेत्र भएकोले यसमा कसरी पर्यटन व्यवशायहरु संंचालन गर्न सकिन्छ र यसलाई कसरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ भन्ने बारेमा यस विषयका विशेषज्ञ तथा अनुभवी व्यक्तिहरुका वीचमा व्यापक छलफल तथा अन्तरक्रियाहरु संचालन गर्नु पर्दछ । यसरी सवै क्षेत्रवाट प्राप्त अवधारणाहरुलाई संपादन गरी बनको पर्यटन गुरुयोजना बनाउने ।
– अहिले विश्व पर्यटनको अवस्थालाई विश्लेषण गर्दा पर्यटकहरु मानिसले बनाएका पर्यटकीय गन्तव्य भन्दा पनि प्राकृतिक अवस्थामा रहेका पर्यटकीय गन्तव्यतिर विस्तारै आकर्षित भएको पाइन्छ । मानिसहरु शहरको कोलाहलवाट केहि समय भए पनि यस्तै प्राकृतिक अवस्थाका पर्यटकीय गन्तव्यहरुको खोजीमा रहेका छन् । तसर्थ हामीले सामुदायिक बनमा साना, आकर्षक र रमणीय संरचनाहरु कसरी बनाउन सकिन्छ भन्ने बारेमा योजनाहरु बनाउने ।
– त्यसै गरी हामीले सामुदायिक बनलाई विभिन्न प्रकारका प्राणी पार्कहरुको रुपमा पनि विकास गर्न सकिन्छ । जस्तै चराचुरुडी पार्क, खरायो पार्क, सर्प पार्क, विभिन्न जातका कुखुराहरुको पार्क, कालिज पार्क, विभिन्न जातको कुकुर पार्क, प्राकृतिक अवस्थाको प्राणी (जु ) पार्क, कोर्काडाइल पार्क, लगायतका अनेकौ पार्कहरुको निर्माण गर्न सकिन्छ । अझ हामीले एउटा जिल्लामा एउटा बनमा एक विशिष्ट पार्कको अवधारणाका रुपमा लैजान सक्यौ भने त्यसले सामुदायिक बनमा विविधता र विशिष्टता पनि कायम हुने र सवै सामुदायिक बनको गरिमा पनि बढने अवस्था हुनेछ ।
तसर्थ हामीले आप्mनो बनक्षेत्रमा रहेको श्रोत साधन तथा अवस्थाको बारेमा गहिरो अध्ययन गरी बन संरक्षण, विकास र व्यवस्थापनको गुरुयोजना बनाउदै उद्यमशील काममा सामुदायिक बनलाई अगाडी बढाउन आवश्यक छ । यसरी हामीले हाम्रा सामुदायिक बनहरुलाई नेपालको समृद्धिको महाअभियानसंग जोडिदै लान सक्यो भने यस अभियानले सामुदायिक बनहरु आप्mना उपभोक्ताको जीविकोपार्जनमा समेत एउटा बलियो आधार स्तम्भको रुपमा विकास हुदै जानेछन् । यस दिशा तर्फ हामी अगाडी बढन थाल्यौ भने समृद्धिको यो अभियानले नेपालले भन्दै आएको हरियो बन नेपालको धनको नारालाई समेत सार्थक बनाउदै नेपालको अर्थतन्त्रलाई स्वाधिन र आत्मनिर्भर बनाउने दिशामा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया