
माथिको भनाइ मेरा जीवनमा घटेको घटनासँग मिल्दोजुल्दो देखिन्छ । म सामान्य किसान परिवारकी छोरी थिएँ । मेरा इच्छाहरू पटकपटक निमोठिए । म, आसाम गुवाहाटीबाट आमा–बाबासँगै बुटवलको पूर्वी कालिकानगरमा २०१८ सालदेखि बस्न थालें । कतिबेला घरमा वनका कर्चारीले आगो लगाउने हुन भन्ने त्रास लामो समय चलिरहन्थ्यो । मेरो बाल्यकाल अहिलेको कालिकानगरमा बित्यो । मेरो पढाइ जोगीकुटीको बगैंचाबाट सुरूभएको थियो । पछि बुटवल नगर पञ्चायतको अनिवार्य प्रावि कालिकाको कच्ची छाप्रोमा आएर मैले ३ कक्षादेखि पढें ।
पढ्ने रहर बोकेकी म
जीवराज आश्रित, रामप्रसाद प्रदीप, गंगा गुरूङ, लक्ष्मी कुँवरहरू मेरा शिक्षकहरु थिए । मैले अगाडि पढ्ने बाटो मेरा बाबाको विमारी र निधनले अवरोध भयो । गणेश जनतामा कक्षा ६ पास गरें । कक्षा ७ मा नाम मात्र लेखाएँ तर पढ्न पाइन । मैले आफ्ना इच्छा अधुरै छाडेर घरको घाँसदाउरा मेलापात किसान समुहका बीचका हुद्दा वर्मपर्ममा लाग्ने परिवेशमा खुम्चिन बाध्य बनें । मेरी बहिनीको पनि निधनपछि म आमा भाइ तीन जनाको परिवार रहेका थियौं । २०२५ सालतिरबाट आमा कम्युनिष्ट पार्टीको संरक्षणका लागि दैनिक मुष्टिदान गरेको देखेसँगै म पनि पकाउनु अघि एकमुठ्ठी अन्न जम्मा गर्थें । वरिपरि कम्युनिष्ट संगठन बिस्तार हुँदै थियो । मेरा गुरु जीवराज आश्रित पनि भूमिगत भएर आएको छिमेकमा मैेले देखें । मेरो हिमचिम पार्टीमा क्रमशः बढ्न थाल्यो ।
के जातले विवाह गर्ला !
म उमेरले अठार उन्नाइस तिर हुँदा विवाहका कुरा चल्न थालेका हुन् । मेरा बुवा पर्वतका चापागाई र आमा अर्घाखाँचीकी नेवारबाट जन्मेकी चेली हुनाले के जातले विवाह गर्ला भन्ने चर्चाकै बीचमा पार्टी कै मानिसले विवाहको प्रस्ताव राखे । मेरो मागी विवाह भएको हो । देखादेखसम्म अघि नै भएको थियो । निकै अप्ठ्यारो अवस्था थियो त्यो बेला । मेरो पढ्ने आकांक्षा पूरा गर्न चाहन्थें । आश्वासन पाएकी हुँ । मेरो विहेको लगत्तै यताको पार्टी झापाको कोकेमा मिसियो । अब एक व्यक्ति एक एरिया एक युनिट एक एक्सनको क्रान्तिको कुरा प्रमुख बनेर आयो । मेरा श्रीमानलाई त्यस लगत्तै जिल्ला बाहिर अनि सुदूर पश्चिमको पार्टी काममा खटायो पार्टीले । विवाहपछि म पार्टीको आधार गाउँमा भिœयाइएकी थिएँ । केही दिन नयाँ शेल्टरमा बस्न थालें । २०३४ मा मेरा श्रीमानलाई नयाँ सदस्यताको सपथ गराएर रूपन्देही बाहिर पठाउने क्रममा श्रीमानकी दिदीकोमा ठाउँ सारी भएँ ।
काम चल्ने भान्सा नचल्ने ……………..।
२०३४ को असार १४ गते मेरी नन्दसँग घर पुगें । यसरी पहिलोपटक बुहारीको रूपमा बिहे भएको घरमा प्रवेश गरेकी थिएँ । त्यहाँ मैले छोएको भान्सा चल्दैनथ्यो । मेहनतका काम भने सबै चल्थे । २०३५ सालको भदौ २० तीजका दिन मेरो जीवनकै दुखद घटना घट्यो । त्यसै दिन बिहान निकै छोटो ब्यथाले आमाको दुखद् निधन भयो । माइतीमा भाइ एक्लो रह्यो अब । भाइ सानै भएकाले रेखदेख गर्न म घरबाट माइत बस्न आएँ । यहाँ बस्दा म पार्टीको भूमिगत सम्पर्क व्यक्ति बनें ।
सूचना सम्प्रेषक म
मलाई राजधानी र यो क्षेत्र लगायत विभिन्न क्षेत्रका चिठी–पत्र र सूचना सम्प्रेषणको काममा पार्टीले खटाउन थाल्यो । सबै खाले खतरा मोलेर मैले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेकी थिएँ । बहुदलपूर्व सबैजसो केन्द्रीय नेताहरूले मलाई चिन्थे । मेरो आफ्नै कमाइ गर्ने, आफ्नै हैसियतले उभिने सपना भने जहिले अधुरै रहे । पार्टीकै सुपरिचित शान्ता दिदीले हाइस्कूलको परीक्षा दिन सुझाव दिएकाले फाराम भरें । उहाँसँगै नेपालगञ्ज पुगें । २०४० सालको असारमा मेरो छोरा जन्म्यो । एक पेपर नकटेर विषय लाग्यो । काखमा बच्चा लिएर पूरक परीक्षाको तयारी गरें । परीक्षा दिनेबेला भने सहज रहेन । पार्टीमा सीपी मैनालीको बिषयमा तीब्र अन्तरबिरोधको चर्काचर्की परेको समय थियो । त्यसको असर स्वरूप मैले पनि असहयोग र दुःख ब्यहोर्न पर्याे । पार्टीभित्रको अन्तरविरोध उग्र हुँदा भूमिगत परिवारले पाउने दुःख र पीडाको भुक्तभोगी हुन पुगें म । दोश्रोपटक २०४० सालको भदौ ५ गते घर फर्कें । नेपालगञ्जबाट नवजात शिशुका साथमा थिएँ यसपटक । मेरो चाहना नेपालगञ्जमै बस्ने थियो । धम्बोजीकोभित्रि साइडमा एकहजारमा घडेरी पनि पाइएको थियो । त्यतिबेला एकहजार रुपैयाँ समेत घरले पत्याएन । पछि घरपरिवारले मलाई र मेरो श्रीमानलाई होइन सानो छोरालाई बल्ल पत्याएर अंश दिन मञ्जुर गर्याे । पितृसत्ताले परिवारको सदस्यलाई समेत राज्यको आडमा हेर्ने र व्यवहार गर्ने भुक्तभोगी अनुभव थियो त्यो ।
छानो उडाउने डर
२०४० कै पुषमा छुट्टै एकल घरपरिवारमा फेरियो परिवेश । अंशियार परिवारको रूपमा आफ्नो जमीनमा पहिलो एकवर्ष आफैले खेती गरें । सन्तान थपिए । लगत्तै हितैषी मित्र र आफन्तको सहयोगमा जागिरमा लागें । घरबाट अलि टाढा त्यहीं मेरा दशवर्ष डेरा सर्दै बिते । २०४६ को आन्दोलनताका मैले किस्ता खेलेको पैसामा थपथाप गरेर सानो घर बन्यो । हूरी चलेका दिन छानो नउडाए हुन्थ्यो भन्दै पीर लिएर बस्नुपथ्र्याे ।
मेरो निरन्तर प्रयास आर्थिक रूपमा आत्मनिर्भर हुने थियो । जागिर छुटेपछि किराना पसल थाप्ने कोशिस नगरेकी होइन । फलानाकी श्रीमतीले साबुन बेच्छिन् भन्दै कुरा काट्न आफ्नै परिचित अग्रसर हुन्थे । बहुदलपछि श्रीमानले आयआर्जनमा नलागेर पार्टीकै काममा सिंगो समय लाग्न थालेपछि मभने तीनजना सन्तान हुर्काउने,पढाउने जिम्मेवारीले र आर्थिक संकटको बोझले थिचिने अवस्था बन्न पुग्यो । खेतमा फर्केर छोराछोरी पढाउन अनकूल थिएन मलाई । श्रीमान जिविस सदस्य चुनिएपछि गाउँ इलाकाका मुद्दा मामिला मै समय बित्थ्यो । पार्टीको जिम्मेवारी थप त्यसमाथि थियो ।
ऋणको भारी बढ्दै……।
घरमा ऋण थपिदै बढ्दै गयो । आफ्नो हिस्साको टुक्राटुक्री जमीन बेच्दै काम चलाउन थालियो । गाउँमा बचेको दश कट्ठा पनि बेच्नुपर्ने अवस्था आउने देखेर ऋण÷धन जोरजाम र सानो घर बिक्रि गरेर बुटवलमा एकतले घर बनाइयो । आयश्रोत गाउँको खेतको अधियाबाट वर्षदिनमा आउने अन्न मात्र थियो । फेरि क्रमशः ऋण बढ्न थाल्यो । छोराले एसएलसीपछि बुटवल टेक्निकल इन्स्टिच्युटमा पढाउन खोज्दा आफ्नै पार्टीकाले भित्रभित्रै छेकबार लगाएको सुनियो । २०५५ पुसमा मेरा श्रीमान राष्ट्रिय सभाका सांसद चुनिएपछि बाबुछोरा काठमाण्डु गए । छोरापनि सँगै बसेर पढ्दै स–सानो काम गर्न थाल्यो । साथीहरू मिलेर कम्युनिकेसन चलाइयो । २०६२÷०६३ सालको द्वन्द्व, पटकपटक हुने बन्दहरूले व्यवसाय अघि बढ्न सकेन । पूख्र्याैली घरखेत बेचेरै भएपनि काठमान्डु बस्ने मनमा रहर पलाएन । हाम्रो परिवार २०६४ को जेठमा बुटवल फर्कियो । एकछिन त वरिपरिका मानिस चकित परे । काठमान्डु गएर फेरि पुरानै ठाउँमा देखेर पत्याउन गाह्रो माने । छोरालाई भने हामीले फर्काउन सकिएन । बुटवलदेखि काठमान्डुसम्म सहयोगी हात भेटिन भन्दै घरखेत बैंकलाई बुझाएर बाहिर उड्यो ।
मन नपर्ने कुरा
कति कुरामा चित्त नबुझे पनि श्रीमानको काममा समर्थन गर्नपर्ने बाध्यता महिलाको अवस्था मलाई मन नपर्ने कुरा हुन् । महिलाका आफ्ना धेरै चाहनाहरू कुण्ठित हुन्छन भन्ने मेरो धारणा छ । आमाको भूमिका जहिले पनि सन्तान र श्रीमानबीचको अचानो भएर मिलाउन सके मात्र परिवारको जाहाज दुर्घटनाबाट बचेर चल्न सक्छ भन्ने समय समयमा मेरो मनमा आइरहन्छ । घरमा सबैका आवश्यकतालाई सकेसम्म व्यवस्थापन गर्दैआएकी छु । श्रीमानका सत्य बोल्ने र खरो स्वभावको अरूले विरोध गर्दा मनपर्दैन । बेलाबेला प्रतिवाद गर्न पुग्छु । जसको पनि देखेका कमजोरीको आलोचना गर्दा सबै पिरिएलान भनेर सचेत गराउन कोशिस गर्छु श्रीमानलाई ।
अब युवाको पालो……….
भ्रष्टहरू समाज विरोधीहरूले मेरा श्रीमानको निन्दा गरेका हुन्छन । कतिपयले कडाखाले स्वच्छ इमान्दार मान्छे हुन भनेर चर्चा गरेको सुन्दा गर्व लाग्छ । अहिले मेरा श्रीमान पार्टीमा नभएको भित्रभित्र सबैले थाहा पाएका छन् । र पनि जिन्दगीभरि लागेर खै गतिलो पार्टी बनाउन सकेको भन्ने प्रश्न छ मेरो । गरीबलाई सम्मान न्याय हुने परिपाटि बनाउने चरित्र छाडेर निजी फाइदामा तँछाड मछाड किन गरेका हुन् नेताहरूले ? पीडित जनता कार्यकर्ताको पक्षमा मन,वचन र कर्मले खै काम गरेका ? भन्ने थुप्रै मेरा प्रश्नहरू अनुत्तरित छन ।
२००३ सालमा जन्मेर अहिले सेतै कपाल,दाह्ी फुलेका मेरा श्रीमान देवेन्द्र घिमिरेको प्रष्ट भनाइ छ ः अब भविष्य युवाको हो ! आफूले चाहेजस्तो समाज देश उनीहरूले बनाउने हो ! जस अपजसको जिम्मा युवाहरूले नै लिने हो ! सम्बन्धको कडीलाई नदी त¥यो डुङ्गा बिर्सियो गर्नु मनासिब मानिन्न !
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया