घर सम्झेर आएको थिएँ
घरभित्रै बेघर भएँ
सपना खोज्दै मुग्लान पुगेको म
पसिनासँग एउटा सानो छानों साटें
दुई गजजस्तो करेसाबारी जोडें
भर्खरै स्कुल जान थालेको छोरालाई
सानो झोलामा अट्ने अलिकति रहर किन्दैथिएँ ।
मानौं,बल्ल जीवनको लय मिलाउँदैछु।
आँधीले घरभन्दा पहिले मन बगाउँदो रहेछ
आज दस वर्षपछि
अचानक हुरीले रुखबाट पात झारे झैँ
जीवनमा अनौठो आँधी आयो
नरोकिने गरि मुटु ढकढक बनायो
बाँच्ने रहर जीउँदै बोकेर
दस वर्षपछि
कहिल्यै नफर्कनेगरी मैले मुग्लान छोडें।
धेरैजसो आशाहरु त
लगभग उतै विलाइसकेका थिए
रापको बरफ जसरी
विलाएर बग्दै जाँदा पनि तरल मनले
ओरालोमा घरै सम्झेको थिएँ
थोपा थोपाभित्र पीडा बग्दै थिएँ
सपनाहरु थोरै मात्र बाँचेका थिए
रहरका रङ उडेपनि
विश्वासका मसिना जुइनाहरु बचाएर
आइपुगेको हुँ बल्लतल्ल घरसम्म।
अक्सर हिड्ने बेलाको साइत भनिन्छ
म हिंडेको दिन
कुनै कौवाले अपमानको सन्देश बोलेन
लामो बाटो,तिरस्कारको कुनै संगीत बजेन
बाटोमा खाली गाग्रो बोक्ने कुनै पधेर्नी भेटिन
चुपचाप रेलका लिकहरु
सुनसान एक्लो सडक
सडकमाथि गन्तव्य सम्झेर
सप्तकोसी झैँ सुसाइरहेको एक्लो बटुवा
आफैंले भोगेको दुस्खको कथाजस्तै लामो बाटो
लगभग तेह्र दिन भोकै पैदल हिंडेर आइपुगेको हुँ
मोटर गुड्ने बाटैबाटो हिंडेर
आफ्नै पसिना र माटो मुछेर बनाएको कच्ची घर।
भोक लाग्दा एक पेट खान नपाएपनि
तिर्खाले घाँटी सुक्दा एक घुंड्को पानी नभेटेपनि
थकानले शरीर गलिसक्दा
त्रासले मन जलिसक्दासमेत
निर्दयी शिकारीले लखेटेको चरा झैँ
महामारीले खेदिएर जीउ जोगाउनै भनेर
घिस्रंदै आएको हुँ तिम्रो प्रेम सम्झेर यहाँसम्म।
आफ्ना सम्झेर आएको थिएँ यहाँसम्म
आफ्नाहरुबाटै पराइ भएँ
घर सम्झेर आएको थिएँ
घरभित्रै बेघर भएँ ।
आमा बा भन्दै
प्रेम र आशीर्वादको हात सम्झेर आएँ
दौँतरीहरु सम्झेर आएको थिएँ
छहारी दिने चौतारी बन्लान् भनेर
न आशीर्वादको हात पाएँ
न पाएँ दौंतरीको चौतारी
यहाँ आएपछि त
नामूद अपराधी जस्तो अपमान पो आएँ
म निरपराध मान्छे
वर्शौपछि कति धेरै खुशी बोकेर घर पुगेको हुँ
तर निरस बगर बाँचें
बिना झरि रहर ओताउने छानो चुहिएर
एक्लै एक्लै घरभन्दा प।।।।।र थोत्रो याक्साभित्र
खुला आकाश ओडेर बसेँ
आधा जलिसकेको वर्तमान ओछ्याएर तन्द्रा बाँचे
समाजको सुख्खा र कठोर निगरानीभित्र
पटक पटक स्पष्टीकरण दिंदै
आफ्नै पंखेटाहरुलाई धिक्कारीरहें
लाग्छ,म टेबलमाथि कसैले राखेको
रङ्गहीन पेपरवेट हुँ
थुप्रै थुप्रै उपयोगी फाइलहरुको सुरक्षा गर्नु छ मैले।
तपाईंलाई थाहा छैन होला
यो बेला तपाईं मसँग डराउँनु हुन्छ
म तपाईंसँग डराउँछु
कृपया
यसबेला मलाई
परैबाट अलिकति प्रेम र विश्वास दिनुहोस्
मभित्र आफैंभन्दा अग्लो विश्वास बाँचिरहेको छ
सत्य हो
म सन्चो र निरोगी मान्छे
अचेल तपाईंको मधौरो व्यवहारले मात्र
बिरामी जस्तो देखिएको हुँ ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया