विष्णुप्रसाद सुवेदीले बुटवलको गुरुद्वारा पथमा रहेको आफ्नै घरमा ओम आर्टस् सञ्चालन गरेको पनि तीन वर्ष पुग्यो । त्यहाँ उनले फुर्सदको समयमा पेन्टिङ्गका काम समेत गर्दछन् । आर्टस् र पेन्टिङ्ग उनको सुरुआती समयको रहर र वाध्यता दुबै थिए । २०३२ सालमा चितवनको बीरेन्द्रनगर नगरपालिकाको कुखुरेमा जन्मिएका विष्णु र उनीहरुका परिवार २०३८ सालमा नवलपरासीको सुस्ता त्रिवेणीमा बसाइँ सरेका हुन् । नारायणी गण्डकी माध्यमिक विद्यालयबाट २०४९ सालमा उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेर बुटवल बहुमुखी क्याम्पसबाट आईए पास गरे । बुटवलमा रहँदा बस्दा दिदी रेश्मा आचार्यको विष्णुलाई साथ र सहयोग मिल्यो । कक्षा ८ देखि नै उनले आर्टस् गर्ने पेन्टिङ्ग गर्ने काम गर्थे । पछि उनी स्नातक पढ्ने रहर पालेर काठमाठौं छिरे । सरस्वती बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भएका थिए ।
त्यही क्रममा बाँच्ने आधार फेरि आर्टसलाई नै बनाए । टेकूमा रहेको न्यू आर्टसमा तीन वर्ष आफ्नो कूची र ब्रुशलाई मज्जाले माझ्ने काम गरे । ब्यानर र साइनबोर्ड लेख्ने मात्र होइन पेन्टिङ्गका थुप्रै काम गरे विष्णुले । सोही पेसामा रहेर बागबजारको श्याम एण्ड श्याममा समेत जीवनका महत्वपूर्ण पाँच वर्ष बिताए ।
ललितकला क्याम्पसबाट ललितकलामा नै स्नातक गर्ने रहर अधुरो नै रह्यो । त्यो रहर पूरा गर्न नसकेकोमा अहिलेसम्म उनलाई उस्तै पीडा र पछुतो छ । काठमाडौंमा उनले साधना आर्टस् सुरु गरेका थिए । करीव दुईवर्ष सञ्चालन समेत गरे । देशमा चलेको द्वन्द्वका कारण आफ्नो खाइपिई आएको पेसालाई छाडेर उनी कतारको दोहा हान्निए । त्यहाँ उनले संयोगले आर्टस् कै काम समेत पाए । मन लगाएर दुईवर्ष काम गरे । नेपाल फर्किएपछि फेरि बुटवलमा ओम आर्टस् सञ्चालन गरे । २०६५ को बैसाख १५ गते गुल्मी जोहाङ्ग खैरेनीकी मोतिमा भुसाललाई जीवनभरका लागि साथ लिए । सन्तान जन्माए । खुसीका साथ छन् । सन्तान र परिवारको खुसीले उनीहरुमा नयाँ उत्साह र उमंग छाएका छन् ।
२०६६ सालमा उनले लुम्बिनी फाइन आर्टस् सञ्चालन गरेका थिए । समय अभावका कारण अहिले साथीहरुलाई जिम्मा लगाएर उनी आफू ओम आर्टस् मै व्यस्त छन् । ५ नम्बर प्रदेशभरि रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुका चित्रहरुलाई क्यान्भासमा उतारेर वृहत् चित्रकला प्रदर्शनी गर्ने रहर बोकेका विष्णुको रहरले प्वाँख हालोस् शुभकामना ।
प्रतिक्रिया