जान्न मन छ मलाई
चूक घोप्टिएका रातमा
चन्द्रमालाई साक्षी राखेर
धरतीलाई चुम्बन गर्न !
झरेका हिउँका ठल्लाहरुलाई
साथी बनाएर
त्यो निर्दियी आकासलाई सिरक
र धरतीलाई डसेना सम्झेर
न्यानो काखमा सुत्ने सपना ?
त्यो सडक बालकको
बालापन कता मोडिदै छ ?
जान्न मन लाग्छ !
कहाँ छन-
कोमल ढाडहरुमा तेल घस्ने आमाका हातहरु
पहाड बोक्ने बाबाको स्नेही छाती
कसको बाध्यताले फ्याँकियो सडकमा ?
कसको भोगको परिणाममा भेटियो सडकमा ?
मलाई जान्न मन लाग्छ !
ऊ कसैको
लुटिएको अस्मिता हो कि ?
स्वार्थको पिलो हो कि ?
फुल्न खोजेको कोपिला हो कि ?
भोक सहन नसकेर छोडेको बिजुला हो कि ?
हो कि ! कतै
शोषणको नतिजा
रहर छ जान्न मलाई रु
उसले –
पापी पेटलाई ढाडस दिन
भोको पेटलाई शान्त पार्न
दुनियाँका पाउलाई देउता ठानेर ढोगेको छ
कोमल हृदयमा
खनेको छ
असीमित गहिरो ईनार
जहाँ हेरिरहेको छ
आफ्नै भविष्य
वा
मृत्युको एेना
मलाई जान्न मन लाग्छ !
थाहा छैन
ऊ
हुर्किदै गरेको
बाटोमूनिको निर्दोष फूल हो !
प्रतिक्रिया