अचेल मान्छेहरु
अरुलाई मान्छे देख्दैनन
आफूलाई मात्र मान्छे भेट्छन्
अर्कालाई मान्छे होइन भन्न
हजार प्रमाण जुटाउँछन्
तर आफू
मान्छे हुँ भन्ने प्रमाण भेट्दैनन
किन मान्छेहरु यस्ता हुँदैछन् ?
मान्छेहरु
कर्कश हुँदै छन्
मान्छेहरु दुगुर्णी हुँदै छन्
आफन्तीहरुलाई पराई देख्छन्
पराईलाई आफन्ती भेट्छन्
मान्छेहरु
आफ्ना गल्ती ढाक्न
अरुलाई गाली गर्छन्
अरुलाई सत्तोसराप लाउँछन्
तर
आफ्नै गोडामा पिसाब फेरेर
न्यानो अनुभूति गर्छन्
र
पछि परे
पारियो भन्छन्
अघि हेरेर बढ्दैनन
पछिकासँग अंगालो मारेर
पछि परिरहन्छन्
आकासतिर फर्केर थुक्दै भन्छन्–थुक्क मान्छेहरु
आफ्नै घरको गौंथली गुँडमा आगो सल्काएर
बास उडाएकोमा हर्षविभोर छन् मान्छेहरु
आफ्ना अनुहारलाई दोषी ठान्दैनन
बरु
ऐना फुटाउन हतार छन् मान्छेहरु
अचेल मान्छेहरु
आफू बाहेक अरुलाई मान्छे नै ठान्दैनन्
मान्छेहरु किन यस्ता भए
थाहा छ तपाइँलाई ?
प्रतिक्रिया