
ए रारा ! बताऊ
रारा भनेको तिमी को हौ ?
स्वर्ग कि अप्सरा ?
बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर
के खन्यायौ यसै रारामा ? घोलेर मिलाई
पहिराई हिमगिरिका मुक्ताहार गलामा
हरियो सुखमय प्राकृतिक मानव जीवनमा
नेपालीमा…….
हाम्रै प्यारो नेपालको सूर्य चन्द्राङ्कित ध्वजाको
स्वतन्त्र छायामा
हिमालमा नेपालमा
राम्रो रारामा ?
(रारा कि अप्सरा— म. वी. वी शाह, २०२०)
मथिका पंक्तिहरु कवि म. वी. वी. शाहले २०२० सालमा लेखिएको कविताको अंश हो । २०२१ सालमा प्रकाशित कविता संग्रह ‘फेरि उसैको लागि’ मा ‘रारा कि अप्सरा’ शिर्षकको कविता समावेश छ । मैले यो कविता २०२४÷०२५ सालतिर पढेको हूँ । यो कविता पढेपछि जीवनमा एकपटक रारा पुग्नै पर्छ भन्ने लागि रहन्थ्यो । तर त्यति बेला चाहेर पनि पुग्न सक्ने अवस्था थिएन । पछि क्याम्पसमा पढाउने क्रममा यो कविता पढाउने पालो आउँथ्यो मनको एउटा कुनामा रहेको रारा पुग्ने जिजिविषा बाहिर आउँथ्यो र फेरि विलुप्त हुन्थ्यो । यसरी नै केही वर्ष त्यो इच्छा मन भित्र बाहिर गरिरह्यो । भौगोलिक विकटता र दूरीले गर्दा मनभित्रै कुण्ठित रहिरह्यो । क्याम्पसबाट निवृत्त भएपछि त्यो कविता पनि ओझेलमा प¥यो ।
मलाई अन्य देशमा भन्दा नेपाल भित्र कै पर्यटकीय स्थलहरुको भ्रमण गर्न मन पर्छ । २०७५जेठ महिनामा केही साथीहरुसँग लमजुङको घले गाऊँ पुग्ने संयोग जु¥यो । र त्यही बाट अर्को साल मुक्तिनाथ, रारा या सुदुर पश्चिमतिर कतै जानुपर्छ भन्ने मोटामोटी सल्लाह भएको थियो । भैरहवा मर्निङ वाक ग्रुपको नियमित बिहानी बैठकमा लौन कतै घुम्न जाऊँ भन्ने हुन्थ्यो । केही दिन छलफल हँुदाहुँदै एकदिन रारा जाने निर्णयमा पुग्यौं । र मर्निङ वाक ग्रुपका हामी विजय सागर, विजयनारायण श्रेष्ठ, हरिओम गुरुङ, राजेन्द्रप्रसाद श्रेष्ठ, राजुनारायण श्रेष्ठ र म वनमाली निराकार समेतको छ जनाको टोली तयार भयो ।
२०७६साल जेठ २९ गते बुधवार बिहान ६.३० बजे भैरहवाबाट लु. अ.२ च ६४४७ नं को स्कार्पियो चढेर यात्रा शुरु ग¥यौं । यात्रा शुरु गर्दा माथि उल्लेखित कविताका पंक्तिहरु आँखा अगाडि आइरहेका थिए । मनले राराको काल्पनिक चित्र बनाइरहेको थियो । पचास वर्ष अगाडि कल्पना गरिएको यात्रा शुरु गरिएको थियो, मन त्यसै त्यसै पुलकित हँुदै थियो ।
एकातिर कवितामा जे जस्तो वर्णन गरिएको थियो अब त्यो प्रत्यक्षरुपमा हेर्न र आफै अनुभूत गर्न पाइने भयो भन्ने खुशी थियो भने अर्को तिर त्यहाँ गएर फर्केकाहरुले बाटोको विकटताका बारे गरेको चर्चाले थोरै चिन्तित पनि बनाएको थियो तर विचलित भने गराएको थिएन । बुटवलबाट हामी सिधै पश्चिम लाग्यौं । कपिलवस्तुको गोरुसिङ्गेमा चिया नास्ता लिए पछि हाम्रो यात्रा फेरि चन्द्रौटा, धानखोला, भालुवाङ लमही हँुदै अगाडि बढ्यो । बाँकेको अगैयामा माछाको झोलसंग टन्न भात खायौं । भोक मीठो हो या खाना मीठो हो हामीले छुट्याउन सकेनौं । त्यसपछि हामी कोहलपुरबाट महेन्द्र राजमार्ग छाडेर उत्तरतर्फ लाग्यौं । बाटोमा कतै अलमल नगरी बबई नदिको पुलमा केहीबेर फोटो सेशन गरी अगाडि बढ्यौं । सुर्खेत कर्णाली प्रदेशको राजधानी म पहिलो पल्ट पुगेको थिएँ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उपत्यका निकै आकर्षक लाग्यो प्रकृतिको बीचमा आधुनिक प्रविधिको उत्कृष्ट नमुनाका रुपमा विकसित हँुदै रहेछ । सुर्खेत पुगेपछि हेर्नै पर्ने ठाऊँ बुलबुले ताल , काँक्रे बिहार ,लाटी कोइली र देउती बज्यै हुन् भन्ने सुनेको र पढेको थिएँ । बुलबुल ताल क्षेत्र व्यवस्थित बनाउने प्रयास गरिंदै रहेछ । बगैँचा र तालको व्यवस्थापन तथा सरसफाई तर्फ धेरै काम गर्नु पर्ने देखियो । काँक्रे बिहारको जिर्णोद्धार हुँदै रहेछ । त्यो ऐतिहासिक सम्पदाले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने लाग्यो । देउती बज्यै अरु कुनै दिन भनेर सुर्खेत बजारलाई फन्को मार्दै दैलेखतिर हानियौं । सूर्यास्तका बेला अग्लो डाँडाबाट सुर्खेत उपत्यकालाई आँखाले भ्याउञ्जेल निरिक्षण गरी गन्तव्यतिर लाग्यौं । पहिलो रात दैलेख, गुराँसेको तालपोखरी प्रेम होटल एण्ड लजमा झोला बिसायौं । भैरहवाबाट आएका मान्छे हुन् लामखुट्टेको संगीत नसुनी के निंदाउलान भनेर होला दुई चार लामखुट्टेले हामीलाई निंदाउन पूर्ण सहयोग गरे ।

दोस्रो दिन एका बिहानै कालो चिया पिएर ओरालो गुड्दै डुङगेश्वर बजार तरेर कर्णाली नदिलाई वायाँ परेर अगाडि बढ्यौं । चामुण्डा विन्द्रासन नगरपालिकाको पाल्तडामा चिया पिए पछि कर्णालीको किनारै किनार अगाडि बढ्यौं । कर्णाली नदिको दुवै किनारमा रहेको उर्वर फाँट, आकर्षक प्राकृतिक दृश्य अवलोकन गर्दै र विकासका सम्भावना बारे चर्चा गर्दैै अगाडि बढिरह्यौं । चामुण्डा विन्द्रासना,आठबिसे नगरपालिका हँुदै बाजुरा जाने कर्णालीको फेरीघाटलाई वायाँतिर छाडेर दहीखोलाको पुल तरेर कालीकोट जिल्लामा प्रवेश ग¥यौं । कालीकोटको मान्ममा बिहानको खाना खाएर अगाडि बढ्यौं । अग्ला अग्ला पहाड, साँघुरा खतरनाक तथा डरलाग्दा संगमरमरी पहाड फोडेर बनाइएका सडक पार गर्दै हामी नाग्म बजार पुग्यौं जहाबाट जुम्ला सदरमुकाम खलङ्गा(चन्दननाथ नगरपालिका) जाने र सिंजा उपत्यका हुँदै राराजाने बाटो छुट्टिदो रहेछ । हामी सिंजातिर लाग्यौं र दोस्रो दिनको बासको लागि गुठिज्युला पुग्यौं ।
कालीकोट नाग्म बजारबाट हामी कालीकोट जिल्ला छाडेर जुम्लाको सिंजा उपत्यका प्रवेश ग¥यौं । यो उपत्यका नेपालको इतिहासमा बलियो खस साम्राज्य ( ईशाको १२औं शताब्दी देखि १४औं शताब्दी )को राजधानीका साथै नेपाली भाषा (शुरुमा खसभाषा नै भनिन्थ्यो)को उद्गम स्थलको रुपमा प्रसिद्ध छ । उत्तर दक्षिण लाम्चो रुपमा फैलिएको उपत्यकालाई हिमा नदिले सिंचित गरेको छ । सिंजा उपत्यकामा हामी पुग्दाको समयमा गहूँ जौ काटिदै थियो , खेतमा धान रोपिदै थियो । घरका माटाका छानामा गहूँ जौका कुन्यु थिए । परम्परागत सिंचाई व्यवस्था अनुरुप नै खेतको सिंचाई बन्दोबस्त गरिएको रहेछ । अरु क्षेत्रको तुलनामा यहाँका पाखापखेरा हराभरा देखिन्थे । संसार मै सबभन्दा अग्लो स्थानमा फल्ने मार्सीधान यहीको उत्पादन हो । केही समय अगाडि यहाँको मार्सी चामलले नेपाली राजनीतिमा पनि तरङ्ग ल्याएकै हो । यहाँ देखिएका स्याउ र ओखरका बोटहरुले उपत्यकालाई आकर्षक बनाएकै छन् । खस राजाहरुले प्राकृतिक सौन्दर्यले भरिपूर्ण र अत्यन्त उर्वर जमीन भएकै कारणले यस उपत्यकालाई आफ्नो राजधानी बनाएका रहेछन र करीब ३०० वर्ष सम्म नेपालको धेरै भूभागमाथि शासन गरेका रहेछन् भन्ने लाग्यो । यसै उपत्यकाबाट नेपाली भाषाको उत्पत्ति भएको र यहाँको सामाजिक रहन सहन, संस्कृति आदिले नेपाली समाजलाई प्रभाव पारेको हुनाले यो क्षेत्रको महत्व अनुपम छ । हामी जस्ता भाषा साहित्यका विद्यार्थीलाई यो तीर्थस्थल भन्दा कम थिएन । ठाउँ ठाउँ खसराजाहरुले निर्माण गरेका पुरातात्विक अवशेषहरु अझ रहेछन् । ती अवशेषहरुको संरक्षणको खाँचो रहेको अनुभव पनि ग¥यौं । गाडीबाट ओर्लिएर त्यस पवित्र भूमिको माटो मुठ्ठीमा लियौं र शीरमा लगायौं ।

अर्को दिन बिहानै पुनः हाम्रो यात्रा शुरु भयो । दुई ढाई घन्टाको यात्रा पछि बुट्टेदार गल्रैंचा बिच्छ्याएको जस्तो देखिने बुकीफुलले ढाकेको एउटा ठूलो चहुरमा पुग्यौं । त्यहाँ रारा राष्ट्रिय निकुञ्जको प्रवेश द्वार रहेछ । भुलभुलेमा निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको चेकपोष्ट पनि रहेछ । रारा प्रवेश गर्नेलाई रु१०० शुल्क लाग्दो रहेछ । त्यो सुन्दर ठाउँलाई छाडेर फेरि दुई घन्टाको यात्रा पछि हामी राराको बेस क्याम्प सल्लेरी पुग्यौं । त्यहाँबाट १५÷२० मिनेट उकालो चढेर आउने मिलिचौर आउँदो रहेछ तर गाडी घोडा यहाँ राख्न पाईदो रहेनछ , फर्काएर सल्लेरी नै ल्याउनु पर्ने रहेछ । निकै भोक लागेकाले सल्लेरीमै केही चियानास्ता लिएर हामी मिलीचौर पुग्यौं । मोटरको यात्रा यहीसम्म मात्र रहेछ । त्यसपछि तालसम्म कि घोडामा कि पैदल जानु पर्ने हुन्छ । हामी छजनाका ब्यागहरु एउटा घोडालाई बोकाएर धूपीसल्लाका वन छिचोल्दै ओरालो ओर्लियौं । भोक र थकाईले शरीर थिलो थिलो भएको थियो तर रारा —स्वर्ग कि अप्सरालाई भेट्ने उत्सुकताले भोक र थकाई कता हरायो कता ? राराको छेउछाउ मै पुग्न पाउँदा पचास वर्ष अघि देखेको सपना पुरा हुन लागिरहेको थियो । खुट्टा खुशीले त्यसै त्यसै उचालिएको थियो । यात्रा कै क्रममा केही हितैषी मित्रले हाम्रो उमेर र कठिन मार्गलाई लिएर यात्रा बारे फेसबुकमा टिप्पणी पनि गर्नु भएको थियो । राराका छेउ मै पुग्दा हाम्रो यात्राले ती टिप्पणीलाई चुनौति दिइरहेको थियो ।
जब हामी सल्लाघारी पार गरेर मिलीफाँट पुग्यौं हाम्रो खुशीको ठेगान रहेन । हामी नेपालको सबभन्दा सुन्दर ठाऊँमा थियौं र त्यहाँ पुग्ने भाग्यमानी मध्येका थियौं । ताल पूर्व पश्चिम लाम्चो रहेछ । हामी पश्चिम दक्षिण कुनामा थियौं र जानु थियो तालको उत्तरमा रहेको होटल रहेको स्थानमा । हामी पश्चिम उत्तर हँुदै धूपिको जङ्गलपार गर्दै १२.३०मा होटल पुग्यौं ।
त्यति अग्लो स्थानमा , त्यति विकट भौगोलिक परिवेशमा विशाालकाय ताल आफैमा अद्भूत थियो, चारैतिर हरिया पहाड जङ्गल बीचमा निर्मल कञ्चन जलसागर त्यसमा लगातार उठेका छालहरु , माछाका उफ्राइ नीलो पानीमा पर्वतमालाका छाया र आकाशको प्रतिबिम्ब साच्चै अद्वितीय कलाकारिता थियो प्रकृतिको । मलाई लाग्यो स्वर्ग पनि यति सुन्दर छैन होला । रारा पुग्नु नै मेरो सत्तरी वर्षे जीवनको एउटै मात्र अविस्मरणीय र रोमाञ्चक घटना हो भन्ने लागि रह्यो । तालको किनारको चहुरमा सुस्ताउँदा होस्, या तालको कञ्चन पानिसँग जिस्किदा होस् अथवा आँखाले भ्याउँञ्जेल तालको आयतन नाप्दा होस् जीवनमा कहिल्यै नपाएको सन्तुष्टि र अलौकिक आनन्दको अनुभूति भइरह्यो । रारा किनारमा रारा राष्ट्रिय निकुञ्जको कार्यालय , निकुञ्ज सुरक्षार्थ खटिएको श्रीसमरजीत गुल्मको सैनिक क्याम्प ,अलि उच्च स्तरको भिलेज हेरिटेज एण्ड रिसोर्ट र मध्यम खालको डाँफे होटल एण्ड लज यी चार स्थायी संरचना छन् त्यहाँ । अन्य होटल तथा होमस्टेहरु रारा ताल क्षेत्र भन्दा अलि बाहिर छन् । हामी डाँफे होटल एण्ड लजमा बस्यौं किनकि यहाँ बसेर राति अबेरसम्म तालको अवलोकन गर्न सकियोस भनेर । जेष्ठ शुक्ल द्वादशी तिथि परेकाले पूर्ण चन्द्र नभए पनि चन्द्रमाको प्रतिच्छाया देखेर कसको मन नरमाउला र ? म.वी.वी. शाहले आफ्नो कवितामा वर्णन गरेको भन्दा पनि कैयौं गुना राम्रो रहेछ रारा ताल । कवि लेखकले त आफ्नो सीमित दृष्टिकोणबाट मात्रै वर्णन गरिने रहेछ । वास्तवमा राराको सम्पूर्ण सुन्दरता एउटा कविता, लेखमा अटाउन सक्ने रहेनछ । समुद ्रसतहदेखि २९९० मिटर अग्लो स्थानमा, लम्बाई ५०० मिटर ,चौडाइ ३०० मिटर र गहिराई १६७ मिटर रहेको ताल वास्तव मै अनुपम छटाले भरिपूर्ण वातावरण ! वाह ! आँखाले भन्दा बढी मनले भ्याउञ्जेल रारालाई हे¥यौं । मोबायल र क्यामेराले तश्वीर लिए पनि मनको क्यामेराले कहिल्यै डिलिट नहुने गरी छवि अंकित ग¥यौं ।
मेरो देश ! प्रकृतिले दिएको र प्रवृत्तिले ठगेको , कठै मेरो देश ! देशको नेतृत्व गर्ने राजनैतिक नेताहरुहरु र कर्मचारीले निस्वार्थ भावले काम गर्ने हो भने नेपाल स्वर्गको रुपमा परिणत हुनेछ । विभिन्न विकासका नाममा यहाँका डाँडा काँडा , खोलानाला, वनजङ्गल सबको दोहनले यस्तो सुन्दर देशलाई कुरुप बनाउँदै छन्— सम्झदा मन कटक्क दुखेर आउँछ । रारा पनि अछुतो रहेनछ !
भ्ौरहवाबाट ६६३ किलोमिटर यात्रा तय गरेर नेपाल कै अग्ला पहाडका अत्यन्त कठिन र खतरनाक सडक पार गरेर त्यो सुन्दरतम ठाऊँ पुगे पछि दुईचार दिन बसेर मुगुको गमगढी, जुम्लाको कनकसुन्दरी र चन्दननाथ, दैलेखको दुल्लु र ज्वालाजीको दर्शन अवलोकन गर्न मन थियो । कर्णाली प्रदेशको भाषा साहित्य, संस्कृति , समाजिक सम्बन्ध रहन सहनको गहिरो अध्ययन गर्न इच्छा थियो । यहाँको अभाव, भोक, रोग, अर्थ व्यवस्था कृषि व्यवस्थाका बारेमा केही बुझ्न सम्झन चाहन्थ्यौं तर असार महिना लाग्दै थियो । सडक अत्यन्त खतरनाक थियो । सानो पानी प¥यो भने पनि बाटो अवरुद्ध हुन सक्ने सम्भावना भएकाले चाहेर पनि भुल्न सक्ने अवस्थामा थिएनौं । त्यसैले जति सक्दो चाँडो सुर्खेत झर्ने हाम्रो योजना बन्यो ।
रारातालको निकट पुरा १८ घन्टा व्यतित गरी जेठ ३२ गते सूर्यको पहिलो किरणसँगै हाम्रो फर्कने यात्रा शुरु भयो । सूयोदयको समय निर्मल स्वच्छ पानीमा परेको स्वर्णिम किरणले पुरै ताललाई सुनौलो बनाएको थियो । त्यो दृश्य सुन्दरताको पराकाष्ठा थियो । विशालकाय तालको अथाह जलराशीमा परेको स्वर्णिम आभाले वातावरण रोमान्टिक बनाएको थियो । मिलीफाँटबाट उकालो लाग्ने बेला एकपल्ट आँखाले भ्याउञ्जेल ताललाई हे¥यां ंै । तालमा उठेका छालहरुले हामीलाई फेरि भेटौंलाको अन्दाजमा हात हल्लाई रहेछ जस्तो लाग्यो । यस्तो अनुपम सुन्दर ताललाई नजिकबाट सुम्सुम्याउने सुअवसर पाएकोमा मन प्रफुल्लित छँदै थियो भने अब यही ताललाई छाडेर हिंड्नु पर्दाको पीडा मिश्रित मन लिएर फर्कन वाध्य भयौं । अब फेरि भेट्न पाइन्छ पाइन्न दोधार मनले हात हल्लायौं र अगाडि बढ्यौ. ।
फर्कदा डरलाग्दो बाटो गाडी आफ्नो गतिमा चलिरहेको थियो । साथीहरु गफमा व्यस्त थिए । एकजना साथी विजयनारायण त बाटो सम्झेर चुपचाप थियो । मेरो दिमागमा भने — कर्णाली नदि छेउछाउका उर्वर जमीनमा योजनाबद्ध उन्नत तरिकाले कृषि कर्म गर्ने योजना ल्याउनु पर्ने । कर्णाली नदिमा माछा पाल्ने योजना बनाउन सकिने रहेछ । पाखा पखेरामा सुन्तला स्याउ ओखर जस्ता फलफूलको व्यवस्थित तरिकाले खेती गर्ने । कर्णाली प्रदेशमा जताततै पानी घट्ट देखियो । साना ठूला विद्युत योजनाद्वारा विद्युत उत्पादनगरी रोप वे तथा केवलकार जस्तो सुरक्षित यातायातमा प्रयोग हुन सकेमा अप्ठ्यारा सडकबाट बच्न सकिने थियो । कर्णाली नदिमा जलमार्ग बनाउन सके केही सहज हुन्थ्यो । सिंजा जस्तो उर्वर उपत्यकामा उब्जाउ हुने स्याउ ,मार्सीधान , आलु, सिमी , ओखर जस्तो वस्तुहरुको उत्पादनमा वैज्ञानिक प्रविधि प्रयोग गरी सहज व्यपारीकरण गर्नु पर्ने । पानी घट्ट लाई विद्युतमा जोडियो भने जीवन सहज र सरल हुने थियो । सडक यातायातलाई पनि अझ सुगम बनाउन सक्नु पर्छ । प्रशस्त सम्भावना बोकेको कर्णाली प्रदेशलाई इमानदार बनेर अवसरलाई सदुपयोग गर्न सकेमा साच्चै सुन्दर बन्न सक्ने । त्यसको लागि निस्वार्थ इमान्दार र दूरदर्शी नेताको आवश्यकताको अनुभव गरें । कर्णाली प्रदेशको कठिन जीवन शैलीलाई सरल, सहज र सुखद बनाउन गणतान्त्रिक नेपालको तीनै तहका सरकारहरुले गर्नु पर्ने धेरै काम बाँकी रहेछन् भन्ने लागि रह्यो ।
सोच्दै गर्दा कालिकोटमा बास बसेर त्यसपछि सुर्खेत आइपुगेको पत्तै भएन । दैलेखदेखि पछ्याएका झिंगा (माखा)ले दैलेखदेखि नै छाडे । अप्ठ्यारा बाटाहरुले पनि दैलेख तिरै विश्राम लिए । कालीकोट जुम्ला र मुगुतिर बाटोमा आफ्ना बालकला देखाएर गाडी रोक्दै चाउचाउको फर्मायस गर्ने केटाकेटी पनि उतै छुटे । यसरी धेरै कुरा उतै छुटे । बाँकी रह्यो त सम्झनामात्र । रारा पुगेर आएको आत्म गौरव मात्र आत्म सन्तुष्टि !
यसरी भैरहवाबाट शुरु गरिएको कठिन यात्रा छैठौं दिन भैरहवा आई विश्राम लियौं । यो यात्रालाई सहज र सरल बनाउनमा गाडी चालक रामबहादुर थापाको ठूलो भूमिका रहेकाले धन्यवाद दिन्छौं ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया