
–दल बहादुर गुरुङ
मिसन सत्यवती हाम्रो नौलो कार्यक्रम हो । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ४ को लगाढ गाउँमा रहेको सत्यवती सामुदायिक होमस्टेमा पुग्नुमात्र हाम्रो मिसन थिएन । बरु त्यहाँ सञ्चालित होमस्टे,स्थानीय बासिन्दाहरुको सामाजिक,आर्थिक र सांस्कृतिक अवस्थाका बारेमा अध्ययन र अनुसन्धान गर्नु मुख्य काम थियो । त्यसैका लागि पाठक मञ्चको आयोजनामा सो स्थानमा दल बहादुर गुरुङ पथप्रदर्शक रहने १४ जनाले सत्यवती तर्फको मिसन अघि बढाएका थियौं ।
पाठक मञ्चः अक्षरको खेती
पाठक मञ्चका धूरीखाँबो माधव गौतम हुन् । उनी पेसाले पुस्तक व्यवसायी हुन् । हिमालयन बुक हाउस उनको नाम चलेको पुस्तक पसल हो । जहाँ सबै प्रकारका पुस्तकहरु पाइन्छन् । पछिल्लो समय उनको सो पुस्तक पसल अक्षरका खेती गर्नेहरुका लागि साझा चौतारो सावित भएको छ । पुस्तकका पाना पल्टाउन र अक्षरका खेतीका बारेमा सो पसलमा सबै प्रकारका पाठकहरु आइ पुग्छन् । त्यहाँ अक्षरको खेतीका बारेमा गम्भीर छलफल र विचारको आदान प्रदान हुँदै आएको पाउन सकिन्छ ।
उनी लगायतका साथीहरुले लूज फोरमको रुपमा पाठक मञ्च गठन गरेका छन् । मैले उनलाई पाठक मञ्चको धूरीखाँबो हुन् भन्ने ठान्दछु । सोही पाठक मञ्च मुख्य आयोजक रहने गरी १४ जना हामी साथीहरु पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं.४ को लगाढ गाउँमा सञ्चालित सत्यवती सामुदायिक होमस्टे(घरबास)कार्यक्रममा शनिवार सहभागी हुन पुगेका थियौं ।
कार्यक्रममा असल पाठकहरुको सार्थक सहभागिता रहेको थियो । पुस्तक पढेर पुस्तकमा विमर्श गर्दै आइरहेको पाठक मञ्च सबैको साझा हो भन्दा अनौठो लाग्ने छैन । सो मञ्चका तर्फबाट कार्यक्रम संयोजकका रुपमा म दल बहादुर गुरुङ रहेको थिएँ ।
सत्यवती मन्दिर र सत्यवती ताललाई फन्को मार्दाः
चार रोपनी जग्गामा फैलिएको सत्यवती ताल चुरे क्षेत्रमा मात्र पर्ने होइन यो सीमसार क्षेत्रमा समेत पर्दछ । तालको भौगोलिक र पर्यावरणीय महत्व मात्र छैन अझ् यसको धार्मिक तथा ऐतिहासिक महत्व समेत रहेको छ । तालको नजिकै सत्यवती बजै र बाजेको मन्दिर रहेको छ । कार्तिक महिनाभित्र पूर्णिमा परेमा जोग परेको मानिन्छ । सो जोग परेमा श्रद्धालु भक्तजनहरु पूजाआजा गर्न सत्यवती बाजेबजैको मन्दिर र ताल वरिपरि आइपुग्छन् । हजारौंका संख्यामा आइपुग्ने श्रद्धालु भक्तजनहरुले तालको परिक्रमा गरी चिच्याउँदै वर माग्दछन् । उनीहरुले अनौठा वर माग्ने चलन पनि छ । मागेको वर पुगेको पछि झक्कले बोके,बासेको भाले बोकेर बलि दिन आइपुग्छन् । मागेको वर पूरा गर्ने देवीदेउताको रुपमा सत्यवती बाजे बजैलाई लिने गरिन्छ । त्यसैले पनि यसको महिमा बढ्दो पाउन सकिन्छ ।
हामीहरुले सत्यवती तालको परिक्रमा गरेका थियौं । ससाना कटेजमा बसेर फोटो खिचेका थियौं । मन्दिरको घण्ट बजाएका थियौं । साथीहरुले मन्दिरको दर्शन गरे । उनीहरुले त्रिशूल जुधाएर फोटो समेत खिचाएका थिए । छिनभर रमाईलो भो । मन्दिरको श्रद्धाले शिर निहुँराएका थिए सबैले ।
मन्दिर परिसरमा पर्यटन कार्यालयले बनाएको सेडहरु,राष्ट्रपति चुरे कार्यक्रमबाट बनाइएका कटेजहरु,डस्बीनहरुले मन्दिर र तालको वरिपरि सफा र चिटिक्क देखाएका थिए ।
गलामा माला,निधारमा सेतो अक्षताः
सत्यवती सामुदायिक होमस्टेमा आइपुग्दा गाउँका दिदीबहिनी दाइभाइहरु हातमा माला र थालीमा सेतो दही मुछिएको अक्षता लिएर बसेका थिए । पाठक मञ्चका धूरीखाँबो माधवलाई पहिलो पटक दिदीबहिनीहरुले गलामा माला र निधारमा सेता अक्षता लगाइ दिएका थिए । साथीहरुलाई स्वागत र सम्मान गर्ने कार्यक्रम चलि रह्यो । फोटो पनि खिचिदै गए । दालचिनी र फूलको मालाले आन्तरिक पर्यटकका रुपमा पुगेका हामीलाई स्वागत गर्दाको बयान कसरी गरुँ र ? साथीहरु स्वागत र सम्मानले मख्ख परे ।
होमस्टेमा बिलो लाग्दा ः
हामीमध्येका कतिपय साथीहरुलाई गएका सबै साथीहरु एकैठाउँ बस्ने,संगै सुत्ने रहर थियो तर होमस्टेको नियम अनुसार छुट्टा छुट्टै बस्ने र खाने प्रवन्धका लागि तोकिएको घरघरमा बाँडिनु पर्ने अवस्थाले खिन्नता ल्यायो । तैपनि नियमलाई पालना गर्दै हामी अघि बढ्यौ । हाम्रा टोलीमा पुस्तक व्यवसायी माधव,क्यानन् स्कूलका प्राचार्य माधव पौडेल,सम्पूर्ण मेडिकलका हेमन्त र म एउटै घरमा परेका थियौं । बल बहादुर दाइकहाँ हामीले हार्दिकताका साथ खाना खायौं ।
लोकल कुखुराको झोलसंग भात थपि थपि खायौं । खाना सफा र मीठो थियो । मासु भातको तीन सय रुपैयाँ र सुतेको प्रति टाउको एकसय पचास रहेछ । सस्तो र सफा खाना र बसाइले हाम्रो मन लोभियो ।
सांस्कृतिक कार्यक्रममा हामी
हामीसंगै गएका कलाकार मीन रानाको नाँच,गायनले सबैलाई छक्क पारेको थियो र। उनले बजाएको सारङ्गी,मादलले तहल्कै पिट्यो । स्थानीय कलाकारहरुको मारुनी नाँचमा सुनबीर गाहा बाजेको मादल बजाइ र नाँच लोभ लाग्दो देखिन्थ्यो । मारुनीहरु उफ्रि उफ्री नाँच्ने गर्दथे ।
स्थानीय दिदी बहिनीहरु छाम्रे र सोरठी नाँचमा झुमे । हाम्रा साथीहरु मज्जाले नाँचेका थिए । नाँच अतिनै हेर्न लायकको देखिन्थ्यो । नाँचको संरक्षण,सम्वद्र्धनका लागि एक हजार पाँच सय आर्थिक सहयोग गरेका थियौं । स्थानीय कलाकारहरुलाई हौशला बापत हामीले दिएका थियौं । प्रमोद तिवारीको नाँचको नाँच हेर्न लायकको थियो । रमेश पाण्डेयले उनको नाँच खूब हेरि रहेका थिए । कोही कोही त समाचारमा नाँच्ने खाले पनि भेटिएका थिए । नाँचगानपछि रातको १० वजे आआफ्नो भागमा परेको घरमा सुत्न पुगियो । बटौलीमा गर्मीले पाक्ने बेला हुँदै थियो । उताभने हामीहरु चैतको १० गते राति सिरक ओढेर सुत्यौं ।
सुत्नेबेला गाउँका बारेमा कुरा गरेका थियौं हामीले । हुन त स्वागत गर्ने बेला वडाध्यक्ष दान बहादुर गाहा मगरले सत्यवती सामुदायिक होमस्टे,गाउँले परिवेश,सामाजिक आर्थिक र सांस्कृतिक सम्पदाका बारेमा यथेष्ट जानकारी गराएका थिए । उनले गाउँलेहरुलाई होमस्टेले पुराएको सहयोग र सन्देशका बारेमा चर्चा समेत गरेका थिए ।
हातमा दाम बुझाएर विदाईः
विहान ५ वजे उठि सकेको थिएँ म । साथीहरु पनि आस्ते आस्ते उठ्न थालेका थिए । ६ः३० बजे हामीहरु आआफ्ना घरबासबाट ओम प्रकाश कहाँ पुगेका थियौं । खाएको र सुतेको पैसा घरबेटी बल बहादुर दाइका हातमा दाम राखेर विदाई भएका थियौं । हिड्ने बेला रातो चिया खाएर विदाई भयौं । केही साथीहरु उठ्दै थिए हामी भने आस्ते आस्ते ओरालो लाग्यौैं । पानीमिल आइ पुग्दा विहानको ८ बजि सकेको थियो । मोटर चढेर हामी बुटवलतिर लागेको थियौं मिसन सत्यवतीको यात्रा मनमा सजाउँदै ……………..।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया