
मित्रलाल गौतमका छोराहरू साह्रै जाँगरिला रहेछन् । घरको सबै काम उनीहरूले नै गरिरहेका थिए । मकै भुट्ने, भैसी दुहुने, घाँस–पात, गोबर–सोत्तर सबै काम एकैछिनमा गरे । भुटेका मकैसँगै दूध तताएर दिए । बेमौषमको झरीले रुझेका र वैशाख महिना भए पनि जाडोले कड्याङ्ग्रिएका हामी अँगेनाको डिलमा बसेर आगो ताप्दै भुटेका मकै र तातो दूध खाएर रमायौँ ।
मित्रलाल कुरा गर्न सिपालु रहेछन् । समसामयिक गफगाफ भए । कुराकानीकै सिलसिलामा उनले भने— ‘पहिले निकै दुःख थियो । यी डाँडापाखामा खासै अन्नबाली हुँदैनथ्यो । तर अलैँचीले गर्दा अहिले त्यति दुःख छैन । यसैको बिक्रीबाट पोहोर साल एउटा बारी किनेँ । अहिले पनि उत्पादन राम्रै होला जस्तो छ ।’
राति अबेरसम्म यस्तै गफ भए ।
वि.सं. २०६४ साल वैशाख २९ गते शनिबार बिहान सबेरै निद्रा खुल्यो । ब्यूँझदा बाहिर चराचुरुङ्गी चिरबिराइरहेका थिए । अघिल्लो दिनदेखि परेको पानी रोकिएको थिएन । जाडो उत्तिकै थियो । तैपनि उठ्यौँ, नित्यकर्म सकेर र हिँड्ने तयारी गरेयौं ।
‘हिँड्न त खोजियो, पानीले दुःख दिन्छ क्यारे ।’ सहयात्री शिव पौडेलले भने ।
मित्रलालका छोराहरूले कताबाट छाता ल्याइदिए । मीठो चिया बनाएर दिए । चिया पिउँदै थियौँ, ‘उकालोमा लेक लाग्न सक्छ, खाँदै जानुहोला’ भन्दै एक एक घान भुटेका मकै पोल्टामा हालिदिए । चियासँगै मकै पनि भुटिसकेका रहेछन् । उनीहरूले हामीप्रति दर्शाएको ममता नबिर्सने खालको थियो ।
हामी काठमाडौँबाट इटहरी, झापा, इलाम र पाँचथर हुँदै ताप्लेजुङ पुगेका थियौँ । ताप्लेजुङको ढुङ्गेसाँघुमा रहेको जननेता मदन भण्डारीको जन्मघरसम्म पुगेर फर्कने योजना थियो । अनिल पौडेल, शिव पौडेल र मसमेत तीन जनाको टोली थियो । शिव पौडेललाई यात्राको नेता चुनेका थियौँ । उनको साविक घर ढुङ्गेसाँघु नै थियो । त्यसैले हामीलाई भन्दा त्यो ठाउँको जानकारी उनलाई बढी थियो । कहाँ बस्ने ? के खाने ? कताकता घुम्ने सबै चाँजोपाँचो उनैले मिलाउँथे । हामीलाई कुनै टन्टो थिएन ।
साँझको बास ढुङ्गेसाँघु गाउँको शिरानमा रहेको मित्रलाल गौतमको घरमा निधो भएको थियो । बिहान सबेरै उठेर हिँड्ने, साँझ बसन्तपुरसम्म पुग्ने र अर्को दिन हिले, धनकुटा र धरान हुँदै इटहरी झर्ने योजना थियो ।
पानी पर्दै थियो, मित्रलाल र उनका छोराहरूसँग बिदा भएर घरबाट बाहिरियौँ । घरैदेखि नाके उकालो शुरु हुन्थ्यो । वैशाख महिना भए पनि झरीले गर्दा मौसम चिसो थियो । हिँड्दा कहिलेकाहीँ खुट्टामा जुका टाँसिन्थे । कहीँकतै हिलो र चिप्लो बाटो हिँड्न सजिलो थिएन ।
हरेक समस्याभित्र सम्भावना हुन्छन् भनेजस्तो बाटो उकालो र असजिलो भए पनि एउटा राम्रो पक्ष थियो । त्यो के भने जति माथि गयो तल र पारीको भाग उति सुन्दर देखिन्थ्यो । अलि माथि पुगेपछि अग्लो स्थानमा उभिएर तल हेरेँ । उत्तरतिर फर्केको ढुङ्गेसाँघु गाउँ सुन्दर देखियो । मदन भण्डारीको जन्मघर, उनले पढेको ठेट्नेको स्कुल प्रष्ट देखियो । हरिया रुख बिरुवा र अलैची खेतीका बिचमा कतै ढुङ्गा र कतै टिनको छाना भएका घरहरू टिलिक्क टल्कदै थिए ।
हामी उभिएको ठाउँबाट उत्तर पूर्वतिर कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल, पाथीभरा तीर्थस्थल, ताप्लेजुङ जिल्लाको सदरमुकाम लगायतका मनोरम दृश्यहरू देखिदा रहेछन् तर झरी बादलका कारण हामीले ती सबै दृश्यहरू देख्न भने पाएनौँ । शिवजीको मुखारवृन्दबाट जानकारी मात्रै पायौँ । मन खिन्न भयो ।
हामी फोक्सोभरि हावा भर्दै र बाहिर फाल्दै उकालो उक्लँदै थियौँ । एक जना युवा भेटिए । उनले आफ्नो नाम आइतराज लिम्बू बताए । उनको घर ढुङ्गेसाँघु— ६, हात्तिखावा रहेछ । उनी स्थानीय युवा भएका र हिँड्ने बानी परेको हुनाले मज्जासँग हिँड्न सक्थे तर हामी भने तराईको तातो पानीले गलेर ब्वाइलर भैसकेका थियौँ । हामीसँग भेट भएपछि आइतराज पनि हामीसँगै हिँड्न थाले । उनको साथ पाएर हामीलाई सहज भयो ।
उकालो चढ्दै थियौँ । उचाइसँगै चिसो पनि बढ्दै थियो । केही समयपछि वर्षा रोकियो । हिँड्न अलि सहज भयो । भोक लाग्लाजस्तो भयो । भुटेका मकै चपाउन थाल्यौँ । हामीले मकै चपाएको देखेपछि आइतराजले मुस्कुराउँदै भने, ‘मकै नसक्नोस्, मकै खाने ठाउँ आएकै छैन । लेक लाग्ने ठाउँ धेरै माथि छ ।’
लेक लाग्ने अनुभव मेरा लागि नौलो थियो । ‘कस्तो होला यो लेक लाग्ने भनेको ?’ मेरा मनमा यस्तै जिज्ञासाहरू सलबलाइरहेका थिए ।
धेरै माथि पुगेपछि ठाडो उकालो अलि कोल्टेपरेजस्तो भयो । बाटा किनारका बस्तीहरू पातला हुँदै गए । वातावरण पनि शान्त र एकान्तमा परिणत भयो । जाडोले हो कि चराचुरुङ्गीहरू पनि कम कम हुँदै गइरहेका थिए । त्यो बेला मलाई मुनामदनको सम्झना भयो । देवकोटाले लेखेको भोट जाने बाटो पनि यस्तै हुँदो हो भन्ने अनुमान लगाएँ । कतै भोटे दाजुहरू देखिन्छन् कि भनेर नियालेँ पनि तर कतै देखिएनन् ।
बाटाका किनार र पहाडका खोँचमा राम्रा बारीहरू देखिन्थे । बारीको माटो कालो र मलिलो थियो । तर खेती चाहिँ राम्रो थिएन । यस बारेमा मैलै आइतराजजीसँग जिज्ञासा राखेँ । ‘हिउँ परिरहने र धेरै चिसो हुने हुनाले राम्रो खेती हुँदैन । यी बारी हेर्नका मात्रै राम्रा हुन् ।’ उनले जवाफ दिए ।
खेती मात्रै होइन, बाटाकिनारका वनबुट्यान पनि त्यति हुर्केका थिएनन् । ‘मानिसहरूले हुर्कन नदिएर पनि हो । घाँस दाउराका लागि काटिरहन्छन् ।’ उनैले भने ।
केही समयपछि हामी अझै सुन्दर ठाउँमा पुग्यौँ । त्यो ठाउँको नाम चापे रहेछ । नजिक बस्ती थिएन । चारैतिर सुनसान थियो । नजिकै चौतारोमा एक हूल चौंरी उभ्याएर दुई जना युवाहरूले चामलका बोरा लोड गर्दै थिए । वसन्तपुरबाट ल्याएका र तल गाउँमा पु¥याउने भारी रहेछन् ।
साँझ बास बस्ने ठाउँ रहेछ त्यो । बास बस्ने बेला चौंरीका भारी त्यहीँ चौतारोमा राखेर चौंरीलाई जङ्गलमा चर्न पठाउने र आफूहरू केही पर रहेको आफ्नो घरमा जाँने र बिहान आएर चौरी जम्मा गरी चामल लोड गर्दा रहेछन् ।
यो तरिका मलाई अनौठो लाग्यो, अनि सोधेँ— ‘यी चामलका बोरा कसैले लादैन ?’
युवकहरू हाँसे मात्र केही बोलेनन् । आइतजीले भने, ‘कसैले लाँदैन । यहाँ सबैले यस्तै काम गर्छन् । एउटाले अर्काको चो¥यो भने व्यवहारै चल्दैन । फेरि चोरेर पनि कहाँ लैजाने ? बाहिरका मान्छेले डरले पनि लादैनन् । स्थानीयले लगेको थाहा भइहाल्छ ।’
कस्तो अचम्म !
धेरै माथि पुगेपछि जङ्गल सुरु भयो । अग्ला रुखहरू देखिए । हिँड्दै थियौँ, त्यस्तैमा माथि रुखबाट शिवजीका टाउकामा एउटा जुका खस्यो । तल खुट्टामा लाग्ने जुका हराइसकेका थिए, तर माथि रुखबाट खस्ने जुका चाहिँ बाँकी रहेछन् । खुट्टामा लाग्नेभन्दा आकारमा ठूलो थियो । ‘छाता ओडौँ, सजिलो हुन्छ ।’ शिवजीले भने, जुकाबाट जोगिन छाता ओड्यौँ ।
उत्तरतिर फर्केको भिरालो भूभाग, अनेक जातका वनस्पति, शीतल र स्वच्छ हावापानी । कतै कलकल गर्दै बग्ने निर्मल पानीका झरनाहरू । कतै हरियो घाँस भएका खुला मैदान त कतै सुन्दर फूल फुलिरहेको दृश्य । त्यो ठाउँ मलाई औधी सुन्दर लाग्यो । यो क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्न सके कति राम्रो हुँदो हो मनमा तर्कना आए ।
एउटा ठूलो चौर देखाउँदै शिवजीले भने, ‘यो गोठ राख्ने ठाउँ हो । म सानो छँदा गाउँबाट वर्षेनी गोठ लिएर आउने चलन थियो । यो पखेराभरि गोठ हुन्थे । दिनभरि गाई चराउने, साँझमा ठूला ठूला मुढा जोरेर आगो बाल्ने, गफगाफ गर्ने, साह्रै रमाइलो हुन्थ्यो ।
म पनि धेरै चोटि आएको छु गोठसँगै । त्यो बेला निकै रमाइलो हुन्थ्यो । अहिले सम्झना मात्रै बाँकी छ । ती दिन सम्झदा पनि सपनाजस्तो पो लाग्छ । त्यो बेलाको आनन्द अहिले वर्णन गरेरै साध्यै छैन । यस्तो स्वर्ग छोडेर तराईतिर झरियो । गर्मीले सुकेर मरिन्छ कि जस्तो लाग्छ । अहिले त झन् अनेक प्रकारका हुलदङ्गा गरेर बस्नै नसक्ने बनाएका छन् । राजनीतिका नाममा बिकृति मात्रै बढिरहेको छ ।’ लामो सास फेर्दै शिव दाजुले मनको बह पोखे ।
त्यो ठाउँ देख्दा मलाई कुन्ती मुक्तानले गाएको ‘माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई’ बोलको गीतको सम्झना भयो । उनले गीतमा बोलेको सैलुङ्ग पनि यस्तै त होला नि मनमनै भनेँ ।
माथि निकै घना जङ्गल रहेछ । ठूला रुखमा हरियो झ्याङ जेलिएर बाक्ला कपडा लगाएका मान्छेको जस्तो दृश्य देखिन्थ्यो । धेरैजसो रुखमा अनेक किसिमका सुनाखरी फूल फुलिरहेका थिए ।
सानो खोल्सी देखियो । सफा पानी बगिरहेको थियो । उकालो हिँड्दा मुख सुकेकोले पानी पिउने इच्छा भयो । खोल्सीतिर जाँदै थिएँ, आइतजीले रोके ।
‘यसरी हिँडेको बेला चिसो पानी पिउनु हुँदैन खुट्टा दुख्छन् ।’ अनुभवले खारिएको कुरा गरे । उनको कुरा सुनेपछि मुख मात्रै चिसो बनाएँ, पानी पिइनँ ।
धेरै माथि पुगेपछि अनिलजीले मतिर हेर्दै भने, ‘भुटेका मकै खाने बेला भएन ?’
म केही बोलिनँ । आइतजीतिर हेरेँ ।
उनले हाँस्दै भने, ‘लेक लाग्ने ठाउँ कटिसक्यो ।’
‘कटिसक्यो ? खै त हामीलाई लेक लागेको ।’ अनिलजीले भने । हामी सबै हास्यौँ ।
‘कसै कसैलाई कहिलेकाहीँ मात्रै लाग्छ ।’ शिवजीले भने । त्यसपछि हामी मकै खान थाल्यौँ ।
आइतराजजी छिटो हिँड्न सक्थे तर हाम्रो हिँडाइ कछुवा तालको थियो । हामीसँगै हिँडेमा उनी साँझ बसन्तपुर नपुग्न सक्थे । त्यसैले हामीले उनलाई अगाडि बढ्न भन्यौँ ।
उनी हाँसे मात्रै केही बोलेनन् । हामीले धेरै कर गरेपछि उनले भने, ‘पहिलेजस्तो सहज वातावरण छैन । तपाईँहरू बाहिरका मान्छे, कसैले दुःख दिन सक्छ । यो जङ्गलमा तपाईंहरूलाई एक्लै छोड्दा केही दुर्घटना भयो भने हामी जिल्लावासीकै बदनाम हुन्छ । एकैछिन त हो । यो उकालो कटेपछि अगाडि बढुंला नि ।’
उनको उदारता, सहयोगी भावना र जिल्लाप्रतिको ममता देखेर हामी नतमस्तक भयौँ ।
झ्याउँपोखरी पुग्दा बिहानको १०.१५ बजिसकेको थियो । एउटा सामान्य होटल थियो तर मानिस थिएनन् ।
‘अब पन्ध्रबीस मिनेटमा यो उकालो र जङ्गल सकिन्छ । ऊ त्यहीँसम्म त हो उकालो ।’ आइतजीले चोर औलाले दक्षिणतिर देखाउँदै भने । उनको कुरा सुनेपछि ओइलाएको ज्यानमा बिस्तारै स्फूर्ति पैदा भयो ।
हिउँले खाएका गुराँसका रुख देखिए । रुखका हाँगा भाँचिएका थिए । पात पनि खासै थिएनन् । वातावरण उराठलाग्दो थियो । त्यो बेला मलाई एउटा गीतको सम्झना भयो— ‘चैतको उराठ मैना, भैंमा पात रुखमा क्यै छैन ।’
आइतजीले भनेजस्तै करिब पन्ध्र मिनट हिँडेपछि उकालो र जङ्गल एकैचोटि सकियो । उकालो सकिएपछि आउने ठाउँको नाम मिल्के रहेछ । सुनेको तर नदेखेको ठाउँ थियो त्यो । सम्मो भूभाग शुरु भयो । रमाएर चारैतिर हे¥यौँ । मन प्रफुल्ल भयो ।
मोटरबाटो पनि खनेका रहेछन्, वसन्तपुरदेखि दोभानसम्म जाने कच्ची मोटरबाटो । बाटो भए पनि गाडी भने थिएनन् ।
समुद्र सहतदेखि करिब ३००० मीटरको उँचाइमा रहेको मिल्के पहाड संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गमस्थल रहेछ । मिल्के पुगेपछि ताप्लेजुङ जिल्ला समाप्त भयो । दायाँतिर संखुवासभा र वायाँतिर तेह्रथुम जिल्ला हुँदै डाँडैडाँडा दक्षिण–पश्चिमतिर लाग्यौँ ।
त्यो ठाउँमा ठूलो गुफा पनि रहेछ । विगतमा माओवादीहरू त्यसैमा बसेर परेड खेल्थे रे । एकजना स्थानीय व्यक्तिले भने । सुन्यौँ मात्र देखेनौँ । समय अभावले गर्दा त्यो ठाउँमा पुग्ने आँट गरेनौँ ।
मिल्के पुगेपछि आइतराजजीलाई धन्यवादसहित विदा ग¥यौँ । मुसुक्क हाँस्दै हामीसँग विदा भएर उनी अघि बढे ।
भोक लाग्न थालेको थियो तर नजिक खाना खाने ठाउँ कतै थिएन । ‘थोरै अगाडि गुफापोखरी भन्ने ठाउँ छ । त्यहाँ राम्रो खाना पाइन्छ ।’ एकजना बटुवाले जानकारी गराए ।
त्यो ठाउँमा संखुवासभा जिल्लाको तर्फबाट इलाका प्रहरी कार्यालय पनि रहेछ । २७ जना प्रहरीहरूको दरवन्दी रहेको सो स्थानमा त्यो बेला सई मुरली श्रेष्ठको कमानमा नौ जना मात्रै प्रहरी थिए । राम्रो स्वागत गरे । केही बेर बसेर कुराकानी पनि ग¥यौँ । कुराकानी गर्नुको पछाडि दुइटा कारण थिए— एउटा थकाइ मार्नु र अर्को त्यस क्षेत्रको बारेमा जानकारी लिनु ।
विगतमा माओवादीहरूले आक्रमण गरेर प्रहरी कार्यालय भत्काइदिएका रहेछन् । केही समय प्रहरी चौकी हटेको पनि रहेछ । माओवादीहरु शान्ति प्रकृयामा आएपछि व्यक्तिको घर भाडामा लिएर चौकी स्थापना गरेका रहेछन् । साँगुरो ठाउँमा धेरै प्रहरीहरू निकै दुःखले बसेका थिए ।
त्यो ठाउँमा मोवाइल पनि टिप्दोरहेछ । ‘उ त्यो थुम्कोमा गयो भने टिप्छ ।’ एकजना भाइले भने । बन्द भएको मोवाइल खोल्दै प्रहरी भाइले देखाएको थुम्कोतिर गएँ ।
नेपालमा छोटो समयमा विकास भएको क्षेत्र दूरसंचार पनि हो । केही वर्ष पहिले फोन सेवा निकै महँगो थियो । राम्रो सुविधा पनि थिएन । तर अहिले धनी–गरीब, साना–ठूला सबैका खल्तीमा मोवाइल फोन छन् । जहाँ मन लाग्यो त्यहीँँँबाट हेल्लो भन्न पाइन्छ । नेपाल दूरसंचार संस्थानको नेटवर्क त्यति भरपर्दो छैन र पो ! नेटवर्क राम्रो भए झन् कति सजिलो हुँदो हो ।
खनाल होटलमा खाना तयार गर्न लगाएर अनिलजी र म नजिकै रहेको गुफापोखरी हेर्न गयौँ । त्यै गुफापोखरीको नामबाट त्यस ठाउँको नाम रहेको रहेछ । बजारको उत्तरपट्टि रहेको पोखरी साहै्र सुन्दर र पोखरीको पानी निकै सफा थियो ।
‘यो पोखरीमा पात पतिङ्गर खस्यो भने चराले बाहिर फाल्छन् । पोखरीलाई फोहोर हुन दिँदैनन् ।’ एक जना स्थानीयले सुनाए ।
खनाल होटलकी मालिक्नी भण्डारीकी छोरी रहिछिन् । मसँग माइतीको साइनो जोडिन् । छोरीले मामा भन्न थालिन् । दुई दिन पहिले इलाममा जुत्ता किनेको सम्झिएँ । शिवजीकी बहिनी नाता पर्ने साहूनीसँग जुत्ता किन्ने हुँदा ढाड सेकेकी थिइन् । यहाँ पनि त्यस्तै नहोस् भन्ने कुरामा म सतर्क भएँ ।
भोक लागेको थियो, मीठै लाग्यो खाना । हामी तीन भाइमा म मात्रै थिए मांसाहारी । मासुमा भने राम्रै ठगिन् भान्जीले । एक प्लेट मासुमा एउटा हड्डी र दुईटा छाला मात्रै ! मन अमिलो भयो, मुखले केही भनिनँ । खाना खाएपछि बिस्तारै अगाडि बढ्यौँ ।
बाटाका किनारमा गुराँसका बोटहरू देखिन थाले । एउटा बोटमा दुइटा फूल बाँकी रहेछन् । निकैबेर उभिएर हे¥यौँ । अरू बोटहरू उराठलाग्दा थिए । अधिकार र स्वतन्त्रताबिनाका जनता र फूलबिनाका गुराँसका रुख उस्तै उस्तै लाग्यो ।
बाटो सजिलो थियो । बाटो हिँड्दा टाढा–टाढाका दृश्य देखिन्थ्ये । त्यहाँबाट हिमालको दृश्य पनि औधि सुन्दर देखिँदो रहेछ तर उत्तरी क्षेत्र बादल र कुहिरोले ढपक्कै ढाकेको हुनाले हामीले देख्न पाएनौँ ।
जता हे¥यो उतै शान्त, सुन्दर र रमणीय थियो वातावरण । यस ठाउँलाई पर्यटकीय हिसाबले विकास गर्न सके कति राम्रो हुँदो हो । विदेशी पर्यटक ल्याउन सके कति खुशी हुँदा हुन् । मनमा यस्तै भावनाहरू मडारिए ।
यिनै कुरालाई विचार गरेर होला, वि.सं. २०६४ साल वैशाख ९ देखि १३ गतेसम्म यो क्षेत्रमा लालीगुराँस महोत्सव– २०६४ राखिएको रहेछ । नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डप काठमाडौंको प्रवद्र्धन र राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति वसन्तपुर, तेह्रथुमको संयोजन तथा लालीगुराँस महोत्सव– २०६४ मूल आयोजक समितिको तत्परतामा भएको उक्त महोत्सवमा थुप्रै मानिसहरू आएको बताए त्यहाँका मानिसहरूले ।
‘विराटनगर, धरान, धनकुटा, तेह्रथुम, संखुवासभा हुँदै ताप्लेजुङसम्म हेर्न जाऊँ है गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले डाँडैमा’ भन्ने नाराका साथ संचालन भएको उक्त महोत्सवका सम्बन्धमा जारी भएको पर्चा पनि टाँसेका थिए ठाउँ ठाउँमा । पर्चामा गुराँससम्बन्धी थुप्रै जानकारीहरू दिइएको थियो ।
‘विश्वका २०० महत्त्वपूर्ण पर्यटकीय क्षेत्र (Ecological Zone) मध्ये एक र नेपालका पाँच पर्यटकीय गन्तव्यस्थलमध्ये एक स्थानमा रहेको छ यो क्षेत्र । विश्वमा पाइने ४२ र तीमध्ये नेपालमा पाइने ३२ प्रजातीका गुराँसमध्ये २८ भन्दा बढी गुराँस यस क्षेत्रमा पाइन्छन् । यस क्षेत्रमा अनेक प्रजातीका वनस्पति (17 endemic, 9 endangered, 14 threatened) पनि पाइन्छन् । बराहा क्षेत्रबाट चीनको तिव्वतसम्म फैलिएको नेपालकै सबैभन्दा लामो पहाडी सृङ्खला पनि हो यो । यो क्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल पनि मानिन्छ ।’ पर्चामा लेखिएको थियो ।
यस क्षेत्रलाई तिनजुरे, मिल्के, जलजले (TMJ) क्षेत्र पनि भनिदोरहेछ । जैविक विविधता, प्राकृतिक स्रोत, सामाजिक साँस्कृतिक जीविकोपार्जन र सौन्दर्यानुभूतिको खानीका रूपमा पनि हेरिदोरहेछ । TMJ क्षेत्रमा रहेका प्राकृतिक साँस्कृतिक, जैविक, विविधताका साथै त्यस क्षेत्रको पर्यटकीय संभावनाको पहिचान तथा प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि आधारभूत संरचना विकास गर्न निजी, सरकारी तथा गैरसरकारी क्षेत्रको ध्यानाकर्षण गर्न नै उक्त महोत्सवको आयोजना गरिएको रहेछ ।
हिँड्दाहिँड्दै खुट्टा दुखिरहेका थिए । हिँड्न गाह्रो भइरहेको थियो । तैपनि मन एक मिनट उभिन र बस्न मानिरहेको थिएन । कहिलेकाहीँ त त्यो रमणीय ठाउँमा एक्लै हराउन मन लाग्थ्यो । शिवजी र अनिलजीलाई एक्लै छोडेर अगाडि बढ्थेँ र पर पुगेर त्यहाँको मनोरम दृश्य हेरेर रमाउँथेँ । त्यो बेला त्यहाँ गुराँसका फूल थिएनन्, रुख मात्रै थिए । फूल नभएको बेलामा पनि यति सुन्दर यो ठाउँ गुराँस फुलेर ढकमक्क भएको बेलामा झन् कति सुन्दर देखिदो हो भन्ने लाग्यो ।
गुफापोखरीबाट हिँडेको केही समयपछि लामपोखरी भन्ने ठाउँ आयो । पोखरी वरिपरि गुराँसका रुख र पक्की पर्खालको बार थियो । गुफापोखरीको जस्तो सफा पानी नभए पनि त्यति फोहर पनि थिएन ।
मिल्केबाट अगाडि लागेपछि कहिलेकाहीँ आइपर्ने ढिस्का र थुम्के उकाला ओराला बाहेक अरू सबै बाटो समथर थियो । धेरै ठाउँमा मोटर बाटो खनिएको थियो भने कतिपय ठाउँमा बाटो खन्न बाँकी नै थियो । ठाउँ ठाउँमा चौंरीहरू पनि देखिन्थे । चौंरीका घाँटीमा लगाएको घण्टीको बिरसिलो आवाज टाढैबाट सुनिन्थ्यो ।
‘चौरीको नजिक नजानुहोला है । बदमास हुन्छ, हान्न पनि सक्छ ।’ शिवजीले पहिले नै सतर्क गराएका थिए । हातमा बाँसका लौरा त थिए तर लौराको पनि भर लागेको थिएन हामीलाई । तीखा सिङ् भएका चौंरीले हान्यो भने भुँडी छेडिदिन सक्थ्यो । त्यसैले निकै सतर्क भएर हिँडेका थियौँ ।
हिजो परेको पानीले गर्दा कतिपय ठाउँमा हिउँ परेको रहेछ । खोल्साखाल्सीमा परेको हिउँ पग्लिसकेको थिएन । ‘अचेल वैशाख महिनामा पनि हिउँ !’ एक ठाउँमा उभिएर हेर्दै अनिलजीले भने । ‘हो त नि, कस्तो अचम्म हगि !’ मैलै सहमति जनाएँ ।
करिब तीन बजे हामी २६९० मीटर अग्लो श्रीमाने भन्ने ठाउँमा पुग्यौँ । मौसम पूरै सफा भइसकेको थियो । बाटोमा धूलो, धुवाँ, हिलो केही पनि थिएन । वातावरण अत्यन्तै सफा थियो । म हिँड्दा हिँड्दै उभिन्थेँ र लामो सास तान्थेँ । त्यहाँको स्वच्छ हावा फोक्सोमा गएर भरिदा पूरै शरीर प्रफुल्ल हुन्थ्यो ।
श्रीमानेपछिको अर्को बजार मंगलबारे रहेछ । दुई चारोटा घर थिए । त्यहाँ पुगेपछि चिया पिउने विचार आयो । एउटा सामान्य होटलभित्र पस्यौँ । चियासँगै सेलरोटी पनि दिइन्, होटलकी दिदीले ।
‘हामीले त चिया मात्रै मागेका थियौँ ।’ मैले यसो भन्न नभ्याउँदै उनी मुसुक्क हाँसिन् र भनिन्— ‘यो त छोराको विहेको प्रसाद हो ।’
अघिल्लो दिन छोराको विवाह भएको रहेछ, त्यसैको भोज रहेछ त्यो । कस्तो सौहाद्रता ! अचम्म लाग्यो हामीलाई ।
हिँड्दा हिँड्दै हामी निकै थाकेका थियौँ । सुगर र प्रेसरका बिरामी अनिलजीलाई झन् गाह्रो भइरहेको थियो । उनलाई खाना पनि त्यति अनुकूल भएको थिएन । लगातारको हिँडाइले उनको शरीर गल्दै गइरहेको थियो । तैपनि बिस्तारै हिँडिरहेका थिए ।
मंगलबारे पुग्दासम्म घाम माथि नै थिए । बास बस्ने बेला भइसकेको थिएन । त्यस्तैमा अनिलजीले अगाडि बढ्न गाह्रो भएको भाव व्यक्त गरे ।
‘आज यतै बसौँ हुन्न । जसरी पनि आज वसन्तपुर पुगिदैन क्यारे !’
म केही बोलेको थिइन । शिवजीले भने, ‘दिउँसै छ । अहिले नै बास बसेर के गर्नु ! बिस्तारै हिँडौँ, पल्लो बजारमा बसौँला ।’ शिवजीले यसो भनेपछि अनिलजी बल्ल बल्ल उठे र लौरो टेक्दै हिँड्न थाले । हामी उनको पछि–पछि लाग्यौँ ।
दिन डुब्दै गएको भए पनि सन्ध्याकालीन घामका किरण चारैतिर फैलिएका थिए । साह्रै सुन्दर र सफा थियो वातावरण । हरिया मैदानमा सूर्यका सुनौला किरण पर्दा अनि सुन्दर देखिन्थ्यो ।
त्यसै बिचमा हामीले दिनभरिको मौसमको मूल्याङ्कन ग¥यौँ । बिहान वर्षा, त्यसपछि बादल, एकैछिनपछि घाम, हल्का गर्मी, सफा आकास, सुनौला सूर्यका किरण यस्तै यस्तै ।
‘यदि कसैले तैँ बना आजको दिन भनेको भए पनि हामीले यति राम्रो दिन बनाउन सक्ने थिएनौँ ।’ अनिलजीले भने ।
साँझको साढेपाँच बजेतिर हामी चौकी–बजार पुग्यौँ । उत्तर–पश्चिम फर्केको चौकी–बजारमा करिब दुई दर्जन घरहरू थिए । बजारको बिचमा एउटा प्रहरी चौकी पनि थियो । प्रहरी चौकी बसेको भएर नै त्यस ठाउँको नाम चौकी बजार भएको रहेछ । सो स्थानमा प्रहरी चौकीबाहेक एउटा प्राथमिक विद्यालय पनि थियो ।
त्यहाँबाट करिब एक घण्टाको दूरीमा थियो तीनजुरे पहाड । बल गरेर हिँडेका भए हामी त्यहाँ पुग्न सक्थ्यौँ तर अनिलजीले मानेनन् । उनलाई ज्वरो आउलाजस्तै भएको थियो । त्यसैले हामीले कर गरेनौँ । प्रहरी चौकीको अगाडि रहेको छाप्रे होटलभित्र पसेर झोला बिसायौँ । बाहिर सानो टिनको बोर्डमा होटलको नाम लेखिएको थियो— कार्की होटल ।
+++
(लेखकको अप्रकाशित ताप्लेजुङ यात्राको एक अंश)
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया