
माघे संक्रान्तिको विहान आफन्तीलाई भेट्न गएकी लक्ष्मी घर नफर्केको १७ वर्ष भयो । भाइ र आफू स्कूल हिड्न थाल्दा आमा लक्ष्मी आफन्तीकहाँ पैसा लिन जान्छु भनेर हिडेकी थिइन । तर आजसम्म फर्केकी छैनन् । न उनी आफन्तीकहाँ पुगिन् न घरमा नै फर्किन । न लास भेटियो न सास आमाको । आमाबिहीन घर र परिवार उदास उदास हुँदो रहेछ । यो घटना दाङ्ग घोराहीमा घटेको घटना हो–राम्जिता बुढामगर भन्दैथिइन् ।
राम्जिताको कथाको लहरो लामो रहेछ । सधैं खिस्स हाँसिरहने राम्जिता कसरी हाँसेकी होलिन् ? कसरी भुले होलिन् आफ्नी आमालाई ? कसरी विताइन् आफ्नो बाल्यकाल र किशोरावस्था ? हेर्छिन् सिस्ने हिमाल र सम्झिन्छन् आफ्नी आमाको चम्किलो अनुहार । रोल्पाको साविक मिरुल गाविस वडा नं. ५ मा राम्जिताको माइती घर छ । अहिले सो गाविस माओवादी उद्गम भूमि थवाङ्ग गाउँपालिकामा पर्दोरहेछ ।
राम्जिताले प्रारम्भिक शिक्षा दाङ्ग घोराहीमा रहेको अल्फा बोर्डिङ्गबाट सुरु गरिन् । त्यहाँ उनले कक्षा तीनसम्म पढिन् । आमा हराएपछि भाइ र उनी आफ्नै गाउँमा रहेको हिमाल माविमा पढ्न फर्किए । कक्षा तीन पास गरेकी उनले हिमाल माविमा एक्कैपटक कक्षा ६ मा भर्ना पाइन् र पढ्न थालिन् । २०७० मा उनले सोही विद्यालयबाट दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् ।

प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनले फुण्टीबाङ्गमा रहेको सारदा निमाविमा शिक्षक भएर पढाउन थालिन् । करिव साढे तीन वर्षसम्म पढाइन् उनले । सोही क्रममा थवाङ्गमा भएको बीर बलभद्र माविबाट अंग्रेजी मुख्य विषय लिएर २०७२ सालमा कक्षा ११÷१२ उत्तीर्ण गरिन् । स्कूल पढाउँदै आफूले समेत पढिन् ।
राम्जिता अहिले सिस्ने शिक्षा क्याम्पस,रुकुमकोट रुकुमबाट विएड्मा मुख्य अंग्रेजी विषय लिई चौथो वर्षको अन्तिम परीक्षाको तयारीमा छन् । पढ्न भनेपछि हुरुक्क हुने उनले विएड्को पहिलो,दोस्रो र तेस्रो वर्षका वार्षिक परीक्षा सहजै उत्तीर्ण गरेकी छन् । अंगे्रजी उनको रहरको विषय हो । आफू कक्षा ६ मा पढ्दा कक्षा नौंमा पढ्ने दाइदिदीहरुलाई अंग्रेजी पढाउँथे भन्दैथिइन् राम्जिता ।

२०६८ को भदौ महिनामा राम्जिताले कक्षा आठ पढ्दै गर्दा शिखरसँग जीवनको यात्रा सुरु गरिन् । अर्थात् फुपूकी छोरा शिखर रोकामगरसँग भागी विहे गरिन् । त्यतिबेला उनको उमेरले १५ मात्र कटेको थियो । अहिले उनीहरुसँग ६ वर्षकी छोरी राशी छन् । भरखरै उनले यूकेजी उत्तीर्ण गरेकी छन् । श्रीमान शिखरले काठमाडौंमा उर्जा मन्त्री अनन्तको मोटर हुँइक्याउँछन् । आफ्नै गृह जिल्लाका मन्त्री भएकै कारण विगत दुई वर्षदेखि नै शिखरले मन्त्रीलाई सवार गराएका छन् ।
उनका बाबा राजकुमार र आमा लक्ष्मीको विहे कामको खोजीमा भारत जाँदा उतै भएको रहेछ । विहे गरेर उनीहरु गृह जिल्ला रोल्पाको आफ्नै गाउँ मिरुल आएको ढाई वर्षपछि राम्जिता जन्मिएकी रहेछिन् । देशमा अझ् रोल्पामा द्वन्द्वको चरम असर परेपछि उनका बाबा साउदी गएका रहेछन् । साउदी गएर केही रकम कमाएपछि उनले घोराहीमा घरजग्गा किने । त्यही नै छोरी राम्जिता र छोरालाई राखेर बोर्डिङ्ग पढाउने ताका नै उनकी आमा हराएकी रहेछिन् ।

राम्जिता अहिले रोल्पाको सदरमुकाम लिवाङ्गमा रहेको नेशनल लाईफ इन्सुरेन्स क्म्पनीमा जागिर गर्छिन् । पढाईसँगै साहित्य र सिर्जनामा समेत अघि बढेकी छन् । रोल्पाका १० जना गजलकारहरु मिलेर रोल्पा नामक गजलसंग्रह राम्जिताले प्रकाशन गरेकी छिन् । मगर्नी राम्जिता उनको उपनाम हो । प्रगतिशील लेखक सङ्घ,नेपाल रोल्पा शाखाकी उनी कोषाध्यक्ष हुन् । त्यसैगरी सप्तरङ्गी साहित्य प्रतिष्ठान,५ नम्बर प्रदेशकी सहसचिवको जिम्मेवारी वहन गरेकी उनले मगर गुष्ठामा खाम पाङ कार्यक्रमका सञ्चालिका समेत हुन् । सामुदायिक रेडियो जलजला एफएममा गे चुङ पो ( हाम्रो आसन गाउँ) कार्यक्रम करीव एक वर्ष सञ्चालन गरिन् ।

हिन्दी,अंग्रेजी,मगर खाम पाङ लगायतका भाषामा उनको दक्षता छ । तीनजनाको परिवार अहिले तीनतिर बस्दै आएका छन् । राम्जिता रोल्पा,छोरी राखी दाङ्ग र श्रीमान् काठमाडौं बस्दै आएका छन् । यही नयाँ वर्षबाट उनीहरु काठमाडौं सँगै बस्ने रहर बुनेका थिए । रहरका जाले रुमालमा कोरोनाले विषको बुट्टा भरिदिएपछि अर्कोे वर्ष त होला नि सँगै बस्ने र रमाउने भनेर राम्जिताले आशाको दियो बालेकी छन् ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया