तरेर खहरे खोल्सी लठ्ठीलाई त फाल्दछ ।
पर्याे राम टर्याे काम सधैं ता कुन राख्दछ ।।
सेलायो आँधिको याम पतिङ्गर झरे गले ।
सम्झनाभित्र नै छैन कता पुगे ढले चले ।।
कुहे नि घाइते कोही सद्दे कुदे यता उता ।
पुगे क्वै इण्डिया त्यस्तै कोही खाडी कताकता ।।
सत्ताको रसमा पौडी दरवार छिरे कति ।
कालो धन्दा समातेर नराम्ररी गिरे कति ।।
इमानसितका कोही गाउँमै बस्दछन् पनि ।
ढल्लान् जस्ता कति रोगी आफू झैं घरमा पनि ।।
भकारोभित्रका दुब्ला आहारा मख्खिका सरि ।
हतियार निकै लामा हल्लाए पुच्छरै घरि ।।
गुञ्जायमान त्यो गाउँ पतिङ्गर झरे सरि ।
सन्नाटा मुटुको पीडा साँच्चै रात परे सरि ।।
आँखामा कसरी बग्छन् लुङग्री–माडी निरन्तर ।
गुड्दछन् दुःखका गाडी भुइँचालो गएन र ।।
देशले माग्छरे साली ,भतिजी ,बहिनी तक ।
फल्छरे युद्धको बूटो धन झर्ने फटाफट ।।
फल्दैन किन हो भाग्य ठोकिन्छ किन खप्पर !
दैलामा किन हो कुन्नि टाँगिन्छ ऋण अक्कर !
प्रतिक्रिया