भाषाको कुनै सीमा हुँदैन
छुट्टयाइएको छैन कलाको भूगोल
विश्वलाई जोड्ने सूत्र
हो, भाषा र कला
हुँदैन भाषाको राजनीति
हुँदैन कलाको लिङ्ग-वचन
जब गिद्धे नङ्ग्राले
सीमाना चिथोर्न थाल्छन्
दुश्मनहरू
हो, त्यतिबेला,
दुख्न थाल्छ माटो
माटोसँगै
भाषा, कला सबै-सबै दुख्छन्
दुख्छन् –
भाषा-कलाले जोडेका मनहरू
सीमाबाट गिद्धे नजर हटाउन
इतिहासको खाता पल्टाएर
सत्यको पानामा लेखिएको
एक-एक स्वर्णिम अक्षर
देखाउनै पर्छ ती हुँडारहरूलाई
अनि मात्र स्वीकार्ने छन्
असत्यको पराजय
यतिबेला उभिएको छ
समय हाम्रो पक्षमा
औंला दिदा डुँडुलो निल्नेहरूलाई
सहि मौका आएको छ
हेप्दाको परिणाम चखाउने
हाम्रो हजारौं गुणको ऋणमा
हाम्रै मातृभूमिको छाती लुछ्नेलाई
सिकाउनै पर्छ नैतिक शिक्षा
र
पढाउनै पर्छ
स्वाभिमानको पाठ ।
प्रतिक्रिया