यो देश मेरो हो
यो देश तिम्रो हो
यो देश हाम्रो हो
मेरो माटो
मेरो आँटो
मेरो जाँतो
मलाई गर्व छ
म नेपाली हुँ
तिमी नेपाली हौ
हामी सबै नेपाली हौं
सीमा मिचिंदा
बोल्न नसक्ने
सीमा मिचिदा मन खोल्न नसक्ने
बादशाहका अघि सधैं ज्यू हजूरी गर्नुपर्ने
गडुलको अघि सर्प जस्तै गर्ने
हजूरबाबाका अघि आज्ञाकारी नाती हुनुपर्ने
ख्यामितका अघि नोकर भइरहनु पर्ने
कस्तो चलन ?
कस्तो स्वाभिमान ?
कस्तो नेपाली बहादुरी ?
पाखुरीमा बल भएरपनि लुकाउनु पर्ने
मुठ्ठीमा तागत भएरपनि खुम्चाउनु पर्ने
कहिले गुलाम नभएको देश नेपाल
सधैं दबिनु पर्ने
सधैं हेपिनु पर्ने
असल छिमेकीसँग तर्सिनु पर्ने
क्या स्वाभिमान !
नालापानीको ईतिहास भएरपनि
कालापानी गुमाउनु पर्ने
टिष्टाको बीरता भएरपनि
मानेभञ्ज्याङ्ग गुमाउनु पर्ने
पौरखी हौ हामी
पहाड फोर्न सक्छौं आँटले
हिम्मतिला छौं
हिमाल उचाल्न सक्छौ
तगडा छौं तागतले
तराई फुलाउन सक्छौ
देश,
भूगोल मात्र होइन
भावना हो एकताको
देश,
सीमाना मात्र होइन घेराको
स्वतन्त्रता हो सार्वभौमिकताको
देश,
इतिहासमात्र होइन बीरताको
वर्तमान हो मित्रताको
भविष्य हो एकताको
सुस्तामा लडिरहेका छन् गोपालहरु
गौरवका गाथा गाइरहेकी छिन् मनीषा
भनिरेहकी छिन् छिमेकीलाई
श्रम बेचेकी हुँ स्वाभिमान हैन !
यतिबेला
देश लडिरहेको छ
रोग,भोक र शोकका विरुद्ध !
प्रतिक्रिया