
– दल बहादुर गुरुङ
कृष्ण चौधरी बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.१ मा पर्ने गाभर भ्यालीमा १५ जनाको संयुक्त परिवारमा बस्छन् । कान्छो सन्तानका रुपमा जन्मिएका कृष्ण चौधरी दाङ्गबाट बसाइँ सरेर यतै आएका हुन् ।
उनको गाउँलाई राराबास पनि भनिन्छ । २०३३ सालमा मुगुको रारा राष्ट्रिय निकुञ्जको सुरुआत् हुँदा रारा र छोप्रुका स्थानीयहरु यतै बिस्थापित भई आइ पुगेका हुन् । त्यसैले यस गाउँलाई राराबास भनिंदो रहेछ ।
गाभर भ्यालीका रुपमा चर्चित यस गाउँका ८ घरमा मिश्रित सामुदायिक होमस्टे रहेका छन् । मुगेली र थारु जातिका बासिन्दाहरुको सामुदायिक होमस्टेका रुपमा २०७० सालदेखि सञ्चालनमा रहेता पनि औपचारिक रुपमा दर्ता २०७१ को कार्तिक २३ गते भएको हो ।
कृष्ण चौधरी आफू पेसाले होमस्टे सञ्चालक हुन् । उनले आफ्नो एक विघा जग्गामा होमस्टेका लागि ससाना कटेजहरु,थारु कला संग्रहालय,तालीम हल,मचान,झुलाहरु र सुन्दर बगैंचा समेत निर्माण गरेका छन् । त्यतिमात्रै होइन उनी पत्रकार समेत हुन् । स्थानीय रेडियो र पत्रिकामा उनले संवाददाताका रुपमा काम गर्दै आएका छन् । चोरी शिकार नियन्त्रण सञ्जालका अध्यक्ष समेत रहेका उनी वातावरण संरक्षणका लागि निरन्तर क्रियाशील छन् । यही संरक्षणको मूल ध्येयलाई अंगालेका उनी होमस्टेलाई जीविकोपार्जनका साथै संरक्षणमुखी क्रियाकलापको एक अंगका रुपमा लिने गर्दछन् ।
गाभर भ्यालीमा रहेका होमस्टेमा हालसम्म स्वदेशी २० हजार बढी र विदेशीहरु करिव पाँच सयको हाराहारीमा आइपुगेका छन् । नेपालगञ्जबाट २२ किलोमीटर र कोहलपुरबाट ७ किलोमीटर उत्तरदिशामा पर्ने सो होमस्टेमा पछिल्लो पटक भारतीय पर्यटकहरु बढी आउन थालेको तथ्याङ्कले देखाउँछ ।
गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष समेत रहेका कृष्णका अनुसार प्रकृति र संस्कृति संरक्षणका लागि होमस्टे सञ्चालन गरिएको दाबी छ । पछिल्लो समय नेपाल सरकारले निर्माण गरेको बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेको यो गाउँ मध्यवर्ती क्षेत्रमा पर्दछ । यस निकुञ्जको मुख्य आकर्षण भनेकै बाघ र चौघा हो । चुरे हाइकिङ्ग,जंगल सफारी,पर्यापर्यटन पदमार्गको घुमाईले गर्दा पर्यटकहरु मख्ख पर्दछन् ।
कृष्णको परिवारको आम्दानीको मुख्य बाटो होमस्टे सञ्चालन नै हो । उनले वार्षिक रुपमा १० लाखको आर्थिक कारोबार गर्दछन् । होमस्टेका कारण स्थानीय कृषि उत्पादनमा जोड पुगेको,स्थानीय पशुपालनमा सहयोग मिलेको, स्थानीय खाद्य परिकारहरुको स्वाद चखाउन सकिएको,लोक कला र संस्कृति प्रदर्शन गरी संस्कृतिको जगेर्ना गर्न सकिएको र आम्दानीका बाटाहरु फराकिला गराउन सकिएको कृष्णको आफ्नो तर्क छ ।
कृष्णको परिवार कमैयाँ परिवार थियो । त्यहाँबाट मुक्ति पाउँदा उनीहरुसंग पाँच कठ्ठा जमीन थियो । अहिले उनीहरुसंग साढे दुईविघा जग्गाको पूर्जा छ । कारण परिवारको मिहिनेत र होमस्टेको आम्दानी नै हो ।
होमस्टेकै कारण आर्थिक बाटो उकासिएको,स्वरोजगार सिर्जना हुन सकेको र पाहुनाहरुसंग निरन्तर भेटघाट भइ रहन पाइने रमाईलो पेसा भएको कृष्णको मिठो अनुभव छ ।
सस्तो दरमा बस्न र खान पाइने सो होमस्टेमा पारिवारिक वातावरण छ । थारु होमस्टेमा ढिक्री,अनदीको भात,लोकल कुखुरा,झिंगे माछा,गंगटा,घोंगी चाख्न पाइन्छ भने मुगेलीहरुको होमस्टेमा मकैको पूरी,कोदोको रोटी,मार्सी चामलको भात,सिस्नुको तरकारी र मौसम अनुसारका खाद्य परिकारहरु पाइन्छन् ।
२०६७ सालमा होमस्टे कार्यविधि बनेर निरन्तर अघि बढेता पनि यसका सवल पक्षमात्र छैनन् । होमस्टेका गतिविधिहरुलाई निगरानी र सुधार गर्नुपर्ने अवस्था पनि नदेखिएका होइनन् ।
कृष्णका भन्छन् –होमस्टेले प्रकृति र संस्कृतिको संरक्षण गरेता पनि पश्चिमा संस्कृतिको प्रवेश हुन सक्ने,कूलतमा फसेकाको अड्डा बन्न सक्ने र सांस्कृतिक विचलन समेत भित्रिन सक्छ ।
गाभर भ्याली होमस्टेलाई नेपालकै नमूना होमस्टे र होमस्टेको अध्ययन केन्द्रका रुपमा विकासित र प्रचार प्रसार गर्ने लक्ष्यका साथ बढेका कृष्णका कर्मलाई सलाम गर्नैपर्छ ।
यस होमस्टेको सोसल मिडियाहरुमा थप प्रचार हुन सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घूँइचो लाग्ने छ । त्यतिबेला गाभर भ्यालीका होमस्टे सञ्चालकहरुको आर्थिक,सामाजिक, प्रकृति र संस्कृतिको संरक्षणमा टेवा पुराउँदै आएको योगदानमा सफलता मिल्ने छ । साथै उनीहरुका खुसीका अनुहार देख्न पाइने छ र कर्णाली प्रदेशको सरकारले राखेको रारा भ्रमण वर्षलाई समेत राराबास होमस्टेले मद्दत पुराउने छ ।
त्यति मात्र होइन नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा राखेको योजना सफल बनाउन गाभर भ्याली होमस्टेले आफूलाई एक हिस्सा ठान्ने छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया