हराएपछि हृदयमा प्रज्ञाको आलोक
मानिस यसै क्षण स्वम् अँध्यारो हुँदोरहेछ
करुणाको आँखामा तृष्णाको धूलो परेपछि
निभ्दो रहेछ चेतनाको सलेदो पनि ।
बिर्सदो रहेछ मान्छेले आफ्नै सार्वभौमिकता
बिर्सदो रहेछ मान्छेले मानवताको लय ।
जुनकीरी नै सहि बलोस् आँखामा
प्रेमको दिव्य लालित्य।
रुपान्तरणको मुल्य ।
बिडम्बना अल्झिएछ कुनै सांसारिक हावामा
मान्छेको मुर्छित परिचय ।
कि मान्छे मदहोस, बिर्सेछ सालिन्दा परिचय
र पल्टाउँदै छे रोवोर्ट सोफियाले
उसको इतिहासका घृणित अक्षरहरु।
यन्त्रवत् सुसेलिरहेछ मान्छेले
जात
धर्म
सम्प्रदाय
र राजनीतिका असामयिक गीतहरू ।
बन्दुकले घोकाइरहेछ शान्तिको अपरिमित मानक।
सदीयौंदेखि गाइएका छ्न्
विभाजनका कोरसहरु।
र यही अन्तरामा झाङ्गिएको छ
हिंसाको कुरुप लहरो
र अभिशप्त मृत्युको सीमान्त भय पनि।।
ओ मान्छे !
खुसी किन्न दौडिरहेछौ सिनेमा हल
कतिन्जेल बस्ने हो
अमावश्यको जून भएर
सिसिफसको आदिम कथा भएर ।
तिम्रो सम्पूर्णताको खित्कामा
फैलिएको छ अहिले भूगोलभरि
अरण्य रोदन ।
अहंकारको पहाड उक्लिरहेछौ निर्विवेक ।
वेफुर्सदी हेर्न भ्यायौ कि नानीहरूका निश्छ्ल आँखाहरु।
उभिन भ्यायौ कि सुखको अगम्य किनार ।
हेर्न सक्यौ कि ऎनाको आफ्नै अनुहार।
किञ्चित सुन्दर छ पृथ्वीको विक्षिप्त घाउपनि।
खोल भिनिष्क्रमणको ढोका
र निस्क असत्यको भयवित दिवारबाट।
अनि देखिनेछ
फूलको सौन्दर्यभित्र पनि अनित्यता
र सम्यक स्मृति र दृष्टि पनि।
सखारै दौडिने तिम्रो बिहानमा
विराम लागेको छ यतिबेला
कि तिमीले बिर्सिसकेको सद्भावना
उम्रेको छ एउटा अलौकिक बिज भएर
कति सुन्दर छ,चराहरुको तान
बेहद छ बादलको लुकामारी
जादुइ छ पुतलीको उडान
कालजयी छ आमा ब्युँझने प्रभात ।
र मृत्यु बोकिहिड्ने अखबारमा
कोरिएका छन् दुःखद् नामरुपका लिपिहरु।
ब्युँझ हजारौं तन्द्राको रछ्यानबाट।
हेर ,भावातीत समुन्द्रको तुफानी गति
छाम धर्मकायस् म हुनुको क्लेश
अनि देख्ने छौ प्रकृति
साक्षत् सम्बुद्धहरु
सेतो चिवरमा बुद्धहरु
जोगाइरहेछ्न् बिरामी अस्पताल
र
क्वारेन्टाइनमा बुद्धहरु
जोगाइरहेछ्न् हजारौं सपनाहरू ।।
लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा प्रथम कविता
प्रतिक्रिया