
–दल बहादुर गुरुङ
हिमालपारिको जिल्ला मनाङ अनि मुस्ताङ् । नेपालपारिको नेपाल अर्थात् महाकाली पारिको नेपाल चाँदनी र दोधारा । साविकका चाँदनी र दोधार गाविस अहिले महाकाली नगरपालिका बनेको रहेछ । पुगनपुगन २० हजार जनसंख्या रहेको यो नपामा द्वन्द्वकालमा पहाडी जिल्लाबाट विस्थापित भइ आउनेहरु धेरै रहेछन् । १० वडामा विभाजित सो नपाले यही असारे परिषद्बाट चाँदनी दोधारा नगरपालिका नाम राख्ने निर्णय समेत गरेको रहेछ । यो उनीहरुको पहिचान समेत रहेछ ।
महेन्द्रनगरको बजारबाट दक्षिणपश्चिम शुक्लाफाँट वन्य आरक्षतिर करिव सात किलोमीटर पार गरेपछि महाकालीको भंगालो नजिकै करिव डेढ किलोमीटर लामो पुल भेटियो । चाँदनी दोधारा जाने झोलुङ्गे पुल भनेर धेरैले चिन्दा र भन्दा रहेछन् । हुन त गड्डा चौकी हुँदै चाँदनी र दोधारा पुग्न सकिन्छ ।

हामी भने सुदूरपश्चिमकै नमूना र आकर्षक झोलुङ्गे पुल तरेर नेपालपारिको नेपाल पुगियो । हाम्रो मिसन फरक थियो तर महाकाली पुगेपछि महाकालीपारि रहेको नेपाल पुग्ने रहरलाई बिर्को लगाउन सकिएन । पुल तरेर पारि पुग्नै थाल्दा पुलमा मोटर साइकिलमा यात्रा गर्नेहरुको घुइँचो पो देखियो । हाम्रो मिसनमा गएका साथी सन्तोष श्रेष्ठले मोटर साइकिलमा यात्रु ओसार्ने र प्रतिब्यक्ति पचास तिर्नुपर्ने चलन रहेको बताए । उनको यात्रा यो दोस्रो रहेछ ।
पारि पुलकै मुखमा चिया पसल रहेछ । विहानको साढे सात बज्दै थियो हामी पुग्दा । समसा,पाउरोटी,चिया,मटरले पेट दहे सेकियो । सोही सेकाईले दिउँसो २ वजे धनगढीमा रहेको ज्यूनार होटल एण्ड थकाली पाहुना घरमा रासनग्रहण गर्दा पनि पेटले जुलुश लगाएन ।
हाम्रा साथीहरु महाकालीका बारेमा धेरै कुरा स्थानीयहरुसंग सोध्ने र बुझ्ने गर्दै थिए । हिउँदमा थोरै पानी पाउनेहरुले वर्षामा पानी टन्नै पाएका रहेछन् । हामी असारको १७ गते पुग्दा किसानहरु धान रोप्दै थिए । टेक प्रसाद घिमिरेले कठ्ठाको कति पर्छ भनेर भाउ सोध्दै थिए । हाम्रा अग्रज नेता तथा ब्यापारी गुप्त बहादुर खत्रीले टेक प्रसादलाई यतै जग्गा किन्न सल्लाह दिंदै थिए । मनिषले फोटो खिच्न क्यामेरा तेर्साउँदै थिए । पुल,पुलमा आराम गरेको बाँदर,महाकालीको भंगालो,चाँदनी र दोधारा गाउँलाई पटक पटक गरी खिचि रहेछ ।
महाकाली साझा नदी हो तर त्यसको वितरण समान छैन भन्ने कुरा हिउँदमा नेपालका खेत हेर्न पुगे हुन्छ । नेपाली नागरिकका पीडा बुझ्न गए हुन्छ । स्थानीयहरु भन्दै थिए– हामी काकाकूल हौ । हाम्रो ब्यथा हामीभित्रै छ ।

घोडाघोडीमा हाम्रो टीम
घोडाघोडी नगरपालिकामा पर्ने घोडाघोडी ताल रामसार क्षेत्रमा सूचिकृत छ । यो सीमसार क्षेत्रमा समेत पर्दछ । एक सय ३८ हेक्टर जमीनमा फैलिएको यो तालमा हाम्रो टीम पुग्दै गर्दा कमलका फूलहरु फुल्दै थिए । लेउ,झारहरुले गर्दा ताल सोचे जस्तो सुन्दर नभएपनि आन्तरिक एवम् बाह्य पर्यटकहरुको आगमन बढ्दो छ । हुन त रामसार क्षेत्रमा झारहरु सफा गर्न नपाइने नियम घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालका सचिव हेम बहादुर बमले बताए ।
पाँच रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने सो तालको गरिमा र महिमा आदिमकालीन धार्मिक एवम् संस्कृतिसंग जोडिएको रहेछ । प्रवेवद्वारको दाहिनेपट्टि दुईवटा लक्का घोडाहरुको प्रतिमाले पर्यटकहरुको क्यामेरा र मोबाईललाई आफूतिर तान्ने गर्दछ । गोही,माछा,अजिंगर र कछुवाहरु प्रशस्त भेटिने यो तालमा गोहीले २०७१ सालमा बालकलाई खाइदिएको नमीठो अनुभव रहेछ ।
कैलालीको सुख्खड भन्ने स्थान नजिकै महेन्द्रलोकमार्गसंग जोडिएको यो तालमा यसैवर्ष करिव ८० हजार आन्तरिक एवम् बाह्य पर्यटकहरु दृश्यावलोकन गर्न आइ पुगेका रहेछन् । वार्षिक करिव चार लाख टिकटबाट आम्दानी हुँदोरहेछ । आम्दानीले यहाँको भौतिक विकासमा टेवा पुराउँदो रहेछ ।
स्थानीय सरकार,तराई भू–परिधि कार्यक्रम,नेपालगञ्ज,जिल्ला वन तथा भू–संरक्षण कार्यालय र विश्व वन्यजन्तु कोष,नेपालले समेत आर्थिक एवम् भौतिक सहयोग पुराउँदै आएको मञ्चका सचिव बमले बताए ।
मञ्चले डुंगा चलाउने,माछापालनबाट आम्दानी गर्ने सोच राखेता पनि आफ्नो योजनामा सफल हुन सकेको छैन । यसो हुनुमा सीमसार क्षेत्रको नियम,कार्यविधिहरु अवरोध बनेका छन् ।
सुर्खेत बुलबुले ताल मै सानो हुनाले छुट्यो मायाजाल
यो गीत सानैमा सुनेको थिएँ । सम्भव यो गीतले सुर्खेतलाई पहिचान दिएको थियो । ब्यवस्थित सहरीकरणले पनि सुर्खेत उपत्यकालाई चिनाएको हुनुपर्छ । हुन त म पहिलोपटक २०४७ सालमा नाइटबस चढेर सुर्खेत एक्लै पुगेको थिएँ । तैपनि सुर्खेत पुगेपछि साथीहरुको तिर्सना मेटाउन दर्केझरिमा रुझ्दै भिज्दै पत्रकार गोविन्द भारतीसंगै पुगेका थियौं । गेटमा छिर्नेबेला जनाको १०रुपैयाँ प्रवेश शुल्क तिर्नु परेको थियो ।
साथीहरुले बुलबुले ताललाई इन्सेटमा राखेर सेल्फी खिचे तर मभने गोविन्द जीसंग सुखदुःख,पारिवारिक र भावी योजनाका सन्दर्भमा छलफल गरें ।
बुलबुले ताल करिव पाँचपटक पुगे हुँला तर तालको अनुहार सम्भवतः फरक देखिन । यसो हुनुमा अनेक कारण होलान् । आशा गरौं ६ नम्बर प्रदेश अर्थात् कर्णाली प्रदेशको राजधानी सुर्खेतको विकास हुँदा बुलबुले तालको विकासले आकास छुने छ ।
गीतका बारेमा अनेक अड्कलबाजी मारिए तैपनि साँचो के हो थाहा हुन सकेन । मै सानो हुनाले छुट्यो मायाजाल भन्छन् । को सानो भएर थाहै भएन ? ताल पुग्नु अघि हामीहरु काँक्रेविहार पुगेका थियौं । प्राचीन महत्वको स्थलमा उत्खननका कामहरु भई रहेका छन् ।
गुप्त बहादुरका गुप्त कुराहरुः
गुप्त बहादुर खत्री हाम्रो भ्रमण टोलीका ज्येष्ठ नागरिक हुन् । उनी भूपू भारतीय सैनिक हुन् । पेन्सन आइपछि पर्वत जिल्लाको माझ मल्लाज गाविसको अध्यक्ष बनेका रहेछन् । हठी स्भावका गुप्त बहादुरका धेरै गुप्त कुराहरु रहेछन् । उनले आफ्नो बाल्यकाल,लाहुरे जीवन,राजनीतिक जीवन र अहिलेको ब्यवसायिक जीवनका बारेमा सुनाइ रहँदा हामी रामायण सुने जस्तै भयौं ।
खासमा उनले पल्टनमा पढाउने गर्दा रहेछन् । प्रवेशिका पास भएर गएका उनी पेन्सन आउँदा विएचयूबाट स्नातक गरेका रहेछन् । सानामा गरेका उत्पट्याङ्गहरु अहिले हाम्रा लागि रसिला मसला बने । राजनीतिका कुरा,आफ्ना अडानका कुरा र देश अनि नागरिकका निम्ति आफूले खेलेका भूमिकाले आफ्नो पहिचान बढाएको तर्क उनीसंग ताजै छ । आज राष्ट्रिय सभामा अध्यक्ष बनेका गणेश तिमिल्सेना उनकै साथी रहेछन् ।
आज प्रकाशन सामग्री बेचेर मनग्य आम्दानी गरेका गुप्त बहादुरले गुप्त कुराहरु रसिलो तरिकाले पेस गरिरहँदा हाम्रा साथी सन्तोष र टेक प्रसादले एकाग्र भएर सुनि रहन्थे । कहिलेकाँही जवानीका कुरा गर्थे,आफू तन्नेरी हुँदाका खुसी साट्थे अनि माया प्रेमका कुरा गर्थे । कक्षा ९ मा पढ्दा दाइले दिएको लाहुरे बुटजुत्ताले खुट्टाको खालो जाँदा जुत्ताका तना बाँधेर घाँटीमा बेरेर दौडिएका रमाईला कुरा सुन्दा हामी दंग पर्ने गथ्यौं ।
बाग्लुङ्गको मेलामा घडी र एक मोहोर हराउँदाका पीडा सुनाउँदा दया लागेर आउँथ्यो घरिघरि । उनको बयान गर्ने कलात्मक शैली त मलाई पनि चोर्न मन लाग्यो । हाँसो उस्तै,ठट्टा उस्तै । अभिनय पनि झन्ै राम्रो । पछिल्लो पटक अखण्ड नेपालबाट सांसद्का उम्मेदवार बन्दाको अनुभव सुन्दा त हाँसोको फोहोरा छुटेको थियो हाम्रो ।
अन्तिममा
असारको १६ गते शनिवारदेखि गरिएको यात्रा असार १८ गते सोमवार बुटवलदेखि बुटवलसम्म आइपुग्दा महाकाली,बबइ,भेरी र राप्तीमा पानी थपिएर उर्लिएका थिए । सडक किनारमा बस्ती डुबेका थिए । स्थानीय रेडियोले नदीकिनारका बस्तीहरुलाई सुरक्षित स्थानमा रहन सन्देश बाँडिरहेको थियो । रोल्पामा सुत्केरी महिला,१८ दिने बच्ची र सुसार गर्न गएकी नानी पनि अत्यधिक वर्षाका कारण घर भत्किएर मृत्यु भएको खबरले हामी केहीबेर स्तब्ध भयौं । तीनदिने प्रेससंगको भेटघाट र बजारीकरण सम्बन्धी स्मरणयोग्य यात्राले हामीलाई नयाँ उर्जा र प्रेरणा मिलेको छ । केही नयाँ र सिर्जनात्मक काम गरौं भन्ने हामीहरुलाई थप उत्साह भ्रमणले दिएको छ ।
गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण चौधरी,स्कार्पियो चालक विनोद आचार्य,पत्रकार गोविन्द भारती हाम्रो यात्राका सारथी बनेर आइ पुगेका थिए । नयाँ ठाउँ,नयाँ अनुभवले हाम्रो टोलीलाई थप उत्प्रेरित बनाएको छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया