हिजोका सपनाहरु छैनन्
आँखामा आज
त्रासको बादल मडारिरहेको छ
छातीहरुभित्र
रुमल्लिरहेको छ जीवन
खतराको भूँवरीमा
पलपल घडीको अन्तिम सूचना
दिइरहन्छ समयको सूई
हरेक दिन मृत्युको जुलुश
उर्लिरहेछ सहरमा
बजिरहन्छ अस्पतालहरुमा
शोकका मौन धूनहरु
डाक्टर
नर्सहरु
रातोदिन नभनी
जीवन र मृत्युका मझधारमा
आशाका डुङ्गाहरु खियाइरहेका छन्
भोक र तिर्खा नभनी
भरोसाका थोपाहरु पिलाईरहेका छन्
मृत्युका खालमा जिन्दगीका दाउ लगाएर
बिषको बुट्यान जिलाईरहेका छन्
जताततै
मृत्युको मेला छ
जस्तो की प्राणको होली खेल्ने
यमराजको यो कुनै रंगिन तिहार हो
जीवनको अन्तिम सास लिइरहेका
आफन्तहरुलाई मायालु अंगालोमा
बाँध्न नपाउनुको अनन्त पिडा छ
जिन्दगीका अन्तिम दृश्य हेरिरहेका
प्रियजनहरुलाई कलेजामा
टाँस्न नपाउनुको असीम वेदना छ
शवयात्राहरुमा छैनन् कुनै मलामी
नवाब होस् या फकिर
पाउँदैनन् बिदाईका अन्तिम सलामी
नानीहरुको निश्चल क्रिडामा
अनौठो आतंकको सन्त्रास छ
चार दिवारभित्र कैद छन्
कराडौं जीवनका लयहरु
साँगुरो यन्त्रणामा सिमित छन्
बैंसालु वयहरु
सुनसान छन् गुम्बा र चैत्य
सुनसान छन् मन्दिर र मस्जिद
छैनन् कुनै हल्ली खल्ली
चोक र गल्लिहरुमा
त्रसित छन् हावा र माटो
स्तब्ध छ हिमाल
सुनसान छन् पहाड र तराई
सुनसान छ बगर
चुपचाप छ सागर
केवल भयभित छालहरु उठ्छन्
बिलाउँछन्
मौन छन् नदीका किनाराहरु
केवल त्रासदिका भंगालाहरु
छुट्छन् जोडिन्छन्
खै कुन समाधिमा लीन छ ईश्वर ?
खै कुन लोकमा समाधिस्त छ प्रार्थनारु
खै कुन शिरमा बिराजमान छ आशीर्वाद ?
खै कुन युगमा अवतारित छ आस्था
अथाह छन् अनुत्तरित प्रश्नहरु
यो क्रुर कोरोना कहरमा
चीनको बुहान मुहान बनाई
मृत्युको फागु खेल्दै
संसारलाई कालो ईतिहासको
धब्बा लगाउने
कहिलेसम्म रहला
यो कोरोना कहर ?
कहिलेसम्म फैलिरहला
यसको बिषालु जहर ?
कोरोना !
आखिर
कहिलेसम्म उर्लिरहन्छौ
सुनामीको यो रक्तिम भेल बनेर ?
कहिलेसम्म खेलिरहन्छौ
विध्वंसको यो निर्मम खेल ??
प्रतिक्रिया